—एनपी साउद(नेता, नेपाली काङ्गे्रस)
नेपाली काङ्गे्रसका सभापति सुशील कोइरालाले पार्टीका विभाग र अञ्चलप्रमुख गठन गरेपछि धौलागिरि अञ्चलको संयोजकका रूपमा जिम्मा दिइएका युवा नेता एनपी साउदले प्रक्रिया अवैधानिक भन्दै तत्कालै राजीनामा दिनुभयो । वरिष्ठ नेता शेरबहादुर देउवानिकट मानिनुहुने केन्द्रीय सदस्य साउदसँग घटना र विचार प्रतिनिधिले ‘तपाईंहरूले महाधिवेशन प्रतिनिधिले चुनेर सभापति बनाएका सभापतिलाई असहयोग र उहाँको अस्तित्व स्वीकार नगर्नुभएको हो ?’ भनी जिज्ञासा राख्दा नेता साउदले बाह्रौँ महाधिवेशनमा नेपाली काङ्गे्रसले प्रजातान्त्रिक अभ्यास गरेकै हो, प्रजातान्त्रिक पद्धतिबाट सभापति निर्वाचित सुशील कोइरालालाई हामीले नेता र सभापति दुवै स्वीकार गरेका मात्र नभई विधानबमोजिम उहाँले गरेको निर्णय र नीति–निर्देशन पनि मानेकै हौँ भन्ने कूटनीतिक जवाफ दिनुभयो । प्रस्तुत छ महेन्द्र पाण्डेयसँग नेता साउदले गर्नुभएको कुराकानीका प्रमुख अंश ।
० वरिष्ठ नेता शेरबहादुर देउवाले हरेक पाइलामा भाँजो हाल्न खोजेजस्तो देखिन्छ नि, यसले निर्वाचित सभापतिलाई काम गर्न अप्ठ्यारो परेको छैन र ?
– शेरबहादुर देउवाले भाँजो हाल्यो भन्नु गलत हो । पार्टीको विधान र सहमतिका कुरा गर्दै भाँजो हुन्छ भने म त्यसलाई केही भन्दिनँ । होइन भने शेरबहादुर देउवाले सभापति कोइरालालाई सल्लाहबमोजिम पार्टीलाई अगाडि बढाऔँ भन्दै आउनुभएको छ । बरु सभापतिजीले म निर्वाचित सभापति भएकाले मेरो चाहनाबमोजिम काम गर्न पाउनुपर्छ भनेर पार्टीभित्र एक्लै हिँड्न खोजिरहनुभएको छ ।
० कहिले तरुण, विद्यार्थी त कहिले विभाग भन्दै देउवाले खाली खोचे थाप्ने गरेको आरोप छ नि त ?
– नेपाली काङ्गे्रस प्रजातान्त्रिक पार्टी भएकाले वाद–विवाद, बहस हुनु स्वाभाविक हो । पार्टीलाई एकल सोचले होइन सबैको चिन्तन र छलफलअनुसार अघि बढाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । अहिले मुलुक अत्यन्त विषम स्थितिबाट अघि बढिरहेको छ, यस्तो बेला सभापतिजीले पार्टीका सबै साथीसँग सल्लाह गरेर अघि बढ्नुको सट्टा विधानविपरीत निर्णय गर्दै अघि बढेकोले हामीले ट्रयाकबाट हिँड्न आग्रह गरेका हौँ । खोचे थाप्ने काम गरेका छैनौँ ।
० सभापतिप्रति तपाईंहरू आक्रामक शैलीले प्रस्तुत हुने र बैठकमा नोट अफ डिसेन्ट लेख्ने प्रक्रियाले काङ्गे्रसलाई कहाँ पुर्याउला ?
