दुई वर्षका लागि प्रेमी–प्रेमिका !

दुई वर्षका लागि प्रेमी–प्रेमिका !


केही दिनअघिको कुरा हो, अलग थरका भए पनि मैले ‘भाइ–भाइ’ भनिरहेको एक व्यक्तिसँग भेट भयो । उनी उमेरमा मभन्दा निकै कम छन् तर पनि झन्डै ३० वर्ष हाराहारीमा उनको उमेर भइसकेको छ । आमाबाबु तिनको विवाह गरिदिन चाहन्छन् तर उनले भने ‘अहिले गर्दिनँ, अहिले गर्दिनँ’ भन्दै उमेर बढाइरहेका छन् । एक दिन उनका आमाबुबाले मलाई पनि सम्झाइदिन अनुरोध गरेकाले मैले सम्झाएँ पनि, तर काम बनेन । उनले आफू अझै आफ्नो खुट्टामा नउभिएको दलिल दिई उम्के । आमाबाबु भने केटीहरू छान्न व्यस्त थिए ।
केही दिनअघि अनायासै उनीसँग मेरो भेट भयो । भेट हुनेबित्तिकै मैले उही कुरो दोहोर्‍याएँ । मैले भने, ‘ए भाइ आमाबाबुले खोजेकी केटीसँग खुरुक्क विवाह गरिदेऊ, यसो गर्दा दुवै परिवारको साथ र सहयोग मिल्छ । हामीले पनि त्यसै गर्‍यौँ र हाम्रो वैवाहिक जीवन सफलै छ ।’ मेरो कुरा सुनेर उनी सधैंझंै हस् भने अनि फेरि भने दाइ म अझै दुई वर्ष विवाह गर्दिनँ । मैले भने, ‘दुई वर्ष किन ?’ उनले भने, ‘दुई वर्षसम्मलाई मेरी गर्लफ्रेन्ड छन् ।’ म आश्चार्यचकित भएँ र सोधेँ, ‘दुई वर्षलाई मात्र कस्तो गर्लफ्रेन्ड त ?’ उनले भने, ‘होइन दुई वर्षपछि उनको लोग्ने विदेशबाट नेपाल आउँदै छन् त्यसैले उनले भनेकी छिन् लोग्ने फर्किएपछि हाम्रो प्रेम खतम ।’
मलाई ती भाइको कुरा सुनेर भाउन्न होला जस्तो भयो । एकछिनसम्म ट्वाल्ल परेर उनको अनुहार हेरिनै रहेँ । उनी मलाई हेरी केवल मुसुमुसु हाँसे मात्र, मानौँ मैले त्यो सुनेर भाउन्न हुनुपर्ने कुनै कारण नै छैन । उनले अगाडि बताए, ‘दाइ ती महिलाको एक वर्षअघि विदेशमा बस्ने मान्छेसँग विवाह भएछ । विवाहपश्चात् लगत्तै श्रीमान् फर्केछन् । महिला त्यहाँ जान सकिनन् । उनी एक फ्ल्याट लिएर काठमाडौंमा बस्छिन् । श्रीमान् नफर्केसम्म म उनलाई सेवा गर्दै छु ।’ फेरि मेरो दिमाग चकरायो । भाउन्नै होला जस्तो भयो । मैले जिस्क्याउँदै भने, ‘भेटाँै न त उनलाई, म पनि हेरौँ ?’ उनले हाँस्दै भने, ‘उनलाई त म भेट गराउँदिनँ, तर अर्की पुरानी गर्लफ्रेन्ड छन् तिनलाई भेटाउँला । उनीचाहिँ सेक्सको क्रेजी छन् । ब्याईफ्रेन्ड फेरिरहन्छिन् । मलाई पनि फोन गरेर हैरान बनाउँछिन्, तर म यतातिर आजकल व्यस्त छु ।’ उनको थप कुरा सुनेर फेरि मेरो दिमाग चक्करायो, त्यसपछि हामी छुट्टियौँ ।
त्यो भाइले बडो सहज ढङ्गसँग यी कुराहरू मलाई बताइरहँदा म भने यो समाज अब कतातिर जाँदै रहेछ भनेर सोच्न बाध्य भइरहेको थिएँ । वास्तवमै समाज सेक्सका दृष्टिले परिवर्तन भइरहेको छ भन्छन् । तर, यो परिवर्तन यहाँसम्म पुगेको छ भन्ने मात्र चाहिँ मलाई थाहा थिएन । मलाई यो समाजमा पहिला–पहिला एक पुरुषले धेरै पत्नी ल्याउन सक्ने स्थिति थियो । क्रमश: त्यो स्थिति रहेन । त्यसपछि समाजमा विवाहपश्चात् पनि गोप्य सम्बन्धहरू कायम राख्ने प्रचलन सुरु भयो पनि । त्यस्ता गोप्य सम्बन्धहरू चाहे विवाहअघिका हुन् वा पछिका मानिसहरू त्यो कार्य लुकेर समाजसँग