विकीलिक्सका असान्जेलाई इक्वेडोरले दियो नागरिकता

विकीलिक्सका असान्जेलाई इक्वेडोरले दियो नागरिकता


बहुचर्चित ‘विकीलिक्स’का संस्थापक जुलियन असान्जेलाई इक्वेडोरले आफ्नो नागरिकको रूपमा नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । इक्वेडेरियन विदेशमन्त्री मारिया फर्नाण्डा एस्पिनोसालाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले जनाएका छन् ।

गिरफ्तारीबाट बच्नका लागि पाँच वर्षदेखि असान्जे लण्डनस्थित इक्वेडोरको दूतावासमा शरण लिँदै आएका छन् । क्विटोमा आयोजित पत्रकार सम्मेलनमा एस्पिनोसाले बताएअनुसार यही जनवरी १२ तारिखदेखि जुलियन असान्जे इक्वेडोरको नागरिक बनेका छन् । असान्जेलाई गिरफ्तार हुनबाट जोगाउन उनको उपस्थितिलाई एक राजनीतिक व्यक्तिको शरणको रूपमा मान्यता दिन पनि एस्पिनोसाले बेलायतसँग अनुरोध गरेकी छिन् ।

बेलायतले इक्वेडोरको यो आग्रह अस्वीकार गरेको छ । ज्ञातव्य छ, असान्जेले स्वीडेनमा प्रत्यर्पण हुनुबाट बच्न सन् २०१२ मा इक्वेडोरको दूतावासमा शरण लिएका थिए । पछि स्वीडरले असान्जेमाथि यौन अपराधसँग जोडिएको मामला हटाएको थियो । यसका बाबजुद असान्जे दूतावासमै शरणार्थीका रूपमा रहिरहे, किनकि जमानतको अवधि सकिनेवित्तिकै लण्डनमै उनको गिरफ्तारी हुनसक्ने खतरा कायम रहेको अवस्था छ ।