लण्डन मेला २०१० सम्पन्न

लण्डन मेला २०१० सम्पन्न


लण्डन । नेपाली राजदूतावासले लण्डनको गनस्वरी पार्कमा यही अगष्ट ८, तारिखका दिन लण्डन मेला २०१०मा प्रथम पटक भाग लिएको जानकारी प्रेस विज्ञप्तिमार्फत पत्रिकालाई दिएको छ । सो भेलामा नेपाली समुदायका सहभागी कलाकार तथा स्वयंसेवकहरुको सक्रिय सहयोग एवं सहभागिता रहेको जनाइएको छ । उक्त कार्यक्रममा विशेषतः नेपालको पर्यटन, संस्कृति, भेषभुषा र खानाखजानालाई प्राथमिकता दिइएको र विशाल र खुल्ला मैदानमा आयोजित सो कार्यक्रममा ठूल्ठूला टेन्ट र स्टलहरु राखिएको तथा सो प्रदर्शनीबाट नेपालको परिचय दिने र नेपालको पर्यटनलाई प्रभावकारी रुपमा प्रवर्द्धन गर्ने काममा सहयोग पुगेको दूतावासले सोही प्रेस विज्ञप्तिमार्फत जताएको छ ।
दूतावासले पहिलोपटक भाग लिएको सो कार्यक्रम गत ०३देखि चल्दै आएको छ । यस वर्ष यस मेलामा करीव एक लाख मानिसहरु मेला भर्न आएको अनुमान गरिएको छ । नेपाल पर्यटन वर्ष २०११ लाई केन्द्रीय विषय बनाई नेपाली आधुनिक पेपरएज व्याण्ड एवं नौमती बाजा, नेपाली लोकनृत्यहरुको साथै नेपाली खानाको स्वादिलो मजा लिने व्यवस्था गरिएको थियो ।
विभिन्न क्षेत्रका हजारौं दर्शक तथा सहभागीहरुलाई नेपाली स्टलबाट नेपालको जानकारी दिने प्रचार सामांग्री, पोष्टर र सीडीहरु वितरण गरिएको थियो । मेलामा नेपालले राफल चिट्ठाको पनि व्यवस्था गरेको थियो, जसमा प्रथम उपहार लण्डन-काठमाण्डौ-लण्डन सेक्टरको हवाइ टिकट २ जनालाई र दोश्रो उपहारमा काठमाण्डौंको चार तारे होटलमा सात रातको बस्ने सुविधा दिने व्यवस्था रहेको थियो । बिजेताको घोषणा बेलायतका लागि राजदूत डा. सुरेशचन्द्र चालिसेबाट कार्यक्रमको मूलमञ्चमा भएको थियो ।
लण्डन मेला २०१०को आयोजनामा प्रायोजन गर्ने ठूल्ठूला व्यापारिक प्रतिष्ठान, संचार समूह, मनोरञ्जन समूह आदिको सक्रिय भूमिका रहेको थियो । यीमध्ये प्रमुखमा लण्डन मेयरको कार्यालय, छिमेकी इलिङ र हाउन्स्लो वरो काउन्सिलहरु, बीबीसी र ओटू मोबाइल नेटवर्क रहेका थिए ।
यसअघि जुलाईमा पनि नेपाली राजदूतावासले नेपाल पर्यटन वर्ष २०११ लाई प्रवर्द्धन गर्ने उद्देश्यले संयुक्त अधिराज्यको स्कटल्याण्ड र वेल्समा त्यहाँस्थित नेपाली समुदायकै सहयोग र समन्वयमा सफलतापूर्वक पर्यटन प्रवर्द्धन कार्यक्रमहरु सम्पन्न गरेको छ ।
प्रेस विज्ञप्तिको अन्त्यमा, राजदूतावासले आगामी दिनहरुमा पनि यस्तै प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिने लक्ष्यलाई अठोटको रुपमा सार्वजनिक गरेको छ ।
-मेस, लण्डन