सयौं फूलका थुंगा, नेपाली मेला

सयौं फूलका थुंगा, नेपाली मेला


-पुष्पा गुरुङ,
“सयौँ फूलका थुंगा हामी, एउटै माला नेपाली”
यो नेपाली राष्ट्रिय गानको हरेक शब्दले मेरो मन छुन्छ। मेरो मात्र हैन, शरीरमा नेपालीपनको रगत बग्ने हरेक नेपालीको मन छुन्छ, यो राष्ट्रिय गानले । नेपालको वर्तमान परिप्रेक्ष्यमामा सयौं फूलका थुंगा हामी नेपालीलाई एउटै मालामा समेट्ने संविधान निर्माणतर्फ भन्दा सत्तालोलुपता र राजनैतिक दाउपेचमा अल्झिएको नेपालको राजनैतिक परिवेशमा नेपालका नेता तथा बुद्धीजीवीहरुलाई नेपाली कला संस्कृतिको संरक्षण र पर्यटन उद्योगको विकास गर्नतर्फ ध्यान दिने फुर्सत नभए पनि प्रवासी नेपालीहरु यस मामलामा सचेत छन् । तसर्थ बेलायतवासी नेपालीहरुलाई एउटै मालामा समेट्ने प्रयासस्वरुप, नेपाली मेलाको आयोजना हुन लागेको छ

बेलायतमा रहेका कल्याणकारी नेपाली संस्थाहरुमध्ये एक तमुधीं यूकेले आयोजना गर्न लागेको यो दोश्रो नेपाली मेला २०१०, यही अगस्त २८ तारिख शनिबार, लण्डनस्थित रिचमन्ड एथ्लेटिक्स एसोसिएशनको मैदानमा आयोजना हुने भएको छ। बहुजाति भाषा, धर्म र संस्कृतिका धनी हाम्रो देश नेपाल र नेपालीहरुको मौलिक पहिचान विश्वसामु दर्शाउन र बेलायतमा रहेका विभिन्न सामुदायिक संघसंस्थाबीच आपसी मैत्री र सदभावको अभिवृद्धि गर्दै नेपालको सांस्कृतिक सम्पदाको संरक्षण तथा संवर्धन गर्ने उद्देश्यले गत वर्षदेखि यो मेलाको आयोजना गर्न लागिएको आयोजकहरु बताउँछन् ।

आयोजकका अनुसार, यस वर्ष नेपाली मेलामा विशुद्ध नेपाली संस्कृति झल्किने सांस्कृतिक नृत्य र झांकी प्रतियोगिता, जातीय पोशाक प्रदर्शन (फेशन शो), लोक दोहोरी गीत, युथ ओपन कन्सर्ट, मिस यूके नेपाल २०६७ का प्रतियोग्हरिुका आकर्षक प्रस्तुीत्, साथै बिभिन्न रमाइला खेलहरु प्रस्तुत गरिनेछ। मेलाको विशेष आकर्षणका रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराइसकेका, संसारका सबैभन्दा होँचा तथा हलुका ब्यक्ति, खगेन्द्र थापा मगरलाई निम्त्याइएको छ।
मेलामा नेपाली सांस्कृतिक नृत्य तथा झांकी प्रतियोगितामा प्रथम हुने संस्थालाई ५०० पाउन्ड पुरस्कार तथा नेपाल एम्बासेडर रनिङ् कप प्रदान गरिनुका साथै उक्त संस्थाको स्वदेश (नेपाल)को कुनै विकास परियोजनाका लागि ने. रु. ५०,००० प्रदान गरिनेछ। दोश्रो हुने समाजलाई ३०० पाउन्ड नगद पुरस्कार तथा तेश्रो हुने समाजलाई १०० पाउण्ड नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने घोषणा तमुधीं यूकेले गरेको छ।

मेलामा चाल्सभिन्दा बढी संस्थाहरुले आ-आफ्ना मौलिक भेषाभूषामा सिंगारिएर विविध कला संस्कृति तथा झाँकीहरु प्रदर्शन गर्ने र पचासभन्दा बढी सामाजिक संघ संस्थाहरु, उद्योग ब्यवसायी,च्यारिटी संस्थाहरु र ब्यापारिक संस्थाहरुलाई आ-आफ्नो स्टल राख्ने अनुमति दिई उनीहरुको ब्यापार व्यवसाय प्रवर्धन गर्ने शुभ अवसर प्रदान गरिने कुरा मेला संयोजक तथा तमु धी लण्डन एकाइका चेयरम्यान, चित्र बहादुर गुरुङ बताउँछन्। नेपाली मेलाको परिमर्जित रूपले नेपालीको मौलिक पहिचान बहुमूल्य सांस्कृतिक सम्पदा संरक्षण गर्नका साथै प्रवासबाट पनि मातृभूमिको विकास कार्यमा टेवा पुर्‍याउने विचार प्रकट गर्दै संयोजक गुरुङ, नेपाली मेलाले नेपाल पर्यटन वर्ष २०११ को ‘Naturally Nepal, Once is not Enough’ भन्ने मूल नारालाई ब्यवहारमा उतार्न, सहयोग पुर्‍याउने विश्वास ब्यक्त गर्दछन् ।

