(अध्यक्ष, नेमकिपा)
नेपाली राजनीतिमा कहिल्यै पनि सरकार र पदको वास्ता नगरी अनवरत रूपमा प्रतिपक्षीको भूमिका निर्वाह गर्दै आउनुभएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे अध्ययनशील, बौद्धिक र स्पष्टवक्ता राजनेताको रूपमा परिचित हुनुहुन्छ । शालीन स्वभावका नेता विजुक्छे पछिल्लो समयमा प्रधानमन्त्रीले आफैं राजीनामा नदिने हो भने राष्ट्रपतिले हटाएर राष्ट्रपति शासनमार्फत मुलुकलाई निकास दिनुपर्छ भन्ने अभिव्यक्ति जोडदार रूपमा दिइरहनुभएको छ । स्पष्टवक्ता विजुक्छेसँग ऋषि धमलाले गरेको कुराकानी :
० आलङ्कारिक ओहोदामा रहेका भनिएका राष्ट्रपति यतिबेला केन्द्रबिन्दुमा देखिनुभएको छ, किन होला ?
– राष्ट्रपति देशकै अभिभावकको भूमिकामा हुनुहुन्छ, उहाँले संविधानको पालना र संरक्षण गर्नुहुन्छ । राष्ट्राध्यक्षजस्तो व्यक्ति राष्ट्रको केन्द्रबिन्दुमा देखिनु के अस्वाभाविक भयो र ?
० राष्ट्रपतिले राजनीति गर्न मिल्छ ? सरकारले स्वीकृतिका लागि पठाएको अध्यादेश फिर्ता गरेर राजनीति गर्नुभयो रे नि उहाँले, हो ?
– एकदम गलत कुरो ! उहाँले राजनीति गर्नुभएकै मान्ने हो भने पनि देश र जनताको हितमा गर्नुभयो । अध्यादेशबाट सरकार चलाउन खोज्नु भनेको प्रधानमन्त्रीको निरङ्कुशता हो । यो निरङ्कुशतालाई समयमै रोक्न सकिएन भने देशमा थप अप्ठ्याराहरू आउने निश्चित छ । यही देखेर–बुझेर राष्ट्रपतिले अध्यादेश फिर्ता पठाउनुभएको हो र देशका लागि यो अत्यन्त सकारात्मक कार्य हो ।
० एमाओवादी, मधेसवादी दलहरूले त यो कदम बेठिक भनेर विरोध गरे त !
– देश र जनताले समर्थन पनि त गरेका छन् नि ! सरकारमा बसेर खाइपाई आएकाहरूले आफ्ना मोजमस्ती गुम्ला भन्ने डरले विरोध गर्ने नै भए, तर व्यापक जनताले समर्थन गरेका छन् ।
० राष्ट्रपतिको कदममा समर्थन जनाउने व्यापक जनता छन् ?
– छन् । बुझ्ने जनता व्यापक रूपमा समर्थनमा छन् ।
० संविधानको पालक र संरक्षकको ओहोदामा रहेका राष्ट्रपतिले राजनीति गर्नु हुँदैन, प्रधानमन्त्रीले जे सिफारिस गर्छन् त्यही मात्र गर्नुपर्छ भन्छन् नि त ?
– यसरी एकाङ्की ढङ्गले बुझ्नु गलत हो । प्रधानमन्त्रीले निरङ्कुशता लाद्न सक्ने भएकोले राष्ट्रपतिलाई केही अधिकार दिएको छ संविधानले । विदेशले आक्रमण गर्यो भने, देशको अर्थतन्त्र चौपट भयो भने, देशमा शान्ति सुरक्षा भएन र उपद्रव भयो भने त्यसलाई नियन्त्रण गर्न एउटा निकाय त चाहियो । यही सोचबाट राष्ट्रपतिको व्यवस्था गरेको छ संविधानले ।
० मधेसी मोर्चाका एक नेताले त यस्तै हो भने अब राष्ट्रपतिलाई हटाइन्छ भनी उद्घोष नै गरे नि, के भन्नुहुन्छ यसमा तपाईं ?
– प्रधानमन्त्री हट्नुपर्छ अहिले । मधेसी मोर्चाका दलहरू क्रान्तिकारी भूमिसुधार गर्न नचाहने सामन्ती सोच बोकेकाहरू हुन्, तर यस्ताहरूसँग क्रान्तिकारी भूमिसुधारकै निम्ति सशस्त्र सङ्घर्ष गर्नुपरेको दाबी गर्ने एमाओवादीहरूले लगनगाँठो कस्न पुगेको हास्यास्पद र विडम्बनाको अवस्था देखिरहेका छौँ हामी । एमाओवादीले सिद्धान्त छोडेको छ, तराईका केही जमिनदार र सामन्तहरूको पार्टीलाई काँधमा बोकेर हिँडेको छ । यस्तो बहुलठ्ठी देखाउने एमाओवादीका कारण आज देश खाडलमा गएको छ । यस्तो सरकारलाई अरू केही समय राखिरह्यो भने त देशको हालत के हुन्छ हेर्दै जानुहोला ।
० २०–२५ वर्ष त भट्टराई सरकार या भनौँ माओवादीकै नेतृत्वमा सरकार रहन्छ भन्ने उद्घोष गरे नि प्रचण्डले त, तपाईंचाहिँ यस्तो कुरा गर्नुहुन्छ ?
