हालै नेपाल प्रहरीमा नयाँ प्रहरी माहानिरीक्षकको नियुक्त भयो र यस नियुक्तिलाई सबैले सहज ढङ्गले नै लिएका छन् । प्रायगरी जो अधिकृत जुन एआईजीसँग बसेर काम गरेका छन् वा जो जुन एआईजीसँग काम गर्दा फ्रिक्योन्सी मिलेको महसुस गर्दछन् ती प्रहरी कर्मचारीहरूलाई आफूले रुचाएका, आफूलाई बुझेका, आफूलाई माया गर्ने, आफूलाई अघि बढाउन खोज्ने, एआईजी नै प्रहरीको सर्वोच्च पदमा पुगुन् भन्ने लाग्नु स्वाभाविकै हो । तर, जब त्यसमध्ये कुनै एक एआईजी प्रहरी महानिरीक्षक बन्छन् त्यसपछि त्यस्ता चाहाना त्यहीँ खत्तम हुनुपर्छ । त्यसो नगर्दा प्रहरीमा थप विकृति जन्मन सक्छ ।
मैले आफँैले मुख्य रूपमा अच्युतकृष्ण खरेल र ध्रुव प्रधानबीचको प्रतिस्पर्धा नजिकबाट देखेको छु । उहाँहरू दुवै प्रहरीमा ज्यादै व्यावसायिक, काबिल र अनुभवी अधिकृत हुनुहुन्थ्यो । तर पनि एकले अर्काको नेतृत्व स्वीकार गर्न तयार हुनुहुन्थेन । प्रधानले उच्च शिक्षा हासिल गरेको तालिमहरूमा सधैँ प्रथम भएको, प्रहरीमा पुस्तकहरू लेखेको, सानै पददेखि प्रहरी प्रधान कार्यालयको महत्वपूर्ण पदका साथै फिल्डमा काम गरेको आधारमा आफू महानिरीक्षक बन्ने दावा गर्नुहुन्थ्यो भने इमानदारिता र बहादुरीपूर्वक काम गरेको, अपराध नियन्त्रणमा नाम कमाएको व्यावसायिक भएको, एआईजी पदोन्नतिको समयमा सिनियर भएको आदि कारणले खरेल साहेव आफूलाई पदोन्नति दिनुपर्ने कुरामा दाबा गर्नुहुन्थ्यो । दुवै अधिकृतका साथमा मातहतका थुप्रै अधिकृत थिए ।
जब पदोन्नतिको समय नजिकनजिक आयो तब स्पष्ट रूपले कुनै अधिकृत खरेल साहेवसँग र कुनै अधिकृत धुव्र साहेवसँग देखिए । कतिपय अधिकृत भित्री रूपमा समर्थन गर्दथे भने कतिपय बाहिरी रूपमा पनि । जब दुई प्रहरी अतिरिक्त माहानिरीक्षकमध्ये एक व्यक्ति प्रहरी प्रमुख हुने अवस्था आयो त्यसपछि प्रहरी अधिकृतहरू कसको पल्ला भारी छ भनेर हेर्न थाले । जता हावा चल्थ्यो पात त्यतै ढल्थ्यो । आखिरमा ज्येष्ठता र अन्य आधारमा सरकारले अच्युतकृष्ण खरेललाई आईजी बनायो । सबै अधिकृत र प्रहरी कर्मचारीबीच अन्योल हट्यो । अन्योललाई हटाई सबै खरेल साहेवको स्वागतमा लागे । मलाई त्यतिबेला धुव्र प्रधानको मानिस भनिन्थ्यो तर त्यसमा मलाई खासै दु:ख पनि लाग्थेन किनकि म धेरै समय धु्रव प्रधानसँग नजिक बसेर प्रहरी सङ्गठनमा काम गर्न सिक्दै गरेको अधिकृत थिएँ र उहाँसँग बसेका कारण मेरो कार्यशैली पनि नयाँनयाँ योजना बनाइराख्ने खालको हुन पुग्यो । खरेल साहेवका मानिसले बढाइचढाई मैलेसमेत ध्रुव साहेवका