बलात्कारपीडितका पहिरन प्रदर्शनीमा

बलात्कारपीडितका पहिरन प्रदर्शनीमा


बलात्कारका घटना घट्नुमा उत्तेजक पोसाकलाई नै कारण मान्न सकिन्न । तर, भड्किलो पहिरनकै कारण बलात्कारका घटना घट्ने गरेको एकथरी समाजशास्त्रीको तर्क सुनिन्छ । बलात्कारसँग पहिरनलाई जोडेर अनर्थ लगाउनेहरूलाई जवाफ दिने उद्देश्यले ब्रसेल्समा एक अनौठो प्रदर्शनी आयोजना गरिएको छ । एक यस्तो प्रदर्शनी, जहाँ ‘रेपपीडित’ (बलात्कृत) महिलाका पोसाक राखिएका छन् ।

दर्दनाक कथाहरू उजागर गर्ने उक्त प्रदर्शनीमा बलात्कृत हुँदा पीडितले जुन कपडा पहिरिएका थिए, तिनकै कलेक्सन प्रदर्शनमा राखिएकाले ठूलो सङ्ख्यामा मानिस सहभागी भएका थिए । आयोजकले प्रदर्शनीको उद्देश्य मानिसलाई हिम्मत प्रदान गर्नु र समाजमा यस्ता विकृतिप्रति मानव हृदयमा घृणा जगाउनु रहेको बताएका छन् ।

‘ह्वाट आर यू वेअरिङ’ नाम दिइएको उक्त प्रदर्शनीमा मूलतः १८ वटा पोसाक विशेष रूपले प्रस्तुत गरिएका थिए, जसमध्ये एउटा नाबालक बालिकाको ‘माई लिटल पोनी’ टी–सर्ट, जिन्स र टी–सर्ट, ट्रयाकसुट र पुलिसको युनिफर्मसमेत संलग्न छन् ।

यसबाट यो प्रस्टिन्छ कि पहिरनकै कारण बलात्कारको घटना घटेको नभई आपराधिक मानसिकता नै यस्ता घटनामा जिम्मेदार हुन्छन् । पहिरनकै कारण बलात्कृत बन्नुपरेको भनी लगाइएका लाञ्छनालाई खण्डन गर्न र पीडितहरूलाई मानसिक राहत प्रदान गर्न यस प्रदर्शनीले महत्वपूर्ण भूमिका खेलेको ठानिएको छ ।