कावुलमा वर्षकै ठूलो मानवीय क्षति

कावुलमा वर्षकै ठूलो मानवीय क्षति


अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा परीलगभग सय मानिसको मृत्यु भएको छ । घटनामा परी १५८ जना घाइते भएका छन् । यस घटनालाई यस वर्षकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको रुपमा लिइएको छ ।

काबुलको मध्य भागमा अत्यधिक भीड भएको स्थान लक्ष्य गरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स विस्फोट गराइँदा कम्तीमा ९५ जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ भने मृतकको सङ्ख्या बढ्ने प्रहरीको अनुमान रहेको छ ।

घाइतेको सङ्ख्या बढी भएकाले स्थानीय अस्पतालहरुमा उपचारमा समस्या भएको प्रहरीले जानकारी दिएको छ ।

विद्रोही र इस्लामिक स्टेट (आइएस) लडाकू समूहले बेलाबेलामा आक्रमण गरिरहने भएकाले काबुलका आमनागरिकका लागि अत्यन्त प्राणघातक भएको छ । यद्यपि एएफपीका संवाददाताले जामुरिते अस्पतालमा मृत्यु हुने र घाइते हुनेहरुको संख्या अत्यधिक देखेको बताएका छन् ।

अस्पतालका स्वास्थ्यकर्मीहरुले रक्तपातपूर्ण घाइतेहरुलाई अस्पतालको गल्लीमा समेत राखेर उपचार गरी जीवन जोगाउने संघर्ष गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद माजरोहले एएफपीलाई बताएअनुसार अहिलेसम्म मृत्यु हुनेहरुको संख्या ९५ पुगेको छ, १५८ जना घाइते भएका छन्, यसअघि गृह मन्त्रालयले ६३ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।

काबुलको मध्य भागमा पर्ने सिदारात स्क्वायरमा स्थानीय समयानुसार दिउँसो करिब १२ः५० मा घटना भएको अधिकारीहरुले बताएका छन् ।

विस्फोट भएको क्षेत्रमा गृह मन्त्रालयको पुरानो कार्यालय, युरोपेली संघलगायतका विभिन्न उच्च महत्वका संघसंस्था र कार्यालय रहेका छन् ।

काबुलका लागि युरोपेली संघका प्रतिनिधिहरु सुरक्षित रहेको र कुनै मानवीय क्षति नभएको अधिकारीहरुले एएफपीलाई जानकारी दिएका छन् ।

एम्बुलेन्स आक्रमणको तालिवान लडाकू समूहले जिम्मेवारी लिएको छ । घटनापछि सरकारी सुरक्षाकर्मीहरुले घटनास्थल आफ्नो नियन्त्रणमा लिएर दोषीहरुको खोजी कार्य तीव्र पारेको जनाएका छन् ।

काबुलमै रहेको एक होटलमा गत आइतबार तालिवान लडाकूहरुले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको थियो ।