पदोन्नतिका लागि विशेष काम गर्ने गर्छु भनी सुनाई पनि दिन्थेँ होला । तर, जब खरेल साहेव प्रहरी प्रमुख हुनुभयो उहाँले ६ जना प्रहरी अधिकृत छनोट गरी शान्तिसुरक्षा अझै प्रभावकारी बनाउन विशेष योजना बनाउन निर्देशन दिनुभयो । त्यस समूहमा जिम्मा पाउनेहरूमध्ये कुमार कोइराला र म पनि थियाँै । मलाई आमजनतालाई साथ लिएर कसरी अपराध नियन्त्रण गर्न सकिन्छ ? भनेर रणनीति तयार गर्ने जिम्मा दिइएको थियो । म पनि आईजीपीले काम दिनुभएकोमा खुसी थिएँ । धु्रव प्रधानलाई पनि म खरेलसाहेव प्रमुख भएकोलाई सकारात्मक रूपले दिनुपर्ने सल्लाह दिन्थेँ । हामी सबै काममा लाग्न थाल्याँै । मेरो बानी काम पाएपछि सबै कुरो बिर्सने थियो । मैले जनपरिचालनको रणनीति तयार गरेँ । अब लागू गर्ने समय आउँदै थियो ३६ दिनमै खरेल साहेवलाई हटाई ध्रुव प्रधान आईजीपी बनाइनुभयो । राजनीतिक परिवर्तनसँगै प्रहरी नेतृत्व परिवर्तन भयो । सरकारको परिवर्तनसँगै आईजीपी परिवर्तन गरियो ।
अब फेरि सबै अधिकृतलाई ध्रुव प्रधानको घरतिर दौड्नुपर्ने र हामी हजुरकै हौँ भन्नुपर्ने स्थिति आयो । फेरि हामीहरू प्रधानको मातहतमा इमानदारीपूर्वक काम गर्न थाल्याँै जसरी खरेल साहेवको नेतृत्वमा गर्दैथ्यौँ । खरेल साहेव बाहिर बसेर प्रधानलाई सघाउनेहरू सायद हेर्दै हुनुहुन्थ्यो । म धु्रव प्रधानसँग कामका हिसाबले नजिकै थिएँ । उहाँले मलाई भरतपुर तालिम केन्द्रको प्रमुख भएर तत्कालै जान निर्देशन दिनुभयो । तर, म त्यतिबेला नेपालमा चेलिबेटी बेचबिखनविरुद्ध केही योगदान दिन चाहन्थेँ, त्यसैले आफू भरतपुर जान नचाहेको बताएँ । तालिम केन्द्रमा रमेश चन्द जानुभयो । म प्रहरी प्रधान कार्यालयमा बसी चेलिबेटी बेचबिखनविरुद्ध देशव्यापी अभियान चलाउन थालँे । म जहिले पनि आईजी प्रधानलाई गुट–उपगुटको आधारमा व्यवहार नगर्न सल्लाह दिइरहन्थेँ । जो–जो खरेल साहेवका नजिक छन् उहाँहरूले आफूलाई आईजीले मन नपराएको महसुस नगरून् भन्ने कुरामा सतर्क पनि गराउँथेँ । तर, म त्यतिबेला केवल एसपी दर्जाको मात्र भएकोले माथिल्ला लडाइँ शतप्रतिशत शान्त गर्न सक्ने मेरो क्षमता थिएन ।
नौ महिनापछि फेरि सरकार परिवर्तन भयो र खरेल साहेव फर्किएर पुन: आईजी बन्नुभयो । अब फेरि तल्ला कर्मचारीहरूलाई त्यता दौडनुपर्ने स्थिति आयो । यसपटक खरेल साहेव पुन: आईजी हुँदा पहिलेजस्तो विशाल हृदय बोकेर आउनुभएको थिएन । नौ महिना बाहिर रहँदा उहाँमा प्रतिशोध, पीडा, आक्रोश, घमण्ड प्रसस्त बढेको थियो । उहाँले निकाल्नुभएको पहिलो सरुवामै धु्रव प्रधानका