विश्व साउना प्रतियोगितामा प्रतियोगीको मृत्यु

विश्व साउना प्रतियोगितामा प्रतियोगीको मृत्यु


लण्डन । विश्व साउना प्रतियोगिताको अन्तिम दिनमा फाइनलमा पुगेका रुसी प्रतियोगी भ्लाडिमिर लेडिझेम्स्की प्रतियोगिताको क्रममा उनको प्रतिद्वन्दी फिनल्याण्डका टिगो काउकोननसँगै बढी तापक्रमको कारण ढलेका थिए । रुसी प्रतियोगीको अस्पतालमा मृत्यु भएको थियो । बढी तापको कारण शरीर जलिसकेको थियो । यस खेलको वार्षिक विश्व प्रतियोगिता फिनल्याण्डमा सन् १९९९ देखि शुरु हुँदै आएको छ । यस खेलको अन्तिम फाइनलको दिनमा यो दुःखदायी समाचारले आयोजक टोलीलाई चिन्तित बनाएको छ ।

प्रतियोगिताको नियमअनुसार ११० डिग्री सेन्टिग्रेड (२३० एफ) तापक्रम भएको साउनामा लामो समयसम्म बसेर टिक्नसक्ने अन्तिम व्यक्ति नै प्रतियोगिताको विजेता घोषित गरिन्थ्यो । यस सालको प्रतियोगीमध्ये माथि उल्लेखित भ्लाडिमिर र टिगो फाइनलमा पुगेका थिए । यी दुबै प्रतियोगीहरु साउनामा ६ मिनटसम्म बसी रहेको बेला आयोजकहरुले केही असामान्य जस्तो देखेका थिए अनि लगत्तै एक प्रतियोगी ढलेको अवस्थामा पाए । तत्काल दुबैलाई साउनाबाट निकाल्न खोज्दा डिफेन्डिङ च्याम्पियन, टिगोको हालत चिन्ताजनक भएको बावजुद बाहिर आउन चाहेका थिएनन् भने भ्लाडिमिरको ढलेको अवस्था थियो । अस्पतालमा भ्लाडिमिरको मृत्यु भयो ।

हिनोना, फिनल्याण्डमा वर्षेनी साउना प्रतियोगिता गर्दै आएका प्रमुख आयोजक ओस्सी अरभेलाले संवाददाताहरुलाई, “प्रतियोगिताको सबै नियम पालना गरेर संचालित कार्यक्रममा उचित प्राथमिक चिकित्सकहरुको बन्दोबस्त, सबै प्रतियोगीहरुको निवेदनमा डाक्टरको प्रमाणपत्र संग्लनता तथा हस्ताक्षर लिइएको थियो” भनेर प्रकाश पारेका छन् । “प्रत्येक ३० सेकेण्डमा आधा लिटर पानी स्टोभमा भरिएको थियो, सबैभन्दा अन्तिमसम्म साउनामा बसेर ताप खप्न सक्ने नै विजय घोषित गरिइने थियो । यस प्रतियोगितामा खासै ठूलो इनाम राख्ने थिएन, ससानो पुरुष्कारहरु दिइन्थ्यो” भनेर प्रमुख आयोजकले समाचारदाताहरुलाई प्रकाश पारेका छन् । “एकसय दश डिग्रीको तापक्रमको साउनाभित्र बस्नु सामान्य हो, यसभन्दा अघिका प्रतियोगिताहरुमा योभन्दा बढी तापक्रम खपेका व्यक्तिहरु थिए, मलाई थाहा छ फिनल्याण्ड बाहिर बस्ने मानिसहरु जसलाई साउनाबारे ज्ञान छैन, उनीहरुलाई यो कुरा बुझ्न गाह्रो हुन्छ” -आयोजकको भनाइ थियो । रुसी प्रतियोगी भ्लाडिमिरको मृत्युलाई लिएर प्रहरीले छानबिन कार्य अघि बढाएको छ । १५ देशका १३० जना प्रतियोगीहरु यसपालिको साउना प्रतियोगितामा भाग लिएका थिए ।

अबदेखि यो साउना प्रतियोगिता कहिल्यै आयोजना नगर्ने कुरा आयोजकहरुले बताएका छन् । श्रोत – नेट, सुमल, मेस ।