(नेता, नेपाली कांग्रेस)
० राजनीतिक गतिरोध अन्त्यको सवालमा फेरि पनि नेपाली काङ्ग्रेस अल्मलिएको अनुभूति गरिएको छ, किन यसरी काङ्ग्रेस रुमलिएको होला ?
– नेपाली काङ्ग्रेस रुमलिएको देखिए पनि यथार्थ त्यो होइन । सरकार परिवर्तन नभएसम्म सहमति हुन सक्दैन भन्ने काङ्ग्रेसले सुरुदेखि नै जो अडान राख्दै आएको छ, यसले अलिकता अप्ठ्यारो स्थिति निम्त्याएको हुनसक्छ । मेरो विचारमा काङ्ग्रेसले पहिले आफ्नोतर्फबाट सरकारमा नेतृत्व गर्ने कसले, आन्दोलन हाँक्ने कसले भन्नेमा नेतृत्व तय गर्नु आवश्यक छ । यो तय गरेपछि धेरै कुरा स्पष्ट हुन सक्छ र काङ्ग्रेस अल्मलिएजस्तो पनि देखिँदैन ।
० नेतृत्व कसले लिँदा उपयुक्त होला जस्तो लाग्छ तपाईंलाई ?
– तीन नेताबाहेक अरू पनि सक्षम थुप्रै छन् । तर, तीन नेतामध्येबाटै गर्ने भए पनि हामीलाई त केही आपत्ति छैन । जो भए पनि हुन्छ, नेताहरूले मिलेर निर्णय गर्नुपर्छ ।
० प्रधानमन्त्री बनाउनुपर्दा कसलाई बनाउने त, खालि मिलेर गरे हुन्छ भनेर मात्रै त समस्या सुल्झिँदैन नि ?
– प्रधानमन्त्री को बन्ने भन्ने कुरा वास्तवमा नेपाली काङ्ग्रेसका लागि गौण कुरा हो । हेर्नुस्, आज देश अत्यन्त गएगुज्रेको अवस्थामा पुगिसक्यो । जो बने पनि उहाँहरूले कुनै नयाँ कुरा या नतिजा दिन सक्नुहोला भन्ने मलाई लाग्दैन, खालि बन्नका लागि बन्ने भन्ने मात्रै हो । जो प्रधानमन्त्री बने पनि एउटै काम मुख्य गर्ने हो, त्यो भनेको निर्वाचन गराउने मात्र हो ।
० संविधानसभा पुनस्र्थापना गर्ने कुरा फेरि पनि विशेष रूपमा उठाइन थालिएको अवस्था छ, चुनावकै मात्र के कुरा भयो र ?
– पुनस्र्थापना गर्ने मात्र भनेर भएन नि, कसरी गर्ने, गरेर के गर्ने भन्ने कुरा कम्ती अप्ठ्यारो छ र ?
० प्रचण्डजीले यस्तो कुरा गरिरहनुभएको छ, उहाँले मिलाउनुहोला नि त ?
– प्रचण्डजीले मिलाएर मिल्ने र सक्ने भए धेरै कुरा मिलिसक्थ्यो होला नि त, खै देश त झन् लथालिङ्ग भइरहेछ, के हेरिरहनुभएको छ प्रचण्ड ? अर्को कुरा सबैले याद राख्नुपर्ने के छ भने प्रचण्डजीले कहिले के बोल्नुहुन्छ कहिले के भन्ने कुराबारे विभिन्न मितिका अखबारका कटिङ उपलब्ध गराइदिनुहोस् न मलाई, त्यो हेरेर खुसी हुन्थेँ म । अर्थात्, उहाँले १५ जेठमा के बोल्नुभयो, १६ जेठमा के बोल्नुभयो र आज भदौ–असोजसम्म आइपुग्दा कतिपटक आफ्ना कुरा बदल्नुभयो, विचार गरेर हेरौँ त उ अनि बोली र विचारको अडान नभएका यस्ता नेताले कतिबेला के भन्छन् त्यसैमा लागेर हिँड्न मिल्दैन नि । उहाँका कार्यकर्ता बहकिएलान् तर हामी त बहकिन्नौँ नि !
० तपाईंकै पार्टीका सभापतिले पनि त पुनस्र्थापना हुनसक्छ भन्नुभएको छ नि यसबीचमा ?
