किक बक्सिङ हान्ने ड्रागनको अवशेष भेटियो

किक बक्सिङ हान्ने ड्रागनको अवशेष भेटियो


लण्डन । खृष्टियन् धर्मावलम्बीहरुका किंवदन्तीअनुसार उहिले एउटा ड्रागनले (चीनियाँहरुले पुज्ने एक प्रकारको प्राणी जसले मुखबाट आगो वर्षाउने सिंहको जस्तो दाह्रा भएको मुख, ठूला-ठूला आँखाहरु, लामो लामो जुँगा र लाम्चो सर्पाकारको शरीर) हालको रोमानिया राज्यमा सेन्ट जर्जको पालामा त्यहाँका जनताहरुलाई आतंक फैलाएको उल्लेख गरेको छ । यो किंवदन्ती सेन्ट जर्जसँग गाँसिएको छ ।

हालै वैज्ञनिकहरुले रोमानियामा उहिले उल्लेख गरेजस्तै प्राणीको अवशेष प्रमाणस्वरुप प्राप्त भएको समाचार प्रकाशमा आएको छ । प्राप्त कंकाललाई अनुसन्धान गरेर वैज्ञनिकहरुले आज भन्दा ८ करोड वर्षपहिले रोमानीया र वरिपरिका क्षेत्रमा त्यस जीवले आतंक फैलाएको निर्क्यौल गरेका छन् । त्यो जीव खतरनाक मांसाहारी डायनोसर प्र्रजातिको थियो भन्ने वैज्ञनिकहरुको मत छ । २ मीटरभन्दा (७ फिट) अग्लो यस प्राणीलाई रोमानियावासीहरुले बलौर वान्डोक अर्थात् मोटो ड्रागन नामाकरण गरेका छन् । यो डायनोसारको खुट्टामा दुइटा तेज धारिलो कैंची जस्तो पञ्जाहरु अवशेषमा भेटिएका छन् । आफ्नो शिकारलाई यही धारिलो पञ्जाको प्रहारले चिरफार गरेर मार्ने यस प्राणीमा शक्ति थियो भनेर वैज्ञानिकहरुले जनाएका छन् । यो प्राणी तीव्र गतिमा दौड्न सक्ने थिएन, तर, खुट्टाहरु छोटो भए तापनि अत्यन्तै शक्तिशाली थिए । शरीर भारी भएकोले शिकारलाई लात्तीले प्रहार गरेर धारिलो छूराजस्तो पञ्जाले हुरुक्कै पार्थ्यो ।

जुरासिक पार्क फिल्मको स्टार डायनोसार जस्तै यस प्राणीको वजन बढी भएकोले हिँड्दा जमीन कम्पन हुने थियो । आफ्नो वजनभन्दा ठूलो प्राणीलाई मार्नसक्ने क्षमता यस डायनोसारमा थियो भन्ने कुरा वैज्ञानिकहरुले अनुसन्धानबाट अडकल गरेका छन् । कोलम्बिया युनिभर्सिटीका अनुसन्धानकर्ता स्टेफेन् ब्रुसेटले, “यसको शारीरिक बनोट भारी भएको कारणले गर्दा यस प्राणीले अन्य जन्तुहरुभन्दा भिन्न तरिकाले आक्रमण गर्दथ्यो ।

सम्भाव्यतः यसले दगुरेर आक्रमण गर्नुको सट्टा किक बक्सरले जस्तै लात्तीले हानेर शिकार गर्ने गर्दथ्यो” भनेर उद्घृत गरेका छन् । पहिले बाढी आएर समथल भएको भूभाग, मध्य रोमानियाको सेबेस नामक शहरमा अहिले भेट्टाएको बलौर नामक डायनोसारको शरीरका आंशिक भागहरु प्राप्त भएको समाचारमा प्रकाश पारेका छन् । श्रोत – नेट, सुमल, मेस ।