– हाम्रो सुझाव र चाहनाअनुसार सभापतिले प्रभावकारी रूपले काम गर्नुभयो भने त्यसको प्रभाव सिङ्गो मुलुकलाई पर्छ भन्ने हो । अहिले जनताले काङ्गे्रसको नेतृत्व के गर्छ भनेर हेरिरहेका छन् । यस्तो बेला तरल राजनीतिलाई सही दिशा दिनका लागि नेपाली काङ्गे्रसमाथि चुनौती आइपरेको छ । पार्टीभित्र तेरो, मेरो नभनीकन चुनौतीलाई पार गर्नुपर्नेमा सभापतिजीले विधानविपरीत आफ्नै ढङ्गले अघि बढेका कारण हामी बाध्य भएर नोट अफ डिसेन्ट लेखेका हौँ । यतिखेर काङ्गे्रसले सत्ताको नेतृत्व गर्ने कुरा गरे पनि सत्ता चलाउने सामथ्र्य र कौशल दुवै गुमाएको त होइन भनेर भन्ने आशङ्का प्रकट हुन थालेको छ ।
० बाबुराम भट्टराई नेतृत्वको सरकारले अध्यादेशबाट देश चलाउने र निरङ्कुश शैली अपनाइरहेको बेला त्यसको प्रतिकार गर्नुपर्नेमा घरझगडामै अल्मलिनु काङ्गे्रसका लागि कति सुहाउने कुरा हो ?
– तपाईंले गरेको प्रश्न सत्य हो । योबेला हामी एकीकृत माओवादीको सर्वसत्तावादका विरुद्ध एक भएर लाग्नुपर्ने थियो । तर, दुर्भाग्य हामी आपसी किचलोमै रुमलिएका छौँ । यस्तो गम्भीर परिस्थितिमा काङ्गे्रसजस्तो पार्टी आन्तरिक झगडामा अल्मलिन नहुने थियो । नेतृत्वले झगडा मिलाउनभन्दा पनि त्यसलाई मलजल गरेर अझ बल्झाउन लाग्नु अत्यन्तै चिन्ताको विषय हो । सिद्धान्तमा काङ्गे्रस एक छौँ र सहमत पनि छौँ । नेतृत्वको कार्यशैलीप्रति हाम्रा गुनासा भने फरक छन् । महाधिवेशनमा एकले हार्ने र अर्कोले जित्ने अवश्य भयो । जितेर आएको नेतृत्वलाई सबैले सहयोग गर्नुपर्छ त्यो पनि सत्य हो । तर, सहयोग गर्ने वातावरण नै नबनाएपछि के गर्ने ? पार्टीभित्रको आन्तरिक विवादलाई बाहिर जान नदिई मिलाउने काम नेतृत्वको हो । यहाँ त्यस्तो हुन नसकेका कारण पार्टीभित्र आन्तरिक झैझगडा भएको हो ।
० प्रजातान्त्रिक पार्टीभित्र अप्रजातान्त्रिक गतिविधि भएको भन्न मिल्छ ?
– हामी अरू पार्टीलाई प्रजातन्त्रको पाठ सिकाउँछौँ तर दुर्भाग्यका साथ भन्नुपर्छ हामै्र पार्टी आन्तरिक प्रजातन्त्रमा कम्युनिस्टहरूभन्दा पनि कमजोर बन्दै गएको छ । हिजो हामीले अधिनायकवादी भनेर भन्ने कम्युनिस्ट पार्टीभित्र आन्तरिक प्रजातन्त्रको ज्यादै अभ्यास भएको पाइन्छ । जन्मँदै प्रजातान्त्रिक बनेर जन्मिएको काङ्ग्रेस पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर छ भनेर भन्नु लाजमर्दो विषय हो तर बाध्यताबस सत्य कुरा भन्नैपर्ने हुन्छ ।
० पार्टीमा यति धेरै युवा नेतृत्वमा आउनुभएको छ, नेतृत्वलाई घचघच्याउन सक्नुहुन्न ?
– मान्छे उमेरले मात्र युवा भएर हुँदोरहेनछ, उसको विचार पनि युवा हुनुपर्छ । गिरिजाबाबु यो धर्तीमा रहँदासम्म सधैं युवा रहनुभयो । तर, यहाँ भएका कतिपय युवाका विचार वृद्ध छन् । त्यसैले विचार परिवर्तन नभएसम्म केही गर्न सकिँदो रहेनछ । हाम्रा नेताहरू पनि पुरानै कायैशैलीबाटै अगाडि बढ्न खोजिरहनुभएको छ कि भन्ने भान हामीमा पर्न थालेको छ । नयाँ पुस्ताको नयाँ सोच र चिन्तनलाई नेतृत्वले आत्मसात् नगरेकै कारण पनि यसरी विवाद बढेको हो ।
० नयाँ पुस्ता पनि त गुट–उपगुटमा लागेको छ नि, होइन र ?
