वेलायतमा किरात-राईहरुको यलम्वर दिवस

वेलायतमा किरात-राईहरुको यलम्वर दिवस


लण्डन । प्रवासमा रहेर पनि आफ्नो कला र संस्कृतिको संरक्षण र सम्वर्द्घन गर्ने उद्देश्यले, किरात राई यायोक्खा वेलायतले गत अगस्ट १४ तारिख शनिवार, आस्फोर्डको ग्रेटचार्ड खेल मैदानमा किराती राजा यलम्वरको सम्झनामा दोश्रो यलम्वर स्मृति दिवस मनायो । कार्यक्रम समितिका अध्यक्ष रामधन राईको सभापतित्व र वेलायतको लागि नेपाली राजदूत डा.सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा बीएफबीएस गोर्खा रेडियो यूकेको महाप्रबन्धक खेम गुरुङ्ग, तमुधी यूकेको अध्यक्ष सुवाससिङ गुरुङ्ग, नयाँ सन्देश साप्ताहिक पत्रिकाको प्रधान सम्पादक चण्डीराज राई, किरात राई यायोक्खा नेपालको केन्द्रिय कार्यसमितिको सचिव ईन्द्र कुमारी राई, यूके शेर्पा किदुङको अध्यक्ष गोम्वा शेर्पालगायत बिभिन्न संघसंस्थाहरुको पदाधिकारीहरु पनि उपस्थित थिए ।

सोही दिन, संस्थाको बिशिष्ट सदस्यहरु क्रमशः रिटायर्ड क्याप्टेन सुमनचन्द्र राई, मनबहादुर राई, रिटायर्ड क्याप्टेन दिलकुमार राई, डब्लूओटू भीमप्रसाद राई, हर्कराम राई, पवनविक्रम राई र ओमबहादुर राई साथै संस्थाको लागि उल्लेखनीय योगदान पुर्‍याएबापत ओमबहादुर राई, दुर्गनारायण राई र जयप्रकाश राईलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

साथै, उच्च शिक्षा हासिल गर्नेहरुमा डा.सुमित्रा राई, डा.कोपीला राई, डा.वन्दना राई, डा.सृष्टि राई, सरिना राई, महाप्रसाद राई र जीसीएससीइमा ५ वटा ए स्टार ल्याउन सफल संगम राईलाई, सफल्ता र मेहनतको कदर गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो । र संस्थाको सल्लाहकार रत्न राई र कोषाध्यक्ष डम्वर राईले आआफ्नो तर्फबाट एउटा एउटा झ्याम्टा र विनयचन्द्र राई र धनश्री राईले एउटा राईस् कुकर संस्थालाई प्रदान गरेका थिए ।

कार्यक्रमलाई अझ मनोरन्जनात्मक बनाउनको लागि धनुषबाण, टक्अफ्वार, घैटो फुटाउने र म्युजिकल चियर जस्ता खेलहरु पनि आयोजना गरिएको थियो । जस्मा टक्अफ्वारतर्फ मेड्स्टोन टीम, धनुषवाणमा पुरुषतर्फ कर्मजीत राई, महिलातर्फ कल्पना राई र टिनेजतर्फ अन्जित राई विजयी भएका थिए ।

वसुन्धरा राईद्वारा संचालित कार्यक्रममा मिलन राई र पूर्णिमा राईले मीठो गीत गाएर सबैलाई मनोरन्जन दिएका थिए । त्यस्तै, ससाना नानीहरुले पनि आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्तमाः किरात राई यायोक्खा यूकेको अध्यक्ष रामधन राईले, कार्यक्रमलाई सफल पार्नमा सहयोग पुर्‍याउने सबै महानुभावहरुलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरेका थिए ।

-योग राज राई