एकहजार वर्षभित्रको रुसमा ठूलो आगलागी

एकहजार वर्षभित्रको रुसमा ठूलो आगलागी


लण्डन । मास्कोको दक्षिणपूर्वस्थित जंगलबाट सल्किँदै रुसको मध्यभागसम्म फैलिएको जुन महिनाको मध्यदेखि शुरु भएको जंगली आगोले भीषण भयवाहरुप लिएर ठूलो क्षति पुर्‍याएको छ । यसपल्टको यो आगो हजार वर्षभित्र घटेको सबैभन्दा ठूलो आगो भनेर रुसी समाचारहरुले प्रकाश पारेका छन् । पृथ्वीको एकातिरको पाटामा भीषण वर्षाले बाढीपहिरोको जोखिमता साथै लाखौं ज्यानधनको क्षति चीन, पाकिस्तान, भारत, बंगलादेश र नेपालले बेहोरिरहेको बेलामा रुसमा घटेको यो अग्निकाण्डले विश्व जलवायुमा तीव्र परिवर्तनको संकेत दिएको प्रतीत हुन्छ । कोलोम्ना, रुसी नौसैनिकको आपूर्ति बेस (स्थल) आगोको लपेटमा परेर त्यहाँका भवनहरु र राखिएका समानहरु जलेर खरानी भएपछि आपतकालीन स्थिति पैदा भएको थियो । हातहतियार, गोलाबारुद साथै आणविक भण्डार तत्काल सुरक्षित ठाउमा सार्ने तीव्र काम भएको थियो ।
राष्ट्रपति मेडभेदेव दक्षिणतिरको भ्रमण रद्द गरेर तत्काल मास्को फर्केका थिए । उनले राष्ट्रिय प्रसारणमार्फत सम्बोधन गरेर कोलोम्नामामा कार्यरत् अधिकारीहरुलाई हेल्चेक्र्याइ र जिम्मेवारी ननिभाएको आक्षेप लगाएर तत्काल जागीरबाट खारेज गर्ने आदेश दिएका थिए । विश्वको सबैभन्दा ठूलो राष्ट्रमा आगोको विकरालरुपले देश त्राहिमाम-त्राहिमाम बनाएको छ । झण्डै एउटा मध्य औसतको युरोपेली राष्ट्रजतिको क्षेत्रफलमा अहिले रुसको भूभागमा आगो लागेको छ । आगो निभाउनको लागि दुर्इलाख पचासहजार आगो नियन्त्रण गर्ने कर्मचारीहरु र सेना परिचालन गरिएको छ । आगो निभाउन कठिन भइरहेको बेलामा एकातिरको आगो निभाउदा अर्को क्षेत्रतिर सयौं आगो फैलिँदै आएको समाचार प्राप्त भएको छ । आगोबाट निस्केको धूँवाको मुस्लोले मास्कोलगायत वरिपरिका शहरहरु ढाकिएका छन् । प्रत्यक्ष्यदर्शीहरुका अनुसार दिनमा धूँवाको कारणले गर्दा सूर्यलाई सुन्तलाको रंगजस्तो मधुरो रंगमा सानो आकारको देखिन्छ । हिउँदमा माइनस ३० डिग्रीसम्म हुने ठाउँमा अहिले ३३ देखि ३८ डिग्री सेलसियससम्म अविरल तापक्रममा मानिसहरु पिल्सिरहेका छन् । बाक्लो धूँवाले गर्दा २०० फिट परसम्ममात्र देख्न सकिन्छ । जुन राष्ट्रमा कम्युनिज्मको प्रभावले झण्डै एक शताब्दीजसो बहुसंख्याक रुसी जनताहरुले धार्मिक विचारलाई फरक तवरले हेर्ने गर्थे, अहिलेको भयवाह आगोलागीलाई देखेर रुसी धार्मिक संस्थान अर्थोडोक्स चर्चले यो भयवाह आगलागी दैविक शक्तिको परिणाम हो भनेका छ । अब हामीले आगो निभाउनको लागि सामुहिक प्रार्थना वर्षाको लागि गर्नुपर्ने समय आएको छ भनेर आव्हान गरेको छ । अहिलेसम्म अस्सी हजार जंगल जलेर खरानी भएको समाचार आएको छ । यो आगोबाट पचासौं मानिस मरिनुका साथै अरबौं डलरको क्षति भएको समाचार आएको छ ।
देशको सबैभन्दा बढी उब्जाउ हुने क्षेत्र आगोले खाएपछि अहिले रुसी सरकारले देशबाट गहुँ निर्यात गर्न रोक लगाएको छ । स्मरण रहोस्, रुस विश्वको गहु निर्यात गर्ने राष्ट्रहरुमा तेस्रो स्थानमा पर्दछ । अहिलेको आगलागीको लपेटले देशलाई डराउनु मात्र नभई सबैजनताहरु दुःखी र नैरास्यतामा छन् । सरकारले आगो नियंत्रण गर्न नसकेको र सही कदम चाल्न नसकेको विरोधमा अवाज उठाउन थालेका छन् । आम जनतालाई उत्तेजित र विरोध गर्ने डरले राष्ट्रिय प्रसारणमार्फत सही समाचार र परिदृष्यहरु टीभीमा देखाउन बन्देज गरेको छ । प्रत्यक्षदर्शीहरुका अनुसार सन् २००८मा जर्जियामा भएको युद्धभन्दा बढी अपातकाल र डर आम जनतामा छाएको समाचार प्रकाशमा आएको छ । प्रमुख शहरहरुमा धूँवा र तापक्रमले गर्दा स्वास्थ्यसम्बन्धी विकार फैलिने खतरा भएको छ । कार्बोन मोनोअक्साइडको विषालु धूँवाले फोक्सोमा क्यान्सर र अस्थमा हुने खतरा बढेको छ र सरकारले यसबारे रोकथामको कुनै काम नगरेकाले जनताहरु विरोधमा उत्रेका छन् । जताततै भ्रष्टाचारको आरोप र सरकारी कर्मचारीहरुको लापरवाहीले आगो नियंत्रण नभएको र स्वास्थ्य उपचारमा कदम नउठाएको जनगुनासो छ । अहिले मास्कोका घरहरुमा तौलियामा पानी भिजाएर घरको चारैतिरबाट छोप्ने गरेर झ्याल ढोका बन्द गरेर ताप र धूँवाबाट बच्न मानिसहरु घरभित्र थुनेर बसेका छन् । कतिपय मानिसहरु सुरक्षित स्थलतिर पलायन भएर जाँदै छन् । अस्ति आइतवारको दिनमा मात्र एकलाख चारहजार चारसय मानिसहरु जहाजबाट मास्को छाडेर गएको तथ्यांक प्राप्त भएको समाचार छ । श्रोत – नेट, सुमल, मेस ।