– हामीले गुट–उपगुटमा लागेर होइन कि पार्टीभित्र देखिएको ठाडो चिरालाई हटाएर तेस्रो नेतृत्वको अभ्यास गर्नुपर्छ भन्नेमा लागेका छौँ ।
० पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न तपार्इंहरूको पनि त भूमिका हुन्छ नि, के गर्नुभएको छ ?
– नेतृत्वले प्रायोजित रूपमा ठाडो हिसाबले लैजाने काम गरिरहेको छ । तपार्इंले भनेझैं गुटबन्दीबाट पार्टीलाई मुक्त पार्न हामी युवाको काँधमा जिम्मेवारी छ, त्यो सत्य हो । युवाहरू पनि विभिन्न खेमामा विभाजित भएको सबैले देखेको कुरा हो । दुई धारमा विभाजित युवालाई मिलनबिन्दुमा ल्याएर एक बनाएर नेतृत्वलाई कडा दबाब दिने हाम्रो अभियान चलिरहेको छ । हाम्रो त्यो अभियान र चाहना सोचअनुसार पूरा हुन सकेको छैन ।
० वरिष्ठ नेता देउवालाई उकास्नेमा तपाईं पनि पर्नुहुन्छ भनिन्न्छ नि सत्य के हो ?
– मलगायत दुवैतर्फका केही युवा साथीहरू पार्टीभित्रको आन्तरिक झगडा मिलाउन लागिरहेका छौँ । हाम्रो पार्टीमा एउटा पुरानो रोग के छ भने जसले निस्वार्थ एकताको लागि भूमिका खेल्छ उसैलाई निरुत्साहित गर्ने र एउटा छाप लगाइने गरिन्छ । कसैले इमानदारी साथ नेताहरूलाई मिलाउन खोजिरहेको छ भने सडकमा उसका विषयमा नानाथरीका टिप्पणी गर्ने ऐंजेरूहरूका कारण पनि पार्टी सोचेजति एकता कायम गराउन सकिएको छैन । तपाईंले प्रश्न गरेकै उत्तर दिनुपर्दा जसले काङ्गे्रसका नेताहरूलाई हजुरिया गरेर अघिपछि गरेका छन् त्यस्ताले यस्तै कुरा गर्दै हिँडेको मैले पनि सुन्ने गरेको छ ।
० नेपाली काङ्ग्रेस पार्टीमा गिरिजाबाबुको आवश्यकता खट्किएको प्रतिक्रिया दिनुभएको थियो, सत्य हो ?
– गिरिजाबाबु रहँदासम्म उहाँले सधैं एउटा लक्ष्यलाई निर्धारण गरेर अघि बढ्नुहुन्थ्यो । त्यसैले त्यतिखेर उहाँको अभाव खड्किएको यथार्थ हो । लक्ष्यअनुसार त्यो प्राप्त गर्नका लागि गिरिजाबाबु कसैसँग सम्झौता नगरी तम्तयारी अवस्थामा अघि बढ्नुहुन्थ्यो र त्यो पूरा पनि हुन्थ्यो । यतिखेर लक्ष्यबिना तयारी गर्न खोजिएकोजस्तो देखिएकाो छ । यस्तो बेला गिरिजाबाबुको आवश्यकता कताकता खड्किएको सत्य हो ।
० अन्त्यमा भन्दिनुस् त काङ्ग्रेसभित्रको किचलो समाप्त पार्न के गर्नुपर्ला ?
– सभापति सुशील कोइरालाले गणेशप्रवृत्तिका मान्छेका कुरा नसुनेर चौडा छाती बनाएर आउने हो भने एक मिनेटमा काङ्ग्रेसभित्रको किचलो समाप्त भएर जान्छ । शास्त्रीय धुन र कुटिल बोलीले पार्टी एक हुँदैन भन्ने कुरालाई सभापतिले बुझ्नुभएकै छ । तर, त्यसलाई अब व्यवहारमा उतारेर पार्टी एक हुनुपर्छ । काङ्ग्रेस एक नभएसम्म मुलुकको संस्कारले पनि निकास पाउन सक्तैन ।
टुक्र्याउँछौं भन्नेहरू नै टुक्रिएर जानेछन्—मान महन्थ जगन्नाथ दास वैष्णव
(मटिहानीस्थान, महोत्तरी)
० महन्थज्यू तपाईंहरू धर्मको रक्षा गर्न भनेर लागिरहनुभएको छ, तर देशमा त धर्मको साटो पाप बढेर गयो नि, किन होला ?