भनिएका मानिस लखेटाइमा पर्न थाले । म पनि लिस्टमा हुनु स्वाभाविकै थियो । म त्यतिबेला देशव्यापी चेलिबेटी बेचबिखनविरुद्धको अभियानमा लागिरहेकै थिएँ । मलाई पनि बाहिर पठाउन लागिएको चर्चा चल्यो । म चेलिबेटी बेचबिखनविरुद्ध मैले सुरु गरेको देशव्यापी योजना सफल पार्न चाहन्थेँ त्यसैले खरेल साहेवलाई भेटी आफू यो कार्यक्रममा नै काम गर्न चाहेको बताएँ । तर, उहाँले मलाई देख्नेबित्तिकै भन्नुभयो, ‘तपाईंलाई म हुन्जेल काठमाडौंको डाँडाभित्र छिर्न दिन्नँ ।’
म त्यसपछि सप्तरी सरुवा गरिएँ । सप्तरी, पथलैया, बर्दिया, सुर्खेततिर म घुमिरहेँ । जब मलाई मैले सुरु गरेको चेलिबेटी बेचबिखनविरुद्धको अभियान पूरा गर्न दिइएन, यो कुराले मलाई निकै पीडा दियो । म त्यो पीडा अझ राम्रो काम गरेर बिर्सन चाहन्थेँ, त्यसैले म जहाँ–जहाँ एसपी भएर खटिएँ सबै ठाउँमा म नागरिकबाट अभिनन्दित भएँ । खरेल साहेव आईजीपी भए पनि मैले गरेका राम्रा कामका कारण तीनपटक ग्रेड थप पनि भयो । तर, म काठमाडौं उपत्यका छिर्न पाउने सम्भावना भने थिएन । म फेरि काठमाडौं आउन खरेल साहेवको अवकाश वा पदच्यूत कुर्नुपर्ने अवस्था थियो । साँच्चिकै उहाँ फेरि दोस्रोपटक नहटाइएसम्म म काठमाडौं खाल्डो छिर्न पनि पाइनँ । जब उहाँलाई दोस्रोपटक सरकारले हटायो तब मात्रै म काठमाडौं आउन पाएँ र त्यसपछि पदोन्नति भई प्रहरी महानिरीक्षकको प्रमुख स्टाफ अफिसर बनेँ । मलाई उहाँलाई पुन: हटाउँदा खासै दु:ख पनि लागेन किनकि उहाँ नहटी म काठमाडौं नै आउन नपाउने स्थिति थियो ।
अहिले जबजब म ती दिन सम्झन्छु मलाई हाँसो उठ्छ । दुई अधिकृतको आईजी हुन चाहने रहर र लडाइँले त्यतिबेला प्रहरी गुट–उपगुटमा विभाजन मात्र भएन, प्रहरीभित्र व्यक्तिगत दुश्मनी बढ्ने क्रम पनि सुरु भयो । वास्तवमा हामीजस्ता तल्ला अधिकृतले खरेल साहेव वा धु्रव प्रधानलाई न केही बिगारेका थियौँ न बिगार्न नै सक्थ्यौँ । उहाँहरू आईजी पनि आफ्नै कारणले हुनुभएको थियो भने हट्न पनि आफ्नै कारणले । त्यहाँ तल्ला कर्मचारीको कुनै भूमिका हुनै सक्दैनथ्यो । तल्ला कर्मचारीले नजिक बसेका अधिकृतहरूलाई माया गर्नु कुनै अपराध पनि थिएन । तर, प्रहरी प्रमुख हुने होडमा माथिल्ला अधिकृतहरूले तलका निरीह अधिकृतमाथि बिनाकारण रवाफ जमाइरहेका थिए । खरेल साहेवको दोस्रो कार्यकालमा ध्रुव प्रधानका मानिस भएको आरोपमा धेरै अधिकृतलाई मावोवादी क्षेत्रमा खटाइयो र यसमध्ये धेरैले आफूमाथि खरेल साहेवले दुश्मनी साँधेको महसुस गर्दै राजीनामा दिएर देशै छोडेरसमेत गए । वास्तवमा खरेल साहेव र ध्रुव साहेव दुवै प्रहरीमा असल र आदरणीय अधिकृत हुनुहुन्थ्यो । तर, आईजी बन्ने क्रममा हुने गरेको गुट–उपगुट र राजनीतिले उहाँहरूलाई समेत अलोकप्रिय र विवादमा तान्यो ।