बचेर गर्न चाहन्थे । त्यस सम्बन्धमा परपुरुष या महिलासँग शारीरिक सम्बन्ध राखिए पनि आ–आफ्ना परिवारप्रति उनीहरू सम्वेदनशील र जिम्मेवार नै देखिन्थे । अबको जुन सम्बन्धहरू देखिन थालेको छ, यो सम्बन्ध विगतको भन्दा एकदमै पृथक छ । अब मानिसहरू खुलमखुला ढङ्गले स्वतन्त्रपूर्वक नयाँ शारीरिक सम्बन्ध कायम राख्न र विवाहअघि नै एकै स्थानमा बसेर सेक्सलाई स्वीकार गर्नसमेत तयार देखिँदै छन् । यो परम्पराले निरन्तरता पाउँदै जाँदा आउने समाजमा के–कस्ता दुस्प्रभावहरू निम्तिने छन् ? समाजशास्त्रीहरूले अध्ययन गर्ने समय आएको छ ।
मैले करिब आठ महिना पहिल्यै एक अनौठो समस्या सामना गरेको थिएँ । मसँग परिचय राख्ने व्यक्ति केही वर्षका लागि अरब गएर दु:खकष्ट मिहिनेतका साथ नेपालमा पैसा पठाउँदै गएछन् । पठाएको पैसाबाट सानो काठमाडौंमा बास पनि जोडेछन् । तर, उनकी श्रीमती अरूसँग लागेकी रहिछन् । श्रीमान् विदेश बसुन्जेल उनको परपुरुषसँगको सम्बन्धमा बाधा परेनछ । तर, श्रीमान् फर्कने भएपछि त्योभन्दा पहिल्यै उनी त्यस केटासँग भागी हिँडिछिन् । परिवारका खुसीका लागि अरबको तापक्रममा काम गर्ने श्रीमान्को फर्कंदा उनको सम्पत्ति केही भएनछ । किनकि उनले कमाएको सम्पूर्ण सम्पत्ति श्रीमतीको नाममा राखिदिएका रहेछन् । ती श्रीमान् मकहाँ सके श्रीमतीसमेत नसके कमसेकम आफ्नो घर फिर्ता पाउन सहयोग गरिमाग्न आएका रहेछन् । श्रीमान् कति सरल थिए भनी अझै पनि उनले आफ्नी श्रीमतीलाई दोष नदिई उनलाई लैजाने त्यो फटाहा केटोप्रति मात्र गुनासो गरिरहेका थिए ।
यस्तै मैले अर्को घटना पनि देखेँ । श्रीमती अमेरिका गएकी रहिछिन् र श्रीमान् नेपालमा । श्रीमतीले सानो बच्चा पनि छोडेर गएकी रहिछिन् । श्रीमान्लाई त्यो बच्चाको पालनपोषण गर्ने जिम्मा दिएर उनी भने रातदिन विदेशमा परिश्रम गरिरहेकी रहिछिन् । श्रीमान्ले बच्चाको स्याहारसुसार र पढाइलाई भनेर प्रसस्त पैसा मगाउँदा रहेछन् र यहाँ फेरी–फेरी त्यो पैसाले केटी घुमाउने काम पनि गर्दारहेछन् । श्रीमती यति सोझी थिइन् कि केही दिन नेपाल आउँदा उनले यस्ता सम्बन्धको कुरा सुनेपछि उनको रिस पतिमाथि भन्दा पनि उनको जीवनमा फेरी–फेरी आउने महिलासँग बढी थियो । आज समाजमा अनैतिक सम्बन्धका अनेकौँ कारण देखिन्छन् । ती कारणहरू भएर पनि धेरै पुरुष तथा महिलाले आफ्नो नैतिकताको सीमा कोरेर त्यसभित्र आफूले आफूलाई बाध्न सफल भएका छन् । हिजोको दिनमा सेक्सलाई कसरी मर्यादित रूपमा उपभोग गर्नुपर्छ भन्नेबारे सामाजिक मान्यताले पनि सीमा निर्धारण गरेको थियो । तर, आजभोलि नयाँ पुस्ताले त्यो सीमा क्रमश: उल्लङ्घन गर्दै गएका छन् । यो उल्लङ्घन हुनुमा हाम्रो सामाजिक मूल्य र मान्यता क्रमश: समाजबाट विस्थापित भएर जानु मात्र होइन, आज त्यसरी सीमा नाघ्न बाध्य बनाउने नयाँ–नयाँ मजबुद कारण पनि बढ्दै गएका छन् । श्रीमान् वा श्रीमती लामो समयका लागि बाहिर विदेशमा जानु, अध्ययनका लागि एक्लै केटा–केटी युरोप–अमेरिकाजस्ता टाढाका मुलुकहरूमा पुग्नु, जागिरका दौरानमा घर छोडेर धेरै समय बाहिर बस्नु, पति–पत्नीबीच यौन सन्तुष्टि प्राप्त गर्न नसक्नु, कमाइधमाइ गर्न थालेपछि लोग्ने मानिस जस्तै आइमाईहरूले पनि स्वतन्त्र जीवन यापन गर्ने चाहना राख्नु आदि यस्ता स्थितिहरू हुन् जहाँ व्यक्तिले यौन सम्बन्धमा बनाइएका निश्चित नैतिकताका बन्धनहरू तोड्न सक्छन् ।