– पहिलो कुरा त युग नै यस्तै आएर पनि होला, असत्य र अधर्म बढेर गएको । देशको अवस्था पनि त्यस्तै छ । सबतिर भ्रष्टाचार बढेको छ । राजनीति पनि सत्यमा चलिरहेको छैन, जालझेल र फट्याइँ नै बढी चल्न थालेको छ । तर, यसो भनेर हामीहरू पनि हात बाँधेर बस्ने हो भने त झन् बर्बाद हुन्छ नि ! जे–जसो भए पनि यस्तो अवस्था सधैं रहन सक्दैन, धर्म त फर्केर आउँछ–आउँछ ।
० राज्य नै ‘दानव’हरूको हातमा गयो भन्छन् आमजनता, कसरी धर्म फर्केला त ?
– यही कारणले त सनातन धर्मावलम्बीहरूलाई सचेत र जागृत गराइदिन्छ, त्यसैबाट त धर्मको पुनस्र्थापना पुनरागमन गर्न बल पुग्छ । ईश्वरको कृपा हुने नै छ, ईश्वरीय कृपाबाटै एक ठीक हुन्छ ।
० तर, बितेका ७–८ वर्षभित्रमै देशमा करिब ७–८ हजारको सङ्ख्यामा चर्चहरू खुलेको तथ्याङ्क छ, हिन्दू र बुद्ध धर्मावलम्बीहरू अल्पमतमा पर्ने सम्भावना बढ्दै छ भनिन्छ, तपाईंले के देख्नुभएको छ ?
– हामी हिन्दू अल्पमतमा छैनौँ, करिब ८५ प्रतिशत हिन्दू धर्मावलम्बी छन् मुलुकमा ।
० त्यो त हो, तर हिन्दू घट्ने र क्रिश्चियन बढ्ने क्रमले तीव्रता लिएको छ, यसलाई रोक्न तपाईंहरूले कुनै पहल गर्नुभएको छ त ?
– यो महसुस हामीले गरेका छौँ । यो रोक्न पहल पनि गरिरहेका छौँ र अझै गर्छौं पनि ।
० कस्तो पहल गर्नुहुन्छ त हिन्दुत्वको रक्षाका लागि ?
– यसैका लागि पनि हामीले सनातन सांस्कृतिक मञ्च खोलेका छौँ । यसमा भारत र नेपाल दुवैतर्फका हिन्दू र हिन्दुत्वका लागि समर्पित व्यक्ति–व्यक्तित्वहरू यसमा आबद्ध छन् । हिन्दूधर्म, संस्कृतिमाथि हुने कुनै पनि प्रहारविरुद्ध यही मञ्चमार्फत हामी आन्दोलन पनि गर्नेछौँ । समय आउनुपर्छ, जे गर्नुपर्छ हामी गर्ने नै छौँ ।
० समय कुर्दाकुर्दै ढिलो भइसकेन र ?
– ढिलो त पक्कै भएको हो । तर, यस्तो कर्ममा हतारो मात्र देखाएर पनि काम चल्दैन । ढिलो भए पनि हामी जे गर्छौं पक्का हिसाबले गर्छौं ।
० तपाईं मटिहानी मठमा हुनुहुन्छ, तर तराईमै पनि हिन्दूविरोधी धेरै सक्रिय देखिन थालेका छन् भनिन्छ नि ?
– पहाडको तुलनामा त तराईमा हिन्दूविरोधी गतिविधि कम नै छ । तर, तपाईंले भनेजस्तै सनातन हिन्दू र हिन्दुत्वमाथि दुष्प्रभाव पार्ने चेष्टा त्यता पनि भएकै छैन भनेर आँखा चिम्लिएर बस्न मिल्ने अवस्था भने पक्कै छैन ।
० तराईका राजनीतिक दलहरूले पनि हिन्दू र हिन्दुत्वको रक्षाका लागि केही गरेका छन् कि छैनन् ?