– त्यस्तो उद्घोष गर्नेहरू २५ वर्ष ज्युँछ कि ज्युँदैन पनि हेर्नुपर्यो । प्रचण्डले त के–के भन्नुहुन्छ के–के ! उहाँ जथाभावी आवेशमा बोल्नुहुन्छ अनि माफी माग्नुहुन्छ । त्यसैले प्रचण्डजीको भनाइको पछि लाग्ने होइन कि तथ्यको पछाडि लाग्ने हो ।
० भनेपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाउन सक्नुहुन्छ अब ?
– हटाइसक्नुपर्ने थियो, किन ढिलो भएको हो । यस्ता प्रधानमन्त्रीलाई हटाउनुपर्छ र जनताले पनि त्यस कदमको स्वागत गर्नुपर्छ, गर्छ ।
० प्रधानमन्त्री भट्टराईको नाममा अब सहमति बन्न सक्दैन, उहाँ नहटी सुखै
छैन, हो ?
– स्थिति त्यही नै हो ।
० तपाईं नेपालमा राष्ट्रपतिशासनको परिकल्पना गरिरहनुभएको प्रतीत हुन्छ, अहिलकोे परिवेशमा त्यो कसरी सम्भव छ ?
– स्वाभाविक किसिमबाट प्रधानमन्त्रीले राजीनामा दिएर देशलाई निकास दिए भने राष्ट्रपतिले शासन चलाउनुपर्ने आवश्यकता नै रहँदैन । मल्हमपट्टीले नै घाउ ठीक हुन्छ भने चिरफार किन गरिरहनुपर्यो र ?
० यदि प्रधानमन्त्रीले राजीनामा दिनुभएन भनेचाहिँ राष्ट्रपतिशासन लागू हुन्छ ?
– जनताको त्यस्तो माग छ । त्यतिबेला प्रधानमन्त्री रहँदैन, राष्ट्रपतिको भनाइअनुसार नै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ । यस्तो तनावपूर्ण अवस्थामा पुग्नु या पुर्याउनुभन्दा पहिले नै राीजनामा दिनुहुनेछ भन्ने मेरो व्यक्तिगत आग्रह र अनुमान छ ।
० बाबुराम भट्टराईले त्यति सजिलै राजीनामा दिनुहोला भन्ने विश्वास छ तपाईंलाई ?
– त्यस्तो अवस्था आए दुई मिनेटमै दिन्छु त भनिरहनुभएको छ । राष्ट्रपतिभवनमा छलफल हुँदा हामै्रअगाडि भनेको हो । पदमा बसिरहने मलाई कुनै इच्छा या रहर छैन भनी उहाँले बोलेको बोली पूरा गर्नुहुनेछ भन्ने आशा म गर्छु, किनकि यसमै देशको हित छ । प्रधानमन्त्रीले आफ्नो वचन पालन गर्नुपर्यो र राजनीतिक पार्टीहरूको बैठक राखेर उपायहरू खोजिनुपर्यो । त्यो अवस्थामा उपाय सरलताका साथ नै देखापर्छ भन्ने मलाई लाग्छ ।
० मुलुकको राजनीति त ध्रुवीकृत हुँदै छ नि, आ–आफ्ना गठबन्धन कसिँदै छ ?
– सरकारमा जानेहरूबीच गुटबन्दी त पहिले पनि थियो, अहिले पनि छ । पहिले घोषणा गरिएको थिएन अहिले गरियो, त्यति मात्र फरक हो । जनताले त साना पार्टीलाई प्रतिपक्षमा बसेर काम गर्नु भन्ने आदेश दिएका हुन्, तर अचम्म ! साना पार्टीहरू सबै सरकारमा छन् । अनैतिकताका कारण यस्तो विचित्र देख्नुपरेको हो । हाम्रोजस्तो देशमा देश र जनताको दीर्घकालीन हितका निम्ति राजनीतिक पार्टीहरू खुल्नुपर्ने हो, तर यहाँ त मन्त्री बन्नको निम्ति, घुस बटुल्नको निम्ति, आफ्नो मान्छेलाई भर्ना गर्नको निम्ति, भ्रष्टाचार गर्नको निम्ति नै पार्टीहरू दौडिरहेका देखिन्छन् । लोभीपापीहरूको गठबन्धन हुनु अनौठो पनि भएन नि !
० तर तपार्इंहरूले त खै केही गर्न सक्नुभएन त ?
– के गर्नुपर्यो ? हामीले पनि यस्तै बेतुकको सरकारमा गएर भ्रष्ट बनी ठूलठूला महलहरू खडा गर्नुपर्यो ? जायजेथा जोड्नुपर्यो ? जनतालाई महँगी, असुरक्षा र भ्रष्टाचारको आहालमा तड्पाएर आफू मस्ती गरिरहनुपर्यो ? होइन भने हामी त औंला उठाइरहेका नै छौँ, आफ्नो भूमिका निर्वाह गरिरहेकै छौँ । काङ्ग्रेस–एमालेको आन्तरिक झमेलाका कारण पनि सरकारविरुद्ध सशक्त आन्दोलन सुरु हुन नसकेको हुनुपर्छ ।
० तपाईंहरू पनि मोर्चाबन्दी गर्दै हुनुहुन्छ कि ?
– हामी कुनै एलायन्समा छैनौँ, न माओवादी एलायन्स न त काङ्ग्रेस–एमालेको एलायन्समै छौँ । काङ्ग्रेस–एमालेहरू एकै ठाउँ देखिएका सरकारमा जाने बाटो बनाउनका लागि हो, हामी त सरकारमा जान लालायित छैनौँ । जनताले हामीलाई अहिले प्रतिपक्षीको रूपमा बसेर काम गर्न आदेश दिएको हो, त्यसैअनुसार हामी आफ्नो दायित्व निर्वाह गर्दै छौँ ।
प्रतिक्रिया