नवाजलाई प्रतिबन्ध लागेपछि पाकिस्तानी सत्ताधारी दलको नेतृत्व शहवाज शरीफले गर्ने

नवाजलाई प्रतिबन्ध लागेपछि पाकिस्तानी सत्ताधारी दलको नेतृत्व शहवाज शरीफले गर्ने


पाकिस्तानको सर्वोच्च अदालतले त्यहाँका पूर्वप्रधानमन्त्री नवाज शरीफलाई नेतृत्वमा रहन अयोग्य ठहर गरेपछि रिक्त रहेको सत्ताधारी दल पाकिस्तान मुश्लिम लिग–नवाज (पिएमएल–एन) को अन्तरिम अध्यक्षमा शहवाज शरीफलाई छानिएको छ । गत हप्ता त्यहाँको अदालतले शरीफ पिएमएल–एनको अध्यक्ष हुन अयोग्य रहेको निर्णय दिएको थियो ।

पिएमएल–एनको ‘ट्वीटर अकाउन्ट’मा बिहीबार एक विज्ञप्ति जारी गर्दै नवाज शरीफले नेतृत्वका लागि अन्तरिम अध्यक्षमा आफ्ना भाई शहवाज शरीफको नाम प्रस्ताव गरेका र उनको प्रस्तावलाई दलको लाहोरमा भएको केन्द्रीय समितिले एकमतले अनुमोदन गरेको जनाइएको छ । छैसठ्ठी बर्षीय शरीफ हाल पञ्जाव राज्यको मुख्यमन्त्री हुछन् ।

दलले नवाज शरीफलाई दलको आजीवन नेताका रूपमा अनुमोदन गरेको छ । उनले दलमा कुनै पद भने लिने छैनन् ।

भ्रष्टाचार आरोप लागेका पाकिस्तानी पूर्वप्रधानमन्त्री शरीफलाई निर्वाचन ऐन २०१७ विपरीत दलको अध्यक्षमा रहेको जनाउँदै परेको निवेदनमाथि अन्तिम फैसला सुनाउँदै पाकिस्तानी सर्वोच्च अदालतले गत हप्ता उनी पिएमएल–एनको अध्यक्ष रहन अयोग्य ठहर गरेको थियो । यसअघि सोही आरोपमा उक्त अदालतले नै उहाँलाई प्रधानमन्त्री रहन अयोग्य घोषणा गरेको थियो ।

अदालतले संविधान बमोजिम अयोग्य ठहर भएको व्यक्तिले राजनीतिक दलको पनि कुनै पद लिनका लागि उपयुक्त नहुने ठहर गरेको थियो ।