चौथो नेपाली मेला भव्यताका साथ सम्पन्न

चौथो नेपाली मेला भव्यताका साथ सम्पन्न


लण्डन / रिचमोण्ड एथलेटिक्स ग्राउण्ड, लण्डनमा हिजो आइतवार, २६ अगस्त २०१२को दिन अत्यन्त भव्यता साथ दशौ हजार नेपालीहरुको सहभागितामा सम्पन्न भएको थियो । सफा मौसम, समरको अन्तिम समयमा सम्पन्न यो नेपाली मेला सदाझैं नेपालीहरुको गौरव बोकेर एउटा सानो नेपालको सृजना रिचमोण्डको विशाल मैदानको घेराभित्र गरिरहेको झै प्रतीत भएको थियो । तीन दर्जनभन्दा बढी नेपालीपन् बोकेका आस्था र अस्तित्वको इन्द्रधनुषी नेपाली रङ्हरुले मैदानको चौतर्फी एउटा सानो नेपाल उदाएको थियो । चन्द्र सूर्य अङ्कित झण्डाहरुले मनको अन्तरकुनामा देशप्रतिको सम्झना, माया र श्रद्धाका फूलहरु सुवासित भएझैं लाग्दथ्यो । तमूधिं युकेका अध्यक्ष मुक्षेत्र गुरुङको अध्यक्षतामा सम्पन्न यो विशाल नेपाली मेलाको चौथो संस्कारणलाई तमूधिं इकाई ह्याम्पशायरका अध्यक्ष ले.रि. यादप गुरुङले संयोजन गरेका थिए । सयौ संघसंस्थाका स्टलहरु मैदानको घेराबाहिरको परिसरभित्र सज्जिएका थिए । चारैतिर रङ्गीविरङ्गी नेपालीहरुको जातीय पोशाकमा अनेकौ व्यानर र झण्डाहरु बोकेर समूह समूहमा महिलाहरु, पुरुषहरु, बृद्ध—बृद्धाहरु, नेपाली किशोर, किशोरी बालकबालिकाहरु उत्सुकताका साथ झाँकीमा सरिक हुनका लागि लामबद्ध भएर उभेका देखिन्थे । मानौ यो नेपालीहरुको तीर्थस्थल प्रतीत भैरहेको थियो । लण्डनको ट्राफिक व्यस्तताले गर्दा केही पाहुनाहरु उपस्थित हुन ढिलो भएकोले कार्यक्रम समयभन्दा केही ढिलो सम्पन्न भएको थियो । प्रथम चरणको कार्यक्रमलाई तमूधिं युकेका महासचिव ज्ञाम गुरङ र सदस्य पुष्पा गुरुङले सञ्चालन गरेका थिए । सर्वप्रथम कार्यक्रम सञ्चालन हुनुअघि सुरक्षासम्बन्धी यस कार्यक्रमका सहसंयोजक राजु गुरुङले कार्यक्रम अवधिमा केही दुर्घट्ना अथवा आगलागी भएको अवस्थामा अप्नाउनु पर्ने नियमहरु उपर प्रकाश पारेका थिए । त्यसपछि ज्ञाम गुरुङ र पुष्पा गुरुङले कार्यक्रमबारे संक्षिप्त रुपमा प्रकाश पारेपछि कार्यक्रमको सामूहिक उद्घाटन हुनुअघि नेपाल र बेलायतको राष्ट्रिय गीतहरु बजाउँदा सहभागी सबै उभेका थिए । नेपाली मेलाको प्रतीक गीत सर्जक तथा कार्यक्रमको ६ जना उद्घोषक मध्येका एक जना सूर्य गुरुङलाई परिचय दिदै उनलाई मञ्चमा यस गीतबारे केही मन्तव्य प्रकट गर्न बोलाइएको थियो । यस कार्यक्रमलाई ६ जना उद्घोषकहरु क्रमश खगेन्द्र नेपाली, बिमला, सुस्मिता, लारा, सूर्य तथा योगेश गुरुङले दिशा दिएका थिए । यस कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. सुरेश चन्द्र चालीसे थिए तथा विशेष अतिथिहरुमा रिचमोण्डका मेयर रिता पामर, बेलायतका माथिल्लो सदन अर्थात हाउस अफ लर्डका सदस्य लर्ड रोजर स्विफेन र नेपाली राष्ट्रगीतका सर्जक व्याकुल माइला थिए । बेलायत भरिका धेरै संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु यस मेलामा अतिथिको रुपमा सहभागी थिए । मञ्चमा सामूहिक उदज्ञघाटनका लागि तमूधिं यूकेका अध्यक्ष, प्रमुख अतिथि तथा विशेष अतिथिहरुका बाहुलीबाट रिबन काटेर सम्पन्न गरेको थियो । सोही अवसरमा सूर्य गुरुङद्वारा रचित नेपाली मेलाको गीत पाश्र्वमा बजाइएको थियो । त्यसपछि झाँकी कार्यक्रम शुरु हुनुअघि नेपाली मेलाका संयोजक ले.रि. यादप गुरुङ तथा तमूधिं यूकेका अध्यक्षले यस कार्यक्रमलाई सफल पार्नका लागि सहभागिता जनाएकोमा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
शुरुको वर्षमा तमूहरुको महान पर्व ट्वटेपर्वलाई जगेर्ना गर्ने अथवा यसलाई सामूहिक रुपमा मनाउने उद्धेश्य रहेता पनि पछिल्लो वर्षहरुमा नेपालीको आस्था, अस्तित्व तथा संस्कृतिको जगेर्ना गर्दै नेपालीहरुलाई एउटै सूत्रमा बाँध्ने उद्धेश्य लिएर तमूधिं यूकेद्वारा पहल गर्दै मनाउँदै आएको यो नेपाली मेलाले प्रत्येकवर्ष बृहत आकार लिएर अघि बढिरहेको महशुस सबैलाई भएको छ ।
कार्यक्रमको झाँकी र नृत्य प्रतियोगिताका लागि ६ जना जजहरु क्रमश तमूधिं युकेका सल्लाहाकार तथा विभिन्न नेपाली संघसंस्थाहरुमा आबद्ध रहेका सुमल कुमार गुरुङ, एनआरएनएको केद्रीय कार्यकारी समितिका सदस्य राम शरण शिंखडा, भूपू एनआरएन प्रशान्त क्षेत्रीय संयोजक गणेश ईजम, गायक विवेक श्रेष्ठ, मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष तथा साहित्यकार दुत पुन तथा सितु खरेल थिए । समग्रमा ३३ वटा स मुहका झाँकीहरु र झण्डै दुई दर्जन सामूहिक नृत्यहरु थिए । झाँकीहरुमा विशुद्ध नेपालीपन् झल्काउने र मन छुने खालको प्रस्तुति थियो । झाँकीहरुको प्रस्तुतिपछि आधा घण्टाको विश्राम भएको थियो । त्यसपछि विविध नृत्य प्रतियोगताहरु सम्पन्न भएको थियो । रिचमोण्डका मेयर रिता पामार आफ्नो काम विशेषले गर्दा झाँकीहरु प्रस्तुति भइरहेको बेला छोटो मन्तव्य तथा कार्यक्रमको सफलताको कामना गरेर विदा लिएकी थिईन् ।
समयको अभावको कारणले गर्दा पछिल्लो चरणको नृत्यहरु स्थगन गरी प्रमुख अतिथि तथा विशेष अतिथिबाट मन्तव्यहरु राखेका थए । अन्तमा लटरीको कार्यक्रम सञ्चालन गरेको थियो । प्रतियोगिताको निर्णय नृत्य र झाँकी शामेल गरेर गरिएको थियो । झाँकी तथा नृत्य प्रतियोगितामा पुन समाज यूके प्रथम, रिडिङ तमूधिं द्वीतीय तथा लण्डन तमूधिं इकाईले तेश्रो स्थान प्राप्त गरेका थिए । कार्यक्रम समापनपछि तमूधिंका कार्यकर्ताहरु अबेर रातिसम्म त्यहाँका तमाम सफाइ र सबै व्यवस्थापनका समानहरु सही ठाउँमा पुर्याउन खटेका थिए । फेरि अर्को वर्ष भेट्ने गरी कार्यक्रम समापन गरिएको थियो ।— सुमल कुमार गुरुङ, मेस ।
Click here to view the whole album. If you want the bigger size of any pictures in this album, please call Bisan at 07703722703