– नेताहरू के भएका भन्ने बुझ्न नसकेर म त छक्कै परिरहेको छु । सर्वोच्च अदालतले गरेका फैसला या निर्णयलाई पनि त हामीले विचार गर्नुपर्छ । अर्को कुरा, शासकीय स्वरूपमा सहमति हुनुपर्यो, नेपाली काङ्ग्रेसले संसदीय शासकीय स्वरूपको अडान लिइरहेको छ र यो नै समयानुकूल छ, के प्रचण्डजी तयार हुनुहुन्छ यसमा ? जेठ २ गते हामीले शासकीय स्वरूपबारेको अडान हामीले किन छोड्यौँ भने बहुपहिचानको आधारमा हुने भयो भनेर छोडेका थियौँ । तर, त्यो कुरा त अहिले भइरहेको छैन । नेपाली काङ्ग्रेले जे–जे भन्यो त्यही–त्यही मान्नुहोला रे लौ प्रचण्डले र संविधानसभा ब्युँतिएला रे । तर, के संविधानसभाजस्तो सार्वभौम संस्थाका सदस्यहरूले प्रचण्ड, सुशील कोइराला र झलनाथजीहरूले जे–जे कुरामा हस्ताक्षर गर्छन् त्यो–त्यो मान्नैपर्छ या मान्छन् त्यसका सदस्यहरूले भन्ने के छ र ? अनि त्यसबेला संविधानसभा पुनस्र्थापना गरेर समस्या बल्झेला कि सुल्झिएला त ?
० पार्टीले गरेको निर्णय र निर्देशन पनि नमान्ने त तपाईंहरू ?
– जेठ १४ पछि बागमतीमा धेरै पानी बगिसक्यो । दलहरूमा टुटफुट आइसकेको छ, बराबरीको हैसियतमा माओवादी फुटेको छ । मधेसी दलहरूको हालत उस्तै छ । विजय गच्छदार अहिले गृहमन्त्री भनेर जतिसुकै फुइँफाइँ हाँके पनि उहाँ पनि माइनारिटीमा हुनुहुन्छ । एउटा पक्ष यो भयो । अर्को कुरा जेठ १४ भन्दा अघिको परिस्थिति अर्को थियो भने अहिलेको परिस्थिति बेग्लै हो । भारतीय राजदूतले पनि भन्नुभयो कि यो देशमा जातीय हिसाबले होइन आर्थिक र राजनीतिक हिसाबबाट मिलाएर प्रदेशहरूको निर्माण हुनु उपयुक्त देखिन्छ भनेर । चीनको नेपाल मामला हेर्ने महत्वपूर्ण व्यक्ति आई पिङले पनि नेपालमा जातीय राज्य बन्नुहुँदैन बरु विकासको गति लिन सकिने हिसाबबाट फेडरलिज्ममा जानु राम्रो हुन्छ भन्ने सुझाव दिनुभएको छ । यी दुई छिमेकीको सुझाव हामीले राम्रोसँग मनन गर्न सक्यौँ भने यो धेरै अर्थपूर्ण छ ।
अब मैले भन्न खोजेको के भने जेठ १४ पछि धेरै घटना घटिसकेका छन्, राजनीतिक रूपमा धेरै उथलपुथलजस्तो भएको छ । सबै पक्षलाई आश्वस्त नपारीकन राजनीतिक दलका नेताहरूले मात्रै सहमति गरेर अघि बढ्न सकिन्न । पार्टीको आदेश–निर्देश अटेर गर्ने कुरा होइन ।
० राष्ट्रपतिले संविधानसभा पुनस्र्थापनाका लागि सहमति गरिदिनुभयो भने के होला नि ?
– राष्ट्रपतिले गरेर कसरी संविधानसभा पुनस्र्थापना हुन्छ, मलाई बताइदिनुहोस् न । उहाँले दलहरूलाई बोलाएर ‘तपाईंहरू किन गम्भीर नबनेको ? देश खाल्डोमा पर्न लागिसक्यो’ भनेर सम्झाउने न हो, संविधानसभा ब्युँताऊ भनेर भन्ने त होइन नि । हो, अन्तिम परेको घडीमा उहाँले केही ठोस निर्णय लिएर अघि बढ्नैपर्ने पनि हुन्छ, तर अहिलेसम्मको अवस्था के हो भने उहाँ दलको नेतृत्वहरूलाई घचघच्याउन त सक्नुहुन्छ तर दलहरूको सहमति नलिई केही गरिहाल्न सक्नुहुन्न, या त्यस्तो कदम उठाइहाल्न चाहिरहनुभएको छैन । दलहरू आफूले गर्नुपर्ने कुरामा राष्ट्रपतिलाई होम्न खोजेर कहाँ हुन्छ भनेको ?