धेरै पतिपत्नी यो समाजमा छन् जो लुकेर परपुरुष, परस्त्री वा अन्यसँग यौनसम्पर्क राख्छन् । धेरै केटाकेटी जो विदेशमा पढ्न गएको वा काम गर्न गएको केही समयमै पतिपत्नीजस्तै गरी साथसाथै बसिरहेका छन् । धेरै कामदार वा कर्मचारी जो सरुवा भएको ठाउँमा नै नयाँ सम्बन्ध बनाइरहेका छन् । धेरै महिला तथा पुरुष यस्ता पनि छन् जो विवाह गर्न रुचाउँदैनन् तर सेक्स पार्टनर राख्न चाहन्छन् ।
मलाई लाग्छ अवैध यौनसम्पर्कको स्थिति नेपालमा पनि विगत दश–पन्ध्र वर्षदेखि बढ्दै गएको छ । तर, त्यो एक सीमाभित्र बाँधिएर रहन बाध्य थियो । तर, जबदेखि पति–पत्नीमध्ये एक लामो समयका लागि र युवक–युवतीहरू पढाइका लागि बाहिर जाने प्रचलन सुरु भयो त्यसपछि एउटा नौलो समस्या हाम्रो समाजमा पनि भित्रियो । विदेशमा गएका पति वा पत्नी बाध्यताबस सेक्स पार्टनर खोज्न विवश भए । जसले आफ्नो शारीरिक आवश्यकतालाई दबाउन सनेनन् ती भड्किए । विदेशमा अध्ययन गर्न जानेलाई पनि सहारा आवश्यक भयो र धेरैजसो पार्टनर बनाउन बाध्य भए । यसले गर्दा विदेशमा जाने केटा–केटीलाई विवाह गर्ने रहन नै हुन छाड्यो । किनकि विवाहपश्चात् सेक्सप्रतिको आकर्षण उनीहरूमा भएन । त्यसैगरी लामो समय विदेश जाने श्रीमान्–श्रीमतीका पति–पत्नीले अरूलाई नै जीवन सुम्पन थाले । हिजो हामी जवान हुँदा सेक्सको परिचय वंशको निरन्तरता र विवाहपश्चात्को नयाँ सुखद अनुभवसँग जोडिएको थियो तर आज क्रमश: यो विवाहपश्चात्को सुखद अनुभव भएर रहन बिरलै प्रतिशतमा मात्र सफल भएको छ । जहाँसम्म वंशको निरन्तरताको सवाल छ, महँगी र त्यसमा आउने झन्झटहरूले युवाहरूले वंश निरन्तरताप्रति अरूचि राख्दै गएका छन् । विवाहपश्चात् हुने रोमाञ्चकारी अनुभव पनि बाँकी नरहने हुँदा समाजमा विवाह नै गर्न नचाहने परम्परा पनि बढ्दै छ । त्यसमाथि अब अर्को एक नयाँ अध्ययन पनि सुरु भएको रहेछ । निश्चित अवधिका लागि प्रेमी–प्रेमिका हुने । वर्ष, महिना दिन जे होस् एउटा नौलो सम्बन्ध यौनका क्षेत्रमा नेपाली समाजमा कसैले थाहै नपाउने गरी प्रवेश गरिसकेको रहेछ । निश्चित छ आउने दिनहरूमा यो नौलो अभ्यासले लाखौँ घरपरिवारलाई अशान्त बनाउने मात्र होइन, हजारौँ जोडी बीचैमा टुट्नेछन्, भ्रुण हत्या बढ्ने छ र लाखाँै बालबालिका आमाबाबु दुवैको समान मायाबाट बन्चित हुनेछन् । त्यति मात्र होइन, यो समाजमा मानसिक रोगी, अपराध र घरायसी हिंसाका साथै आत्महत्याका घटना पनि बढ्ने छ । यो त भयो आउने समाजको सम्भावित दृश्य । तर, आउने दिनसँग निश्चिन्त रहेका ती भाइ र उनकी प्रेमिका भने फिलहालका लागि खुसी नै देखिन्छन्, दुईवर्षे प्रेममा नेपाली समाजमा यौन सम्बन्धको क्षेत्रमा एउटा नयाँ इतिहास बनाउँदै ।