गत वर्ष जस्तै यसपालि पनि तमु युथहरुले ओपन युथ कन्सर्ट आयोजना गर्दैछन् । पूर्ण रूपमा युथहरुले नै सञ्चालन गर्ने सो ओपन युथ कन्सर्ट सफल पार्न तमु युथ टिम (TYT) का सदस्यहरु लागि परेका छन् । “युथ फोर युथ” भन्ने भावनाले प्रेरित तमु युथहरु, मेलामा युथ कन्सर्ट तथा युथ स्टलबाट फन्ड जम्मा गरी स्वदेशका असहाय र गरीब तथा जेहेन्दार बालबालिकालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

देशमा राजनैतिक अस्थीरता, महंगी, भ्रष्टाचार र बेरोजगारीको समस्याले पीडित नेपालीहरु, रोजगार र बसाइसराइका सिलसिलामा विदेशिने क्रम बढेको छ। यस्तो अवस्थामा नेपाली बालबालिका तथा युवाहरुलाई प्रारम्भमा यहाँको बेलायती समाजमा समायोजित हुन कठिनाई पर्ने र जसोतसो समायोजित भइसकेपछि आफ्नो भाषा र संस्कृति बिर्सिएर भविष्यमा मौलिक पहिचानविहीन अवस्थामा नपुग्लान् भन्न सकिँदैन। बेलायतमा रहेका कतिपय शिक्षित बाबुआमाका सन्तानले समेत नेपाली भाषा बोल्न छाडेर अंग्रेजीलाई मातृभाषा बनाएका देखिन्छ भने साधारण नेपालीका सन्तानहरु नेपाली होस् वा अंग्रेजी, भाषा र साहित्यको मामालामा ठिमा जस्ता देखिन्छन्। यस्तो अवस्थामा प्रवासमा रहेका नेपाली अभिभावकहरुले समयमै आफ्नो भाषा, धर्म र संस्कृतिबारे आफ्ना बालबालिकालाई उचित शिक्षा दिन सकेनन् भनेपछि पछुताउन पर्ने स्थिति आउने निश्चित छ।

यस अर्थमा अभिभावकहरुले बेलायतका बिद्यालयमा पढाइने शिक्षामा विशेष गरी रिलिजिअस स्टडी बिषयमा मात्र भर नपरी आफ्ना बालबालिकाहरुलाई आफ्नै मौलिक नेपाली भाषा, संस्कृति, परम्परा तथा भेषभूषाबारे शिक्षा दिनका लागि बेलैमा बुद्धी पुर्‍याउन पर्ने देखिन्छ। यसका लागि तमुधीं यूकेले आयोजना गर्ने नेपाली मेला शैक्षिक दृष्‍टिकोणले अति महत्वपूर्ण रहेको छ। त्यसैले बेलायतमा रहेका नेपाली अभिभावकहरुले यो समर होली-डेका बेला एक दिन फुर्सत मिलाएर आफ्ना बालबालिकासहित नेपाली मेलामा सहभागी भएमा बालबालिकाले नेपाली कला संस्कृती र भेषभूषालाई चटक्कै बिर्सने छैनन्।

आयोजकका अनुसार नेपाली मेलाको अर्को उद्देश्य नेपाली बालबालिका तथा यूवाहरुलाई सामाजिक दायित्व चिनाउनु तथा उनीहरुमा लुकेको प्रतिभा प्रस्फुटन गराउनु पनि हो। फलस्वरुप गत वर्षदेखि जेमेको तमु धी युथ टिमले सञ्चालन गर्ने युथ ओपन कन्सर्ट एउटा प्रतिभाको डबलीको रूपमा स्थापित भएको छ। बाल बालिकाहरुलाई स्वतःस्फूर्त रूपमा सहभागी गराइने सो कार्यक्रममा बालबालिकाहरु निःशुल्क र निष्पक्ष रूपमा भाग लिन सक्नेछन्।

आजका बालबालिका भोलिका समाजका कर्णधार हुन् भन्ने कुरालाई हृदयंगम गरी सबै उमेरका नेपालीलाई हित हुने यस्ता कार्यक्रममा एक दिनको फुर्सत मिलाई आफू र आफ्ना बालबालिकासहित सहभागी भएमा साँचो अर्थमा नेपाली कला संस्कृति संरक्षण र संवर्धनका लागि ठूलो सहयोग पुग्नेछ।