उत्तर कोरियाली महिला खेलाडी दक्षिण कोरियामा

उत्तर कोरियाली महिला खेलाडी दक्षिण कोरियामा


उत्तर कोरियाली महिला खेलाडीको एक समूह दक्षिण कोरिया पुगेका छन् । विहीबार त्यहाँ पुगेका १२ जना महिला खेलाडी ‘आइस हक्की’ खेलका हुन् । उनीहरु दक्षिण कोरियामा अभ्यासका लागि गएका हुन् ।

आगामी महिना दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलमा उत्तर र दक्षिण कोरियाले उक्त खेलमा संयुक्त प्रतिश्पर्धा गर्ने भएका छन् । त्यसैले सो खेलमा दक्षिण र उत्तर कोरियाका महिला खेलाडीले संयुक्त रुपमा अभ्यास गर्ने भएका समाचारमा जनाइएको छ ।

दुई कोरियाबीच यस्तो सहभागीता करिब तीन दशक यता पहिलो पटक भएको जनाइएको छ । यसका साथै लामो समयपछि यसरी उत्तर कोरियाली महिला अधिकारी पहिलो पटक दक्षिण कोरिया प्रवेश गरेको एजेन्सीहरुले महत्वका साथ प्रकाशित गरेका छन् ।

अर्को महिना दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकूदम दुई कोरियाबीच यस्तो सहभागिता सुरु हुन थालेको छ ।

उत्तर कोरियाबाट आएका आइस हक्की खेल समूहका ती महिलालाई दक्षिण कोरियाको जिन्चेओनमा रहेको राष्ट्रिय आइस हक्की तालिम केन्द्रमा फुलको गुच्छा दिएर स्वागत गरिएको थियो ।

शीतकालीन ओलम्पिक खेलकूदले उत्तर कोरियाको आणविक सशस्त्र महत्वाकांक्षाको कारण उत्पन्न दुई कोरियाबीचको विगत लामो समयदेखिको शत्रुतापूर्ण सम्बन्धमा सुधार हुने अपेक्षा गरिएको छ ।

आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाले आफ्ना खेलाडीको टोली र अन्य खेलकूद अधिकारी पठाउन सुरु गरिसकेको पनि अर्को एक समाचारमा जनाइएको छ । यस अघि पनि उत्तर कोरियाली सरकारी अधिकारीसहितको एक प्रतिनिधिमण्डल दक्षिण कोरिया पुगिसकेको थियो ।

अर्को महिना दक्षिण कोरियामा आयोजना हुन गईरहेको शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको सहभागिता सुनिश्चित भएकोले सो खेलमा आफ्नो सहभागिताका लागि आवश्यक तयारीको अनुगमन र निरीक्षण गर्न पनि उत्तरका अधिकारीहरु त्यहाँ गएका छन् ।

चार बर्षयता पहिलो पटक उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रवेश गरेको यो नै पहिलो पटक भएको सोलबाट अधिकारीहरुले जानकारी दिएका छन् ।

यस ओलम्पिक खेलकूदमा उत्तर र दक्षिण कोरियाले एउटै अथवा संयुक्त झण्डामा सँगसँगै मार्चगर्न पनि सहमति जनाएको समाचार यसअघि नै आएको थियो । जसले गर्दा आगामी दिनमा पनि यी दुई कोरियाबीचको सम्बन्धमा अहिलेको तुलनामा थप सुधार हुने विश्लेषकहरुको अनुमान छ ।