– गर्नुपथ्र्यो, चाहे धेरै गर्न सक्थे तर तराईका दलहरूले हिन्दू र हिन्दुत्वका लागि केही गरेका छैनन् । कुनै ध्यान नै दिएका छैनन् उनीहरूले । यसको फल उनीहरूले चुनावमा सम्भवत: चाख्नेछन् । किनकि धर्म, संस्कृतिलाई बिर्सेर, कुल्चेर हिँड्ने व्यक्ति, समूह या दल कसैले पनि शान्ति र समर्थन पाउँदैनन् ।
० तपार्इंहरू चुनावमा हिन्दूधर्म मान्नेहरूलाई मात्र अगाडि बढाउने सोच र तयारीमा हुनुहुन्छ कि कसो हो ?
– हाम्रो सनातन राष्ट्रिय संस्कृति मञ्चले पनि हिन्दूधर्म र सनातन हिन्दुत्वको रक्षाका लागि चुनावलाई उपयोग गर्ने सोच हामीले बनाएका छौँ । यस अभियानलाई सहयोग पुर्याउने, हिन्दू र हिन्दुत्वका लागि मरिमेट्ने पात्रलाई छनोट गरी हामी उम्मेदवार पनि खडा गर्नेछौँ । नेपाललाई हिन्दू राष्ट्र तुल्याउन हरदम कोसिस गरिरहनेछौँ हामी ।
० यतिबेला नेपालमा जुन प्रकारको राजनीति चलिरहेको छ, धर्मनिरपेक्षताको जोडतोडले वकालत गरिएको छ, यस्तोमा फेरि देशलाई हिन्दूराष्ट्र घोषित गर्न सक्ने ठान्नुहुन्छ तपार्इं ?
– वर्तमान राजनीतिकर्मी वा नेताहरूप्रति जनताको विश्वासै छैन । नेताहरूबाट केही काम हुन सकेन, त्यसैले अब साधु–सन्तको हातमा आउनुपर्छ भन्ने आवाज उठ्न थालिसकेको छ । यस्तो आवाज मुखरित हुँदै गएपछि हिन्दूराष्ट्र पुन: घोषित हुन नसक्ने भन्ने त देख्दिनँ म ।
० साधु–सन्तको हातमा देश कसरी आउला त खै ?
– शास्त्रहरूमा हामीले पढेका छौँ कि समय–कालअनुसार शासनमा पनि फेरबदलहरू हुन्छन् । अति भएपछि अधर्मी, भ्रष्टहरूको पतन अवश्य हुन्छ र साधु, न्यायधर्मीको हातमा शासन पुग्छ, पुग्नैपर्छ । हामीलाई विश्वास छ कि यहाँ पनि त्यस्तो दिन आउँछ । परिस्थितिले नै साधु–सन्तको हातमा शासन सुम्पन बाध्य तुल्याउनेछ । हिन्दुत्वले नै शासन गर्नेछ ।
० तपाईं यसो भन्नुहुन्छ, यहाँ त राज्यलाई नै टुक्राटुक्रामा विभक्त गर्ने तयारी चलिरहेको छ, यसो भएपछि कसरी आउँछ त हिन्दुत्व ?
– यसरी टुक्रा–टुक्रामा देश विभक्त हुन्छ भन्ने कल्पना हामीले गरेका छैनौँ । तपार्इंहरू हेर्दै जानुस् कहिल्यैै पनि यो देश टुक्राटुक्रामा बाँडिने छैन, हिमाल, पहाड, तराई जे जसरी अहिले एक छ त्यसरी नै यो देश कायम भइरहन्छ ।
० नेताहरूले त नटुक्र्याई नछोड्ने भनेका छन् नि त ?
– त्यसो भन्ने नेताहरू आफैं टुक्रिएर समाप्त हुनेछन् । जो नेतासँग इमानदारी छैन, उससँग सन्तोष या शान्ति पनि रहँहैन र त्यस्तासँग शक्ति पनि रहँदैन । शक्ति हातमा नहुनेले टुक्र्याउने कुरा गरेर कसरी टुक्रन्छ ?
० हिमाल, पहाड र तराईलाई एकै सूत्रमा बाँधेर राख्ने के सूत्र छ नि तपाईंहरूसँग ?