० तपाईंहरू के हेरिरहनुभएको त ? तपाईं पनि काङ्ग्रेसको नेता हो नि शीर्ष तहको ?
– म कहाँ शीर्ष तहको, शीर्ष तहमा को–को छन् देख्नुभएको छैन तपाईंहरूले ?
० कुरा त हुन्छ नि तपाईंको शीर्ष नेताहरूसँग ?
– अँ, कुरा त हुन्छ तर कुरा मिलिरहेको छैन । उहाँहरू भन्नुहुन्छ संविधानसभा पुनस्र्थापना गरेर जाऊँ, म भन्छु त्यसो गर्नु घोर अनर्थ हुनेछ, देशमा जातीय युद्ध निम्तिन्छ, गृहयुद्ध मच्चिन्छ ।
० पुनस्र्थापना हुँदा कसरी निम्तिन्छ गृहयुद्ध ?
– अहिले प्रचण्डजीको हातमा चार सय १७ (पूर्व)सभासद्को हस्ताक्षर छ । अघि मैले भनेँ कि संविधानसभा एउटा सार्वभौम संस्था हो । पार्टीहरूबाट चल्ने संस्था भए पनि सार्वभौम पनि हो । र, प्रचण्डजीले दुईतिहाई बहुमतको हस्ताक्षर आफूसँग लिएर राख्नुभएको छ, जसमा नेपाली काङ्ग्रेसका केही सभासद्ले पनि त्यहाँ हस्ताक्षर गरेर दिएका छन्, एमाले र अन्य पार्टीका सभासद्ले पनि दिएका छन् । यस अवस्थामा ब्युँतिने संविधानसभाले मुलुकलाई जातीय युद्धमा नलगेर कहाँ लैजान्छ ? अनि जातीय युद्धले गृहयुद्ध ननिम्त्याएर के निम्त्याउँछ ?
० तपाईंले सङ्घीयताकै विरोध गरिरहनुभएको त होइन ?
– जातीय राज्य बनाउनुहुन्न भनेर भन्नु पनि कतै सङ्घीयताको विरोध गरेको हुन्छ र ? मुलुक सङ्घीयतामै जानुपर्छ, सङ्घीयता थेग्नै सक्दैन यो देशले भनिरहेको छैन म । तर, जातीय सङ्घीयता किमार्थ हुनुहुन्न, साझा पहिचानयुक्त सङ्घीयता हुनुपर्छ ।
० अहिलेको अवस्थामा नेपाली काङ्ग्रेसले चाहिँ के गर्नु उपयुक्त हुने देख्नुहुन्छ त तपाईं ?
– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अधिकांशले पार्टी बैठकमा बोलेका या व्यक्त गरेका धारणालाई सभापति सुशील कोइरालाले लिपिबद्ध गरिदिनुपर्यो । त्यति गरिदिए त्यहीँ निस्कन्छ नेपाली काङ्ग्रेस कसरी अघि बढ्नुपर्छ भन्ने कुरा । शेरबहादुरजी र रामचन्द्रजीलाई खुसी पार्नका लागि सभापतिले पार्टीका केन्द्रीय नेताहरूले बैठकमा व्यक्त गरेका धारणा या आवाज लुकाउने प्रयत्न गरिरहनुभएको छ । यसरी काम चल्दैन । काङ्ग्रेसका लागि हितकर हुन सक्दैन यो प्रवृत्ति । सभापतिजस्तो जिम्मेवार व्यक्तिले अन्य नेताहरूको स्वार्थअनुसार कहिले पुनस्र्थापनाको कुरा त कहिले ‘त्यो हुँदैन कि’ भनेजस्तो गर्नुहुँदैन भन्ने मेरो स्पष्ट धारणा हो ।
० भनेपछि काङ्ग्रेसका तीनैजना शीर्ष नेताबाट अब काम नचल्ने भयो ?
