बोकोहरामविरुद्ध बुहारीको यस्तो निर्देशन

बोकोहरामविरुद्ध बुहारीको यस्तो निर्देशन


नाइजेरियाको एउटा कन्या क्याम्पसमा आतंकवादी समूह बोकोहरामले यसै हप्ता गरेको आक्रमणको तत्काल अनुसन्धान थाल्न नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले निर्देशन दिएका छन् । राष्ट्रपति बुहारीले मन्त्रिपरिषद्का तीनजना सदस्यलाई घटनाका बारेमा अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।

रक्षामन्त्री मन्सुर डान अली, विदेशमन्त्री जोफ्रि ओेन्यामा र सूचना तथा संस्कृतिमन्त्री मोहम्मदलाई राष्ट्रपतिले छानविनको जिम्मा दिएका हुन् । नाइजेरियाको योबे प्रदेशअन्तर्गत पर्ने डाप्छी भन्ने गाउँमा रहेको सरकारी छात्रा प्राविधिक क्याम्पसमा गत सोमबार भएको आक्रमणको बारेमा घटनास्थलमै पुगेर सरोकारबालाहरुसँग बुझेर अनुसन्धान थाल्न राष्ट्रपति बुहारीले निर्देशन दिएका एजेन्सीहरुले जनाएका छन् ।

बुहारीले सरकारी सेना र अन्य सुरक्षा निकायहरुलाई पनि घटनास्थलमा सुरक्षा सतर्कता बढाउन र हराइरहेका विद्यार्थीहरुको खोजी तथा उद्धार गर्न आग्रह गरेका प्रवक्ताले जानकारी दिए ।

अधिकारीका अनुसार कम्तीमा ४६ जना विद्यार्थी अहिलेसम्म पनि सम्पर्कविहीन रहेका छन् । सुरुमा क्याम्पसबाट ९४ जनाभन्दा बढी विद्यार्थी हराएका थिए । बोको हरामका सशस्त्र लडाकूले नै ती छात्राको अपहरण गरेको अनुमान गरिएको छ । ती मध्ये २८ जनालाई मङ्गलबार र २० जनालाई बुधबार प्रदेश सरकारले फिर्ता ल्याएको जनाइएको छ ।

झण्डै चार वर्षअघि पनि बोको हरामले २७६ जना छात्रालाई विद्यालयबाट अपहरण गरेको थियो । अपहरितमध्ये १७० जनालाई मात्र उद्धार गरिएको थियो । योबेको छिमेकी प्रदेश बोर्नोमा पर्ने चिबोक सहरबाट उनीहरुलाई अपहरण गरिएको थियो । सम्पर्कबिहीन छात्राहरुको खोजीका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको बताइएको छ । तर अहिलेसम्म उनीहरुले ती छात्राको उद्धार गर्न सकेका छैनन् । सरकारले बोको हरामलाई आतंकवादीको सूचीमा राखेको छ ।