– सूत्र यही नै भनेर प्रतिपादन गरिएको अवस्था त होइन तर यही सनातन संस्कृति मञ्चमा एकजुट भएर हामी एकताबद्ध भाव सञ्चार गराउन क्रियाशील हुनेछौँ ।
० धेरै सनातनीलाई द्वन्द्वकालमा माओवादीले मार्यो, अहिले पनि खेद्ने काम भइरहेको छ । राज्यले तपाईंहरूलाई होइन तपाईंहरूका विपरीत सोच राख्नेहरूलाई नै प्रोत्साहित गरिरहेको छ । उनीहरूसँग गोलीगठ्ठा नै छ भने कसरी प्रतिवाद गर्न सक्नुहुन्छ त तपाईंहरू ?
– धर्मशास्त्र तथा मन्त्रतन्त्रमा जति शक्ति हतियार र गोलीगठ्ठीमा हुँदैन । हामीले लड्ने सत्यको हतियारले हो, शास्त्रको मतले हो । त्यस्ता हतियारलाई परास्त गरेर लड्ने ताकत छ शास्त्रीय संस्कारमा, हिन्दू र हिन्दुत्वमा । ५/६ महिनामै हामी आफ्नो प्रभाव देखाइसक्नेछौँ । हिन्दू सनातन राष्ट्र बनाउन हामी लाग्छौँ सफल पनि हुन्छौँ ।
० ०६३ सालमा राजनीतिक दलहरूले गणतन्त्र ल्याए, त्यसपछि देशको अवस्था यति छिट्टै यस्तो होला भन्ने लागेको थियो तपाईंहरूलाई ?
– शास्त्रमा यो सब वर्णन भइसकेको छ । कहिले के हुन्छ कस्तो परिस्थितिमा कस्ता परिणाम देखिनेछन् भनेर हामीले पढिसकेकाले अहिले यस्तो भयो भनेर कुनै आश्चर्य हामीलाई लागेको छैन । मानिस मारेर सत्तामा आउने, लुट्ने, भ्रष्टाचार गर्ने, जनतालाई झन् आहत तुल्याउने, कुनै विकासका काम नगर्ने जो प्रवृत्ति देखिाएको छ– यस्तो हुन्छ भन्ने मानसिकता हामीले बनाइसकेका थियौँ ।
० नेपालमा यसरी धर्म नास हुँदै जानुको मुख्य कारण के होला भन्ने ठान्नुहुन्छ तपाईं ?
– धर्मको ६ वटा सूत्र छ, सत्य बोल्नु, इमानदार र सन्तोषी बन्नु, मातृदेवो भव:, पितृदेवो भव:, अतिथि देवो भव:, गुरुदेवो भव: यो हाम्रो सनातन धर्मको मान्यता हो । यसअनुसार हिँड्ने व्यक्तिको कल्याण हुन्छ, ऊ सुखी रहन्छ, यसविपरीत हिँड्नेले क्षणिक सफलता पाएजस्तो देखिए पनि उसको अन्तत: पतन हुन्छ । आज क्षणिक सुख र सफलताका लागि मरिमेट्ने आसुरी प्रवृत्ति बढेकाले धर्म नष्ट हुँदै गएको देखिएको हो ।
० तपार्इंले चुनावमा पनि धार्मिक व्यक्तिहरूलाई सहयोग गरेर जिताउँछौँ भन्नुभयो, तर मधेसकेन्द्रित दलहरू र अन्य शक्ति मिलेर आफैं जित्ने भन्दै छन्, तपाईंको पक्ष पराजित नहोलान् र ?
– हाम्रोसामु कसैको जोड चल्ने छैन भन्ने विश्वास लिएको छु मैले ।
० धार्मिक गुठी, मठमन्दिर हेर्ने निकाय गुठी संस्थानको काम कस्तो छ, तपाईंहरूलाई सहयोग पुगेको छ त्यो निकायबाट ?
– गुठी संस्थान जुन उद्देश्यले ०२१ सालमा गठन भएको थियो त्यसले आफ्नो उद्देश्य र दायित्वअनुसारको काम गर्न सकेको छैन । यो त नेताहरूको खाने भाँडोजस्तो पो भइसकेको छ । मठ–मन्दिरको हालत बिग्रिरहेको छ तर जीर्णोद्धार गर्नेतर्फ कतै कदम चालेको छैन । महन्थलाई ‘मूर्ति’ बनाइदिएको छ, मानमर्दन गरिदिएको छ गुठी संस्थानले ।
प्रतिक्रिया