– त्यसो नै त भनिनहालौँ, तर उहाँहरू तीनजनाले जे चाह्यो त्यहीचाहिँ हुन सक्दैन, मिल्दैन अब । काङ्ग्रेस केन्द्रीय समितिमा ८० जना सदस्यहरू छन्, महाधिवेशनका सदस्य साथीहरूले जिताएर पठाएका हुन् उहाँहरूलाई, त्यो मनन गर्न सक्नुपर्छ उहाँहरूले । देशभरका कार्यकर्ताले के धारणा व्यक्त गरिरहेका छन्, पचहत्तर जिल्लाका सभापतिहरूले के धारणा राखेका छन्, उहाँहरूले सुन्नुपर्छ । मनन गरेर कार्यान्वयन गर्न सक्नुपर्छ । सभापतिको आवाज सुनुवाइ नहुने हो भने यो बैठक किन गरेको ? ७५ मा ६६ जनाले संविधानसभा पुनस्र्थापनाको विपक्षमा धारणा राखेका छन्, त्यो कति गम्भीर कुरा हो मैले भनिरहनुपर्छ र ?
– ऋषि धमला
भोलीको कांग्रेस खुमबहादुरकै काँधमा छ— मीनकृष्ण महर्जन
१२ वर्षको उमेरदेखि खेलकुदमा लागेका मीनकृष्ण महर्जन ललितपुर काङ्ग्रेसमा परिचित नाम हो । कराते खेलका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा रेफ्रीसमेत रहेका मीनकृष्णले खेलक्षेत्रमा तीन दशक अवधि बिताए र पछिल्लो चरणमा राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्षको जिम्मेवारी सम्हालेर बिदा भए । खेलक्षेत्रमा आफ्नो विधामा अब अभिभावकीय भूमिकामा मात्र सीमित रहने सोच बनाएका उनी हाल नेपाली काङ्ग्रेस महासमिति सदस्यका रूपमा क्रियाशील छन् भने ०४६ सालदेखि नै प्रजातान्त्रिक आन्दोलन एवम् नेपाली काङ्ग्रेसमा आबद्ध उनी नेपाल तरुण दलको स्थापनाकालदेखि नै विभिन्न जिम्मेवारी लिएर त्यसमा सक्रिय भए । राजनीति र समाजसेवालाई नै अबको आफ्नो मुख्य उद्देश्य ठान्ने मीनकृष्ण एमाओवादी र मधेसी मोर्चा मिलेर देशलाई अस्तव्यस्त तुल्याएको भनी चिन्ता व्यक्त गर्छन् । आफूलाई कतिपयले ‘डन’का रूपमा चित्रण गर्नु गलत बुझाइ भएको तर्क गर्ने महर्जन आफ्नापछाडि जति नै विरोधीहरू रहे पनि त्यसभन्दा बढी सहयोगी, समर्थक र शुभचिन्तकहरू रहेको दाबी गर्छन् । राष्ट्र असफल घोषित हुने बेला भएकोले यथाशीघ्र नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्ने र काङ्ग्रेसले मात्र देश बचाउन सक्ने उनको धारणा छ । आफू नेवारको छोरा भएकोले बोल्न नआउने र बोलेरभन्दा काम गरेर देखाउनमै विश्वास गर्ने अभिव्यक्ति दिने मीनकृष्ण महर्जनसँग गरिएको कुराकानीको अंश प्रस्तुत गरिएको छ ।
० तपाईं राजनीति र समाजसेवामा लागेको युवाका रूपमा आफूलाई चिनाउन चाहनुहुन्छ, तर कतिपयले त तपाईंलाई ‘डन’का रूपमा बुझ्दारहेछन्, तपाईं डन हो कि राजनीतिकर्मी या समाजसेवी ?
