माओवादीले उम्मेदवारी फिर्ता लिने संकेत

माओवादीले उम्मेदवारी फिर्ता लिने संकेत


लन्डन । एकीकृत नेकपा माओवादीले राष्ट्रिय सहमति कायम हुने सुनिश्चितता भए प्रधानमन्त्रीमा प्रस्तावित अध्यक्ष प्रचण्डको उम्मेदवारी फिर्ता लिन सकिने संकेत देखाएको छ । एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक परिस्थितिको समिक्षात्मक तेह्र बुँदे संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय सहमति कायम हुने सुनिश्चित भए उम्मेदवारी फिर्ता लिने संकेत गरेकाहुन।

माओवादीले सहमतिको प्रयत्न अनुरुप अन्य दलसँग छलफल गर्ने निर्णय पनि गरेको छ। माओवादीको केन्द्रीय समितिको बैठक तीन गतेसम्मका लागि स्थगित गरिएको छ। यद्यपी माओवादीले आफ्ना केन्द्रीय सदस्यलाई भने राजधानी बाहिर नजान निर्देशन दिएको छ।

साथै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय चलखेलका कारण चार पटकसम्म भएको प्रधानमन्त्रीय निर्वाचनले परिणाम दिन नसकेको बताएकाछन। अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको बैठकमा पेस गरेको मौखिक प्रतिवेदनमा भारतीय चलखेलका कारण निर्वाचनले राष्ट्रलाई प्रधानमन्त्री दिन नसकेको उल्लेख गरे।

नेकपा एमालेले राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीका प्रत्यासीद्वय माओवादीका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेस नेता रामचन्द्र पौडेललाई आग्रह गरेको भोलि पल्ट माओवादीले यस्तो निर्णय गरेको हो । -मेस काठमान्डौं ।