लण्डनमा नेपाली सामुदायिक भवन र गुम्बा

लण्डनमा नेपाली सामुदायिक भवन र गुम्बा


प्लमस्टिड, लण्डन / दक्षिणपूर्व लण्डन तमू धिंको आयोजनामा हिजो शनिवार, ४ सेप्टेम्बर २०१० को दिनमा प्लमस्टिडको कोनवेरोडस्थित गिर्जाघरमा नेपाली सामुदायिक भवन र बौद्धगुम्बा खरिद गर्नेबारे प्लमस्टिडवासीहरुको भेलाको आयोजना गरिएको थियो । कार्यक्रम पूर्वनिर्धारित समयभन्दा केही ढिलो शुरु भएको थियो । भेलाको मुख्य उद्धेश्य प्लमस्टिडमा नेपाली समुदायको लागि एउटा सामुदायिक भवन र गुम्बाको खरिदबारे योजनाको कार्यपत्र प्रस्तुति तथा त्यससम्बन्धी चर्चा रहेको थियो । आठजना ब्यवस्थापन सदस्य रहेको यस योजनाको समितिलाई श्रीचन्द्र गुरुङको संयोजकत्वमा अत्यन्त सफलतापूर्वक सम्पन्न गरिएको थियो । कार्यक्रमलाई संचालकद्वय योगेश गुरुङ र सूर्य गुरुङले संचालन गरेका थिए । व्यवस्थापन टिमका सदस्यहरुले कार्यक्रमको पूर्वयोजना २६ मई २०१० को दिनमा सोही स्थानमा बौद्धधर्मालम्बीहरुहरुले दमाङ पूजाको विधिवत धार्मिक पाठ पढेर पाउण्ड ६ हजारभन्दा बढी उठिएको रकमबाट शुरु गरेका थिए । कार्यक्रमको अध्यक्षता दक्षिणपूर्व लण्डनका अध्यक्ष क्याप्टैन रिटायर्ड नारायण बहादुर गुरुङले गरेका थिए । यस कार्यक्रमका अतिथिहरुमा साफाका सचिव गेरी अर्मस्टोङ, तमू धिंका उपाध्याक्ष हरि गुरुङ, द.पू.लण्डन तमू धिंका प्रमुख सल्लाहाकार मोहन गुरुङ, महिला प्रतिनिधि श्रीमती बनु गुरुङ र श्रीमती शर्मिला थकाली थिए । औपचारिक कार्यक्रमको उद्घाटन लामा पेमा पेङ्ग्युले बुद्ध भववानको प्रार्थना गरेर समारोहका अध्यक्ष महोदय र तमू धिं यूकेका उपाध्यक्ष हरि गुरुङले पानसमा बत्ति प्रज्वलन गरेर शुरु गरेको थियो । सो अवसरमा बत्ती प्रज्वलन पश्चात व्यवास्थापन समितिका व्यक्तित्वहरुलाई खादा ओढाएर सम्मान गरेका थिए ।
त्यसै कार्यक्रममा सुमल कुमार गुरुङलाई सामुदायिक भवन र गुम्बा खरिद समितिको सल्लाहाकारमा नियुक्त गरिएको थियो तथा खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा सामुदायिक भवनको लागि आ-आफ्नो मन्तव्य प्रकट गर्ने व्यक्तित्वहरुमा मोहन गुरुङ, हरि गुरुङ तथा लामा पेमा पेङ्ग्यु थिए । त्यसपछि कार्यक्रमको मुख्य कार्यपत्र प्रस्तुति पावर-प्वाइन्टको माध्यमबाट श्रीचन्द्र गुरुङले प्रस्तुत गरेका थिए । सोही अवसरमा प्रश्नोत्तर र थप मन्तव्य व्यक्त गर्ने क्रममा सुमल कुमार गुरुङले भेलालाई सम्बोधन गरेर आफ्नो विचार राखेका थिए ।
कार्यपत्र प्रस्तुति दुर्इ भागमा प्रस्तुत गरिएको थियो । यसै दौरान गेरी अर्मस्ट्रोङले बेलायत आउने नेपालीहरुका लागि साफाको तर्फबाट मद्दत हुने विशेष विषयहरुमा प्रकाश पारेका थिए तथा उनलाई रोबिन गुरुङले नेपालीमा रुपान्तार गरेर मददत गरेका थिए । कार्यक्रमलाई निरन्तरता दिँदै संचालकद्वय सूर्य गुरुङ र योगेश गुरुङले सामुदायिक भवनको औचित्यलाई प्रभावशाली ढंगबाट प्रस्तुत गर्दै चन्दाको लागि आहृवान गरेका थिए । बडो रोचक र प्रेरणामुलक उदारता देखाउँदै चन्दादाताहरुले एक घण्टाभित्र नै पहिलेको ६ हजार पौण्ड रकम मिलाएर हिजो मात्र तेत्तीस हजार एकसय पैतालीस पौण्ड रकम भवन खरिदको लागि उठेको थियो । कार्यक्रमलाई रोचक बनाउनको लागि प्लमस्टिडका नवयुवतीहरुले सामूहिक नृत्य पेश गरेका थिए । खानपिनको साथमा सम्पन्न भएको सो भेलालाई अन्तमा समारोहको अध्यक्षले आफ्नो अन्तिम मन्तव्यस्वरुप धन्यवाद प्रकट गर्दै भेलालाई विसर्जन गरेका थिए । -सुमल, मेस ।