– सबै मानिस सबैलाई मनपर्छ भन्ने हुँदैन । संसारकै कल्याण गर्न हिँडेका बुद्ध भगवान्जस्ता व्यक्तिलाई पनि गाली गर्ने, थुक्नेहरू निस्किएका थिए भने हामी त सामान्य व्यक्ति । मन नपर्नेले जे आरोप पनि लगाउन सक्छ । ‘डन’ भनेर कुन अर्थमा मलाई कसले, किन भनेका हुन् म जान्दिनँ । तर, म नेपाली काङ्ग्रेसको एक वफादार सिपाही हुँ, महासमिति सदस्यको जिम्मेवारीमा छु । आफ्नो जिल्ला ललितपुरमा राजनीति र समाजसेवाको काममा सक्रिय छु । ०५८ सालदेखि काङ्ग्रेसको भ्रातृ संस्था तरुण दलमा केन्द्रीय सदस्य रहेँ, पार्टी जिल्ला कमिटीको सदस्य पनि रहेँ । ०४६ को जनआन्दोलनदेखि नै काङ्ग्रेसप्रति आबद्ध र प्रतिबद्ध भई क्रियाशील छु । एमाले, माओवादी आदिले मन नपराएर मेरो रिस गर्नु, बद्नाम गर्न खोज्नुलाई मैले ठूलो कुरा ठानेको छैन । तपाईंहरूले सुनेको कुरा गलत हो, नराम्रो काममा म संलग्न छैन र हुन पनि सक्दिनँ ।
० एमाले र माओवादीले तपार्इंलाई यसरी तारो बनाएर विरोध र बद्नाम गर्नुपर्ने कारणचाहिँ के हो त ?
– म ललितपुरवासी भए पनि काठमाडौं उपत्यकाभरका प्रजातन्त्रप्रेमी जुझारू युवाको नेतृत्व गरिरहेको छु । हामीले वाईसीएल र युथफोर्सका नाममा जथाभावी कर्म गर्न खोज्नेहरूलाई मनपरी गर्नबाट रोक्ने काम गरिरहेका छौँ । उनीहरू दुवै समूह एक भएर आए पनि हामी प्रजातान्त्रिक युवा समूहको उनीहरूले रौँ पनि हल्लाउन नसक्ने अवस्था रहेकोले मलाई आँखाको तारो बनाएका होलान् । म कराँतेको अन्तर्राष्ट्रिय रेफ्री र प्रशिक्षक पनि हुँ । सन् १९८९ मा भएको आठौँ साफ गेममा मेरो प्रशिक्षणमा राष्ट्रले ठूलो सफलता हात पारेको इतिहास मेटिएको छैन । यसरी मेरोपछाडि थुप्रै खेलाडी साथी पनि छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका मेरा चेलाहरू थुप्रै छन् । यही देखेर मेरो डाह गरेका होलान् । तर, मेरो झुटो बद्नामी गराउन खोज्ने, पत्रपत्रिकामा जथाभावी मनगढन्ते कुरा लेखाएर प्रचार गर्न खोज्नेहरूको दुष्कर्मबाट म निराश र उत्तेजित भएको छैन, बरु अन्याय र विसङ्गतिविरुद्ध लड्न थप प्रेरित भएको छु ।
० तपाईं त खेलकुद परिषद्मा कोषाध्यक्ष पनि हुनुहुन्थ्यो, जिम्मेवारीबाट किन पन्छिनुभएको नि ?
– हो, माधव नेपालज्यूको प्रधानमन्त्रीत्वकालमा मलाई राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्ष नियुक्त गरिएको थियो । नेपाली काङ्ग्रेस पार्टीको एक वफादार सिपाही भएको नाताले पार्टीले पत्याएर मलाई सिफारिस गरेको हो । मैले आफ्नो १८ महिने जिम्मेवारी कसरी निर्वाह गरेँ भनी मैले भनिरहनुपर्दैन, सम्बन्धित क्षेत्रका मानिसलाई सोधे थाहा भइहाल्छ । जहाँसम्म जिम्मेवारीबाट किन पन्छिएको भन्ने सवाल छ, तत्कालीन प्रधानमन्त्री माधव नेपालले राजीनामा दिनुभएको र हाम्रो पार्टीले त्यसपछिको सरकारलाई दिएको समर्थन फिर्ता लिएको परिवेशमा नैतिकताको आधारमा मैले राजीनामा दिएको हुँ । मसँगै नियुक्त भएका कतिपय साथीले मुद्दा लडी–लडी पदमा टाँसिन रुचाए पनि मलाई त्यो उचित लागेन । अनुशासन र नैतिकताको मामलामा म एकदम सचेत छु । त्यसैले पनि मेरोबारेमा फैलाइएका अनर्गल कुराहरूको भ्रममा नपर्न म आग्रह गर्दछु ।
० यस्तो भ्रम फैलाउन खोज्नेहरूको प्रतिवाद कसरी गर्नुहुन्छ त ?
