[कविता] शुभकामना, मेरो यूके डट कमलाई

[कविता] शुभकामना, मेरो यूके डट कमलाई


-सुनिता गिरी,
असीमित चाहानाहरुको माहोलभित्र
रमाउँदा-रमाउँदै हराएथ्यौ कुनै बेला
सोधिरहन्थें घडिको टिकटिक गर्ने काँटाहरुलाई
समयको उक्लँदो खुट्किलोहरुमा,
आशीर्वाद माग्थें तिम्रैलागि
हजारौं जुनी जन्माइदिनू भनेर ।

भावनाभित्र हराएका सपनाहरु
संयोग वियोगका थकानहरु सुस्ताउन नपाउँदै
टुक्रिएको सपना जोड्न नपाउँदै
आँशुको सागर बगेको बेला
आशीर्वाद माग्थें तिम्रैलागि
हजारौं जुनी जन्माइदिनू भनेर ।

ओहो । कस्तो संयोग ! समयकै चक्रघेरामा,
आफ्नै आफ्नाको माँझमा मेरो यूके भएर जन्मिसकेछौ
एउटै मालामा भावानाका गुच्छाहरु उनेर
सेताम्मे हिँउका थुम्काहरुमा लुकामारी खेल्न थालिसकेछौ
आशीर्वाद माग्छु तिम्रैलागि
ममताको घुम्टो ओढाइदिनू भनेर !

साकार भएछ मनमा बुनेको सपना
फैलाऊ सुवास देशको कुना-कुनामा
समेटेर नेपाली माया, सजाऊ सबैको आँखाहरुमा
पोल्टाभरिको शुभकामना तिमीलाई
आशीर्वाद माग्छु तिम्रैलागि
संसारभरि सुवास फैलिरहोस् भनेर !

– हङकङ