क्रिसमससम्म सुनखानीमा पुरेर बस्न बाध्य

क्रिसमससम्म सुनखानीमा पुरेर बस्न बाध्य


लण्डन । चिलीको उत्तरमा पर्ने कपियापो नगर छेउको सान जोस माइन सुनखानीमा गत ०५ अगस्तको दिनदेखि ३३ जना सुनखानीका कामदारहरु सुनखानीभित्र सातसय मीटर तल सुरुङमा फसेका छन् । सुरुङ भत्केर कैयौं टन ढुंगाले सुरुङको बाटो आवरुद्ध भएकोले उनीहरु फसेका थिए । १७ दिनपछि उनिहरुले एउटा बोरिङ गर्दा ड्रील गरेर प्वाल पार्ने मशिनको टुप्पोमा उद्वारकर्ताहरुलाई हामी सबै ३३ जना सकुशल जीवित रहेको भनेर सानो नोटिस झुण्ड्याएर पठाएपछि सम्पूर्ण चिलीबासी र परिवारका आफन्तहरु खुशी भएका थिए । उनीहरुलाई सानो ६ इन्चको प्वालबाट खाने सामग्री, दवाइहरु र एउटा भीडीयो क्यामेरा सुरुङभित्र पठाइएको थियो । क्यामेरा देख्नसाथ सुरुङभित्र फसेका मानिसहरु सबैजना क्यामेरासामु आएर एक एक गर्दै मुख देखाएका थिए । राष्ट्रपति सेबस्टियान पिनेराले राष्ट्रलाई सम्बोधन गर्दा, “अहिले सम्पूर्ण चिलीवासी यो खबरमा खुशीको अनुभूतिले हर्षाश्रु बगाइरहेका छन” भनेका थिए । उनीहरुलाई उद्वारगर्नलाई उद्वारकर्ताहरु लागी परेका थिए । उनीहरुको उद्वारको लागि २६ इन्चको लिफ्ट आकारको मान्छे उद्वार गर्ने कार सातसय मीटर तलसम्म खनेर पुर्‍याएपछि मात्र उनीहरुलाई बाहिर ल्याउन सकिने कुरा समाचारमा प्रकश पारेका छन् ।
सुरुङभित्र पानी भएको साथै अझ भत्किन सक्ने सम्भावना रहेकोले यसबाहेक अरु विकल्प नरहेको इन्जिनियारहरुको अध्ययनले बताएको छ र त्यसको लागि ठाडो पारेर सावधानीपूर्वक ड्रील गर्दा प्वाल पार्दै लानु पर्छ । यस हिसाबले त्यहाँ फसेका कामदारहरुलाई क्रिसमसभन्दा पहिले निकाल्न सम्भव नरहेको बताएका छन् । फसेका व्यक्तिहरुलाई दुलोबाट टेलिफोन पठाएर सम्पर्क स्थापित भएपछि उनीहरुले भोको रहेको, तर, सबैं सकुशल रहेको र उनीहरुको लागि टुथब्रस, पेस्ट, आँखामा लगाउने मलम, पेयपदार्थ र खानेकुरा पठाउनलाई आग्रह गरेका थिए । उनीहरु विगत १७ दिनसम्म २४ घण्टामा आधा गिलास दुध र दुर्इ मुख जति टुना माछाको भरमा ज्यान बचाएर बसेका थिए । फसेका केही मान्छेहरुलाई पेट निमोठेर दुख्ने समस्या देखापरेको बताएका छन् । उनीहरु सबै अहिले एउटा सुरुङभित्रको चेम्बर जस्तो कोठामा झण्डै एउटा बेडरुम भएको फ्ल्याट जत्रो आकारको ठाउँमा जम्मा भएर बसेका छन् । धेरै लामो समयसम्म सुरुङभित्र थुनिएर बस्दा स्वास्थ्य समस्या हुनसक्ने विचारले चिलीको स्वास्थ्य मन्त्री तथा खनिज मन्त्रीले नासाको प्राविधिकहरुको सहयोग लिएर ती व्यक्तिहरुलाई मानसिक र शारीरिक रुपले स्वास्थ्य बनाएर राख्नलाई कदम चालेको छ साथै मनोचिकित्सक र डाक्टरहरुको सल्लाह लिएर लामो समयसम्म स्वास्थ्य तथा उनीहरुको मनोबल उँचो राख्ने विषयमा प्राथमिकता दिएर लागेका छन् । उनीहरुका परिवारजनहरु दिनांक ५ अगस्तको दिनदेखि चिन्तित थिए । अहिले सबै जीवित अवस्थामा भेट्टाउँदा खुशी छन्, तर, क्रिसमससम्म अथवा लगभग चारमहिना बाहिर घाम देख्न नपाउने भएका छन् । श्रोत – नेट, सुमल, मेस ।