भारतमा सबैभन्दा महङ्गो तामील चलचित्र

भारतमा सबैभन्दा महङ्गो तामील चलचित्र


लण्डन । सामन्य बस कन्डक्टरको नौकरीबाट जीवन शुरु गरेर दक्षिण भारतीय चलचित्रको मेगास्टार बन्न पुगेका फिल्मी नायक रजनीकान्तले आफ्नो प्रसिद्धी अनुरुप भारतको सबैभन्दा महङ्गो चलचित्र एन्धिरान निर्माण गर्दैछन् । दक्षिण भारतमा उनको लोकप्रियता यहाँसम्म छ कि उनलार्इ दक्षिण भारतका स्थानीय फ्यानहरुले भगवान झै पुज्ने गर्छन् । ६० वर्षीय हिरोको नविनतम चलचित्रको लागत हालसम्मको सबैभन्दा बढी रकम खर्चिने चलचित्र रहेको चलचित्रका वेबसाइटमार्फत प्रकाश पारेको छ ।

यस चलचित्रको कुल लागत भा.रु. एक अरब पैसट्ठी करोड (३५ मिलियन अमेरिकी डलर) अर्थात ने.रु. साढे दुर्इ अरबभन्दा बढी रहेको छ । यस फिल्मलाई हिन्दीमा रोबोट र तेलुगुमा रोबो नामकारण गरिएकोे छ । निर्माणधीन चलचित्र आउँदो वर्ष लाग्दोमा प्रदर्शन गरिने छ । यस फिल्मको लागतले अघिल्लो बलिउडका हिन्दी चलचित्रहरुका सबै रेकर्ड भङ्ग गरेको छ । पछिल्लो रेकर्डधारी चलचित्र ब्लू भा.रु. ७५ करोडमा बनेको थियो र अर्को फिल्म काइट्सको लागत भा.रु. एकअरब २५ करोड थियो । यो चलचित्र अहिले संसारभरिका विभिन्न स्थलहरुमा सुटिङ गरिरहेको छ । चलचित्र प्राचीन इंका सभ्याताको उद्गम स्थल दक्षिण अमेरिकाको पेरुस्थित माचु पिचु, ब्राजील र अमेरिकाको विभिन्न ठाउहरुमा धमाधम सुटिङ भईरहेको छ ।

भारतीय फिल्मी आलोचक तरन आदर्शले, “यो नै हालसम्मको सबैभन्दा खर्च बढी गरिएको फिल्म हो” भनेर जनाएका छन् । यो चलचित्र वैज्ञनिक कथामा अधारित चलचित्र हो । नायिकाको रोलमा प्रख्यात विश्व सुन्दरी फिल्म अभिनेत्री ऐश्वर्या राय बच्चनले खेल्दैछिन् । नायक रजनीकान्तलाई दोहोरो भूमिकामा देखिने छ । एउटा भुमिकामा वैज्ञनिक र अर्को भूमिकामा वैज्ञनिकले निर्माण गरेको रोबोटको रुपमा देखिने छ । फिल्मको कथावस्तु वैज्ञनिक आफैले निर्माण गरेको रोबोटले फिल्मको नायिकालाई प्रेम स्थापित गरेको अधारमा बनाइएको छ ।

मद्रास (चेर्न्नई) मा बसकडक्टर पेशामा लागेका रजनीकान्तले सन् सत्तरीको दशकमा अभिनय सिक्ने स्कुलमा भर्ना भएका थिए र पछि अभिनय क्षेत्रमा लागेका थिए । उनले अहिलेसम्म १५०वटा फिल्ममा अभिनय गरिसकेका छन् । उनले हिन्दीलगायत विभिन्न भाषाका फिल्महरुमा अभिनय गरिसकेका छन् । दक्षिण भारतका लोकप्रिय र आफ्नै खालको अभिनयको छाप दिने अत्यन्त सफल कलाकाररुपमा रजनीकान्तलाई लिन्छन् । यस फिल्मलाई एस. शंकरले निर्देशन गर्दैछन् र संगीत दुइटा ओस्कर अवार्ड विजेता ए आर रहमानले दिँदै छन् । श्रोत – नेट, सुमल, मेस ।