चौंथो रिडिङ कप सम्पन्न

चौंथो रिडिङ कप सम्पन्न


रिडिङ । हिजो आइतबार, रिडिङस्थित प्रस्पेक्ट पार्कमा एक विशाल भेलाबीच चौंथो रिडिङ कप सम्पन्न भएको छ । भेटेरान ६, मेन ३२ अनि अण्डर सिक्स्टिन १० गरी जम्मा ४८वटा टिमहरुले भाग लिएको सो कपमा दर्शकहरु लगभग चार हजार उपस्थित भएका थिए । सरसफाइ र सुरक्षाको हिसावमा उत्कृष्ट देखिएको सो कार्यक्रममा शौचालयको अनुपलब्धता निक्कै नै खट्केको सबैले महशुस गरेका थिए । बेलुका नेपालीहरुबीचमा केही झगडा भए पनि सुरक्षादलहरुले त्यसलाई लम्बिन नदिई थामथुम पारेका थिए ।

सन् २००१ सालमा गठन भएको यस रिडिङ कपले स्थानीय मूलधारका व्यावसायिक क्लवहरुमा आफ्ना उत्कृष्ठ खेलाडीहरुलाई प्रवेश गराउन सजिलो बन्ने काम गर्दै आएको छ र अहिलेसम्म केही खेलाडीहरुलाई तिनमा प्रवेश गराइसकेको छ ।

प्रेम गुरुङको परिकल्पनामा बनेको यस रिडिङ कपले चार वर्षदेखि निरन्तरता दिँदै आएको छ, जसको अध्यक्षता महेश गुरुङले गरेका छन् । हिजो भएको सो कपमा सशुल्क बसको व्यवस्था पनि गरिएको थियो । प्रतियोगितामा भेटेरानतर्फ फर्स्ट सेकेण्ड जीआर, मेनतर्फ ब्रिग्रेड ब्वाइज र अण्डर सिक्स्टिनतर्फ गोर्खाली भान्जा टिमले विजय हासिल गरेका छन् ।

रिडिङ कपको औपचारिक कार्यक्रममा राजदूत डा. सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्य रहेको थियो भने, रिडिङ मेयर गुल खानको विशेष आतिथ्य र एनआरएन यूके अध्यक्ष सूर्य गुरुङ, तमू धिं यूकेका अध्यक्ष सुवास गुरुङ आदि अतिथिहरु रहेका थिए । कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना विभिन्न वक्ताहरुले बोल्ने क्रममा गरेका थिए ।-याम, मेरो सम्वाददाता, तस्वीर सहित
वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।