– कुकुरले टोक्यो भनेर त्यो कुकुरलाई टोक्न जाने कुरा आउँदैन । विरोधीहरू भुक्दै गर्छन् म आफ्नो कर्म गर्दै जान्छु । पार्टीको सिपाही हुँ, दिइएको जिम्मेवारी निर्वाह गर्छु । आफ्नो गाउँ, क्षेत्र, जिल्ला र देशकै लागि सक्दो सेवाको काम गरिनै रहनेछु । विगतको संविधानसभाको निर्वाचनमा ललितपुर क्षेत्र नम्बर– १ बाट एक उम्मेदवार सिफारिस भएको व्यक्तिको नाताले पनि आफ्नो क्षेत्रका लागि मैले धेरै काम गर्नुछ, गरिरहेको पनि छु । क्षेत्र नम्बर– १ मा २८ वटा गाविस छन्, दुर्गमभन्दा दुर्गम ठाउँ पनि छन्, त्यसैले मैले धेरै काम गर्नुछ ।
० तपाईं यसरी काम गरिरहनुभएको छ, तर एमाओवादीका वर्षमान पुन कहाँ–कहाँबाट तपाईंको क्षेत्रमा आएर त्यत्तिकै चुनाव जिते, तपाईंले भने टिकट पनि पाउनुभएन, कस्तो लाग्छ ?
– यही त विडम्बना छ उ वर्षमानजीले जम्मा १५ हजार पाँच सय मत ल्याएर चुनाव जित्नुभएको हो जब कि मेरो जन्मस्थल चापागाउँमा मात्रै हाम्रो ११ हजार पाँच सय भोट छ । सँगैको लेलेमा सात हजार भोट छ भने बडिखेलमा पचपन्न सय हाम्रो मत छ । मतदातामा हाम्रो पकड हुँदाहुँदै पनि माओवादीले चुनाव जित्नुमा हाम्रो पार्टीको आन्तरिक कमजोरी नै कारकतत्व हो भन्ने लाग्छ । यदि स्थानीय तहमा भिजेको, समाजका लागि केही गरेको, सङ्गठन निर्माणमा खटेको, स्थानीय जनतालाई सुख–दु:खमा साथ दिएको व्यक्तिलाई पार्टी नेतृत्वले चिनेर मौका दिने हो भने काङ्ग्रेस अझ पनि एक नम्बरमै रहन्छ भन्नेमा मलाई विश्वास छ । राजनीतिमा लागेपछि जिम्मेवारीको मौका त जसले पनि खोज्छ र मैले पनि खोजेको छु, एक दिन त कामको मूल्याङ्कन र कदर भइहाल्छ भनेर चित्त बुझाएको छु । म दाबी गर्छु– मैले टिकट पाएँ भने २५ हजारभन्दा बढी मत ल्याएर चुनाव जित्न सक्छु । अन्य पार्टीका युवाले समेत मलाई सघाउने अवस्था सिर्जना गरेको छु मैले ।
० तपाईं आफ्नो पार्टीका मनपर्ने नेताको नाम लिनुपर्यो भने कसको लिनुहुन्छ ?
– त्यसो त सबै नेताको म आदर र इज्जत गर्छु, तर विशेष रूपमा मनपर्ने नेताको रूपमा खुमबहादुर खड्का र रामचन्द्र पौडेलको नाम लिन चाहन्छु । खुमबहादुर खड्का भनेको कांग्रेसका लागि एउटा मेरुदण्ड नै हो । उहाँको साहसी र जुझारूपन, कार्यकर्ताप्रतिको स्नेह, पार्टीप्रतिको लगाव, लोकतन्त्रमाथि उहाँको विश्वास सबैका लागि पे्ररणादायी कुरा हो । उहाँको जुझारूपनसँग डराउनेहरूले उहाँमाथि अनेक षड्यन्त्र गरिरहेका छन् । तर, मलाई विश्वास छ कि खुमबहादुर खड्कामाथिको षड्यन्त्र एक दिन सबै चकनाचुर हुनेछ । भोलिको कांग्रेस खुमबहादुर खड्काकै काँधमा आउनेछ, अन्यथा पार्टी नै सङ्कटमा पर्नेछ, यो कुरा लेखेर राखे हुन्छ । त्यस्तै, त्यागी, बौद्धिक र विचारक नेता रामचन्द्र पौडेलबाट पनि आजका राजनीतिकर्मीहरूले पाठ सिक्नुपर्ने देख्छु ।
० तपाईं समाज र देशका लागि केही गरौँ भनी लागिपरेको व्यक्ति हुनुहुँदोरहेछ, राजनीति र समाजसेवा गरिरहनुभएको छ, पार्टी सङ्गठनका लागि खटिरहनुभएको छ, तर विरोधीहरूले नराम्रो प्रचार गरिदिएका छन्, पार्टी नेतृत्वलाई तपार्इंका कामबारे कति थाहा छ होला ?
