नोकरी गुमेको झोंकमा पर्यटकलाई बन्धक

नोकरी गुमेको झोंकमा पर्यटकलाई बन्धक


लण्डन । होङथाई ट्राभल सर्भिसेज लिमिटेडमार्फत २० जना चीनियाँ पर्यटकहरु र एकजना गाइड साथमा लिएर हङकङबाट फिलिपिन्स घुम्न गएका थिए । त्यस पर्यटकीय दलमा तीन जना फिलिपिनो नागरिक, एकजना ड्राइभर तथा पर्यटकहरु मिलाएर २५ जना बसमा मनिलाको ऐतिहासिक पर्खाल नगरको रुपमा प्रख्यात इन्त्रमुरोसको लागि जाँदै थियो । हिजो जब बस मनिलाबेको छेउमा जोस रिजाल पार्कमा पुगेको थियो एकजना भू.पू.फिलिपिनीे जेष्ठ इन्सपेक्टर दर्जाका ५५ वर्षीय रोनाल्डो मेन्डोजा नाम गरेका व्यक्ति जसलाई एक वर्ष पहिले हत्या, डकैती र अरुलाई धम्क्याउने आरोपमा उनीलगायत ५ जना प्रहरीहरुलाई नोकरीबाट बर्खास्त गरिएको थियो, ओटोमेटिक हतियार, एम-१६ राइफल लिएर बसभित्र प्रहरीको पोशकमा पसेका थिए अनि ती बसभित्रका सबैलाई हतियार देखाएर बन्धक बनाइएको घोषणा गरे । कसैले भाग्ने प्रयास गरे गोली हानेर मार्ने धम्कीसमेत दिए । त्यसपछि फिलिपिन्स प्रहरीलाई र सरकारलाई पोहोर साल आफूले नगरेको अपराधमा सजाएस्वरुप नोकरीबाट बर्खास्त गरेकाले अन्याय भएको जानकारी दिँदै आफूलाई पुनः नोकरीमा राख्नुपर्ने र सजायलाई संशोधन गर्ने दवाब दिनलाई बन्धक गरिएको जानकारी दिएका थिए । आफ्नो माग पूरा नभएमा बन्धक बनाइएकाहरुलाई एक एक गरी हत्या गर्ने धम्की दिएका थिए र यसको जिम्मेवारी सरकार हुनेछ भनेर सरकारलाई चुनौती दिएका थिए ।
९ घण्टा लामो समयसम्म बन्धक बनाएर राख्दा बसभित्रबाट नै उनले प्रहरीसँग आफ्नो मागबारे शीघ्र कारवाही नगरे नतिजा राम्रो नहुने धम्की दिँदै बसेका थिए, तर, दुबै पक्ष कुनै निर्क्यौलमा पुगेका थिएनन् । बन्धक बनाएको केही समयपछि तीनजना बच्चाहरु, एकजना डायबेटिजको बिमारी र महिलाहरु गरी सातजनालाई छोडिदिएका थिए । उनले आफ्नो माग पूरा गर्नलाई तीनबजेको समय दिएको थियो । त्यसपछि माग सफल नभएको र ढिलाइ भएपछि दुर्इजना चाइनिज पर्यटकलाई मारेको खबर रेडियोमार्फत प्रसारण गरेको थियो । साँझ सात बजेसम्म प्रहरीले चारैतिरबाट छेउमा पुगेर बसलाई घेरिसकेको थियो । चाइनिज दूतावासमार्फत फिलिपिनी सरकारलाई पर्यटकहरुको सुरक्षाको लागि कदम उठाउन र उनीहरुलाई केही नहोस् भनेर बारम्बार सूचित गरेको थियो । सात बजेको केही समयपछि रोलान्डोको भाइ ग्रेगोरियोलाई प्रहरीले पक्राउ गरेको थियो । त्यतिबेला बसभित्रबाट राइफल फायर भएको आवाज आएको थियो । प्रहरी बसको एकदमै छेउमा पुगेको बेलामा स्मोक बम (धूँवा निकाल्ने बम) फयर गरेर चारैतिर धूँवाको पर्दा देखिएको थियो । गोली चलेको आवाज आएको एकछिनपछि राष्ट्रिय प्रसारणमा एकजना मानिसलाई बसभित्रबाट प्रहरीले बाहिर निकालेर भुँइमा राखेको दृष्य प्रसारण गरियो । यो १२ घण्टाभन्दा बढी बन्धक बनाइएको नाटकीय कारवाहीमा स्वयं बन्धक बनाउने भू.पू. जेष्ठ इन्स्पेक्टरसँगै ८ जना पर्यटकहरुको ज्यान गएको खबर राष्ट्रिय प्रसारणमार्फत प्रसारण गरिएको छ । ती ८ जना पर्यटकहरु रोनाल्डोको एम-१६ राइफलको गोलीबाट मरेका जनाएका छन् । श्रोत -नेट, सुमल, मेस ।