रजनीकान्तले नयाँ पार्टी बनाउने घोषणा गरे

रजनीकान्तले नयाँ पार्टी बनाउने घोषणा गरे


दक्षिण भारतका सुपरस्टार अभिनेता रजनीकान्तले आफ्नो प्रशंसकका अगाडि राजनीतिमा आउने घोषणा गरेका छन् । रजनीकान्तले तमिलनाडुमा अब हुने विधानसभा चुनावमा नयाँ पार्टी बनाएर भाग लिने बताएका हुन् ।

रजनीकान्तले आफू कायर नभएको बताउँदै जस्तोसुकै प्रतिकुल अवस्था आए पनि पछि नहट्ने दाबी गरे। आफ्नो छोटो भाषणमा उनले भने, ‘तमिलनाडुमा लोकतन्त्रको अवस्था एकदमै दयनीय छ। त्यसलाई हटाउन सिस्टममा परिवर्तन आवश्यक छ।’

‘अहिले हाम्रो राज्यको अवस्था निकै नाजुक छ। यस्तो अवस्थामा यदि म अगाडि नआउने हो भने त्यो मेरो लागि नै लाजमर्दो विषय हुन्छ। म राजनीतिमा आउने कुरा सिनेमा होइन साँचो हो,’ राघवेंद्र कल्याण मण्डपममा प्रशंसकहरुको बाक्लो उपस्थितिबीच उनले भने, ‘मैले गरेका वाचाहरु यदी तीन वर्ष भित्र पुरा गर्न सकिन भने म राजिनामा दिएर हिँड्छु।’

रजनीकान्तले आफ्ना समर्थकहरुलाई पनि राजनीतिमा होमिएर गाउँको गल्ली गल्लीमा जान आव्हान गरेका थिए।

प्रदेशको लोकप्रिय मुख्यमन्त्री जयललिताको निधन पछि त्यहाँको राजनीतिमा अस्थिरता आएको छ। जयललिताको निधन पछि नै रजनीकान्त राजनीतिमा आउन सक्ने अडकलवाजी भइरहेको थियो। बीबीसीका अनुसार, ६७ वर्षिय रजनीकान्तले २०२१ मा हुने विधानसभा चुनावमा उनको नयाँ पार्टीले सबै २३४ सीटमा उम्मेदवारी दिने पनि घोषणा गरे।

तामिल नाडुको राजनीतिमा पहिलेदेखि नै सिनेमाका चर्चित अभिनेताहरुको दबदबा रहँदै आएको छ। स्व जयललिता पनि आफ्नो समयको चर्चित अभिनेत्री थिइन्। त्यसैले पनि उनको स्थान लिनलाई सिनेमाका पर्दामा संधै जनताको रक्षक बनेर देखा पर्ने सुपरस्टार रजनीकान्त सक्षम हुने विश्वास आम मानिसलाई छ।