राजनीतिक गतिरोध नेताहरूका निम्ति घातक

राजनीतिक गतिरोध नेताहरूका निम्ति घातक


काठमान्डौं । नेपालमा अहिलेको अवस्था लामो समयसम्म रहेमा त्यसले दलहरूप्रति जनविश्वास घटाउने र त्यो नेताहरूका निम्ति घातक हुनसक्ने भएकाले शीघ्र समस्या समाधान गर्न आफ्नो पार्टी गम्भीर रहेको माओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएकाछन। संसदीय पत्रकार समाजका पदाधिकारीहरूसँग आज बिहान आफ्नै निवासमा भएको भेटमा उनले नेपाली काँग्रेसले उम्मेदवारी फिर्ता नलिनु र नेकपा (एमाले) तटस्थ बस्नु नै अहिलेको प्रमुख बाधा भएको बताए। दलहरूबीच राष्ट्रिय सहमति भएमा आफ्नो उम्मेदवारी फिर्ता हुने उनले बताए।

दाहालले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि आफ्नो पार्टीले जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन्। ‘भदौ २० सम्ममा अहिलेको प्रक्रियाबाट वा सहमतिमा गएर सरकार गठनको प्रयास गर्ने तथा त्यस्तो स्थिति नभएमा पार्टीको चालू केन्द्रीय समितिको बैठकले राजनीतिक गतिरोध अन्त्यका लागि आवश्यक निर्णय गर्नेछ।’ अध्यक्ष दाहालले बताए।

संविधानसभाको निर्वाचनपछि मुलुकलाई गणतन्त्रमा लैजाने सर्तमा आफूहरूले बहुमतीय प्रणाली रोजेको जानकारी दिँदै अध्यक्ष दाहालले पाँचपटकसम्म निर्वाचनमा जाने मनस्थितिमा आफूहरू पहिलेदेखि नै नरहेको प्रस्ट गरे। उनले सहमतिका लागि नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाललाई लिखितरूपमा सहयोग गर्ने प्रतिबद्धता निर्वाचनअगावै आफ्नो पार्टीले गरेको स्मरण गराए। प्रधानमन्त्रीका लागि एकीकृत नेकपा (माओवादी) मरिहत्ते गरिरहेको भनी फैलाइएको हल्ला निराधार भएको उनले बताए। -मेस, काठमान्डौं