प्रहरी सङ्गठनमा अहिले भर्खरै कुवेरसिंह राना प्रहरीप्रमुख हुनुभएको छ र उहाँ प्रमुख हुने क्रममा पनि तीनजना एआईजीबीच प्रतिस्पर्धा थियो । म विश्वास गर्न सक्छु यो दौडमा तीनजना प्रहरी प्रमुख हुँदा प्रत्येकलाई रुचाउने सङ्गठनभित्र अधिकृतहरू हुनु पनि स्वाभाविकै थियो । तर, प्रतिस्पर्धा जसका बीचमा भए पनि अब सरकारको निर्णयले त्यो स्थितिलाई स्पष्ट पारिदिइसकेको छ । कुवेरसिंह राना प्रहरीप्रमुख भइसक्नुभएको छ । भर्खरै प्रहरीप्रमुख हुनुभएका रानालाई पनि यो पद प्राप्त गर्ने क्रममा कोही आफ्ना मान्छे र कोही अरूका मान्छे भएको लाग्न सक्ला ? त्यसमा मेरो अनुभवले म के सल्लाह प्रदान गर्न चाहन्छु भने यहाँ सबै तपाईंका आफ्नै प्रहरीहरू मात्र छन् । आईजी हुने क्रममा भएका प्रतिस्पर्धा समाप्त भइसक्यो । अब अभिभावक भएर तपाईंले सबैलाई माया र संरक्षण दिनुपर्छ । प्रहरीप्रमुख हुने काम समाप्त भयो, अब अवकाश हुने दिनहरू नजिकनजिक आउनेछन् । भगवान्ले तपार्इंलाई महत्वपूर्ण र गरिमामय प्रहरी सङ्गठनको प्रमुख हुने अवसर प्रदान गर्नुभएको छ । त्यो पदमा बसेर जनता र देशको सेवा गर्नुहोस् । तपाईंले यो काम प्रहरी कर्मचारीलाई एक ढिक्कामा राखेर मात्र गर्न सक्नुहुन्छ । अत: गुट–उपगुटमा प्रहरीलाई जान नदिई सबैलाई एक बनाएर अगाडि लैजानुहोस् । प्रहरी बाँडिए तपार्इं पनि कमजोर हुनुहुनेछ । धमिरा प्रवृत्तिका प्रहरी कर्मचारीलाई या त सुधार्नुहोस् नत्र हटाउनुहोस् । ती प्रहरी सङ्गठनका लागि विष समान हुनेछन् र तिनलाई माया गर्दा तपाईं पनि विगतका प्रहरीप्रमुखहरू जस्तै गरी समस्यामा पर्न सक्नुहुन्छ, किनकि फर्किएर हेर्नुहोस् प्रहरी सङ्गठनभित्र धमिरा प्रवृत्तिको आगमनसँगै प्रहरीप्रमुखहरू समस्यामा पर्न थालेका छन् । चेन अफ कमान्डलाई बलियो बनाउन प्रयास गर्नुहोस् । मुख्य रूपमा म के अनुरोध गर्न चाहन्छु भने प्रहरी महानिरीक्षक बन्ने क्रममा यदि तपाईंले कुनै प्रहरी कर्मचारीलाई अरूको मानिस देख्नुभएको छ भने त्यसलाई मनबाट हटाउनुहोस् । यही मनबाट हटाउन नसक्दा विगतका धेरै आईजीपीले अवकाशपश्चात्समेत चित्त दुखाएका प्रहरी कर्मचारीहरूको सामना गरिरहनुपरेको छ । तपाईं त्यस्तो गल्ती नदोहोर्याउनुहोस् । सत्य यही हो कि आईजी भएपछि सबै प्रहरी आफ्नै हुन्छन् ।
प्रतिक्रिया