– मेरोबारेमा सभापति सुशील कोइरालादेखि सबैलाई राम्रोसँग थाहा छ । उपसभापति रामचन्द्र पौडेलज्यू त ८–१० पटक मेरो क्षेत्रमा आयोजना गरिएका कार्यक्रममै सहभागी भइसक्नुभयो । उहाँहरूले पार्टीका लागि मैले गरेको कामको प्रशंसा गर्नुभएको छ । हाम्रो पार्टीमा नेतामुखी कार्यकर्ता थुपै्र छन्, त्यस्ताहरूले नेताहरूको दिमाग घुमाइरहेछन्, म त्यस्तोमा परिनँ । आफ्नो कामबाट, इमान र लगनशीलताबाट चिनिन चाहन्छु । तर, नेताहरूको पे्ररणा र समर्थन त चाहिन्छ नै । नराम्रो काम गरे गाली गरे हुन्छ, तर म नराम्रो काम गर्दिनँ, राम्रो गरेरै चिनिन चाहन्छु ।
० टिकट पाए जित्नुहुन्छ ?
– वान हन्डे«ड वान पर्सेन्ट जितिन्छ । तर, स्थानीय क्षेत्रको परिवेश नबुझी जथाभावी उम्मेदवार थोपरिन्छ मेरो क्षेत्रमा भने त कांग्रेसले पचास वर्ष पनि चुनाव जित्दैन, त्यसैले जनभावना बुझेर टिकट दिइनुपर्छ । नेताको वरिपरि गणेश परिक्रमा गरेर चाप्लुसी गरेको भरमा मौका दिनुहुँदैन ।
० तपाईंलाई अरू पार्टीका नेताले आफ्नो पार्टीमा आउन फकाएका छैन कि छैनन् नि ?
– त्यस्तो त कति कति ! माओवादीदेखि एमालेसम्मका दलबाट मलाई राम्रो मौका दिने भन्दै प्रस्ताव गरेका छन्, तर नेपाली कांग्रेस एक मात्र प्रजातान्त्रिक र विश्वले पत्याएको दल हो भन्नेमा म विश्वस्त छु र यही दलको झन्डामुनि रहेर काम गर्नुमा आफूलाई गौरवान्वित महसुस गर्दछु ।
० कांग्रेसका नेताहरूलाई छानी–छानी अनेक मुद्दा लगाएर जेल पठाउन थालिएको छ, तपाईंलाई कस्तो लागिरहेछ ?
– कांग्रेसलाई कमजोर बनाउने चालअन्तर्गत यस्तो भइरहेको छ । खुमबहादुर खड्काजस्ता कांग्रेसका खम्बालाई जेल पठाएर कांग्रेस कमजोर बनाउन खोज्दा कैयन कांग्रेस कार्यकर्तामा निराशा छाएको हुनसक्छ । मलाईसमेत नेता खड्कासँग जोडेर ‘मीनकृष्ण पनि अब कमजोर हुन्छ’ भन्ने टिप्पणी गर्नेहरू पनि भेटिए । तर, जेल गएर न त खड्का कमजोर बन्नुभएको छ न त मीनकृष्ण नै । म निराश छैन र आमकांग्रेस साथीलाई निराश नहुन आग्रह गर्दछु । यो मुलुकमा कुनै दलको भविष्य छ भने त्यो नेपाली कांग्रेस मात्रै हो, अरू सब पानीका फोकाझैं हुन् ।
प्रतिक्रिया