प्रिंकल र यिमिङ सफलता नेपालको चुनौंति समाप्त

प्रिंकल र यिमिङ सफलता नेपालको चुनौंति समाप्त


भारतकी प्रिंकल सिंह र चीनको यिमिङ दाङ नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट– २ अन्तर्गत महिला सिंगल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा प्रिंकलले नेपालकी मायांका राणालाई ६–१, ६–७(४) र ७–५ को सेटमा पराजित गरिन् । मायांकाको पराजयसंगै प्रतियोगितामा नेपालको चुनौती समाप्त भएको छ । त्यस्तै यिमिङले भारतकी तृषा विनोदलाई ६–३, ३–६ र ६–२ को सेटमा पराजित गरेका थिए ।

त्यस्तै हङकङकी चुई केई लिउङले भारतकि रुदया शाहलाई ६–४ र ६–० तथा जापानकी मियो कोजाकीले भारतकी सान्या सिंहलाई ६–१ र ६–१ को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

पुरुष सिंगल्समा कोरियाका जि हो लिले भारतका नाइथाउलिन केल्भिन गोल्मेइलाई ०–६, ६–३ र ६–४, मलेसियाका जियान कियोङ ताकेसी काइले जापनका केइजु मियाकेलाई ७–६(२) र ६–३, जापानका दाइसुके इनागावाले भारतका आर्यन जाभेरीलाई ६–२, ३–६ र ६–४ तथा जापानका ताइसेइ कागेयामाले चीनका वेन्माउ लिलाई ६–४ र ६–१ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए ।

पुरुष डबल्समा भारतका नाइथाउलिन र शशिकान्त राजपुत तथा भारतका अनुराग अग्रवाल र पोल्यान्डका मिचल वार्गोक्कीको जोडी उपाधिका लागि भिड्ने छन् । महिला डबल्समा चीनकी यिमिङ र जापानकी मानामीको जोडी फाइनलमा पुगे । अर्को सेमिफाइनल हुन बाँकी छ ।