तेइसौं शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन उत्तर कोरियाको एक उच्चस्तरीय सरकारी टोली आइतबार दक्षिण कोरिया पुगेको छ । उच्चस्तरीय टोलीको नेतृत्व उत्तर कोरियाको सत्तारुढ दल वकर्स पार्टी अफ कोरियाको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोलले गरेका छन् ।
स्थानीय समयानुसार आइतबार बिहान ९.५३ मा उनीहरु पश्चिमी सीमा क्षेत्रमा रहेको सरकारी कार्यालयमा पुगेका स्थानीय टेलिभिजनहरुले देखाएका छन् । कालो र लामो कोट पहिरिएका टोली नेता किमलाई दक्षिण कोरियाको एकता मन्त्रालयका उपमन्त्री चुङ हाएसुङले सिमा कार्यालयमा स्वागत गरेका थिए ।
उपाध्यक्ष किम आज राती हुन लागेको सो शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुने कार्यतालिका छ । यस भ्रमणले दुर्इ देशबीचको सम्बन्ध आगामी दिनमा सुधार हुने र कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि आवश्यक सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसअघि उद्घाटन समारोहमा हुन उत्तर कोरियाको तर्फबाट किम यङ–नामको नेतृत्वको एक प्रतिनिधिमण्डल दक्षिण कोरिया पुगेको थियो । नाम उत्तर कोरियाको संसदका प्रमुख हुनुहुन्छ ।
उक्त प्रतिनिधिमण्डलमा उत्तर कोरियाली नेता किम जोन उनकी बहिनी पनि सहभागी थिइन् । उनले दक्षिण कोरियाका राष्ट्रपतिलाई भेटेर आफ्ना दाजुको तर्फबाट उत्तर कोरियाको भ्रमणका लागि निमन्त्रणा पनि दिएकी थिइन् । लामो समयपछि भएका यी उच्चस्तरीय भ्रमणलाई अन्तर्राष्ट्रिय जगतमा महत्वका साथ हेरिएको छ ।
उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तरराष्ट्रिय रुपमा आलोचना भएको छ । उसले विगत लामो समयदेखि नै दबाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ । तर यो ओलम्पिक खेलकूदमा यी दुई देशका प्रतिनिधिहरुको सहभागिताबाट भने सम्बन्धमा पछिल्लो समयमा केही सधार आएको महसुश गरिएको बताइएको छ ।
तस्बिर एएफपी रासस
प्रतिक्रिया