भ्रष्टाचार रोक्न हरेक राजनीतिकर्मीले व्यवसाय गर्नुपर्छ

भ्रष्टाचार रोक्न हरेक राजनीतिकर्मीले व्यवसाय गर्नुपर्छ


— अनिरुद्रप्रसाद ठाकुर
पारिवारिक पृष्ठभूमि नै राजनीति भएकाले अनिरुद्रप्रसाद ठाकुरले राजनीतिलाई आत्मसात् गरेका थिए । हजुरबुबा सुन्दर ठाकुर र बुबा लक्ष्मण ठाकुरले नेपाली काङ्ग्रेसका महानायक विश्वेश्वरप्रसाद कोइरालाको नीति र मार्गदर्शनबाट प्रभावित भएर सारा जीवन राजनीतिमा बिताएपछि उनले पारिवारिक बिँडो थाम्न राजनीतिमा प्रवेश गरेका थिए । ०३८ सालदेखि स्कुलले जीवनबाट राजनीति शुभारम्भ गरेका ठाकुरले पिछडिएको आफ्नो समाजको उत्थान र पहिचानका लागि अहिलेसम्म सङ्घर्ष गर्दै आएका छन् । पुख्र्यौली पेसा ‘नाई’लाई अँगाल्दै मजदुरको रूपमा उनले काठमाडौंमा सङ्घर्ष गरेका ठाकुरले त्यही पेसाबाट राजनीतिक दलका नेताहरूको समिपमा पुग्न सफल भएका थिए । सर्वोच्च नेता गणेशमान सिंह, काङ्ग्रेसका पूर्वसभापति तथा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको समेत कपाल काट्ने र दाह्री बनाउने सौभाग्य पाएका ठाकुर पछि यही व्यवसायबाट राजनीतिका चर्चित व्यक्तित्वको रूपमा चिनिन पुगेका थिए । ठाकुर नाईदेखि ठाकुर समाजको अध्यक्ष बन्दासम्म उनले राजनीतिमा भोगेको उतारचढाव र सङ्घर्षबारेमा गरिएको कुराकानी ः
– तपाईंको परिवार तीन पुस्तादेखि राजनीति गर्दै आएको छ, त्यस्तो के स्वाद पाउनुभयो राजनीतिको ?
० मेरो हजुरबुबा सुन्दर ठाकुर ०१६ सालमा बीपीको हातबाट १० पैसाको सदस्यता लिएर राजनीतिमा लाग्नुभएको हो । पछि बुबा लक्ष्मण ठाकुरले पनि राजनीतिमै सारा जीवन व्यतीत गर्नुभो । उहाँहरू बीपीको आदर्श मान्नुहुन्थ्यो, उहाँको नीति र मार्गदर्शनबाट निकै प्रभावित हुनुहुन्थ्यो । म पनि यही कुराबाट प्रभावित भएर राजनीतिमा लागेको हुँ ।
– त्यसो भए जिल्लाबाटै राजनीति गर्नुभयो होइन त ?
० हो, मैले स्कुलमा पढ्दा नेविसङ्घको सदस्यता लिएर जिल्लाबाटै राजनीतिको सुरुवात गरेको हुँ । एसएलसी पास गरेपछि काठमाडौंमा मेरो राजनीतिको अर्को चरण सुरु भएको थियो । ठमेलमा न्यु हेयर डे«सर खोलेर आफ्नो व्यवसाय सुरु गरे पनि राजनीतिबाट कहिल्यै टाढा रहिनँ । मैले ०४६–४७ सालको जनआन्दोलनलाई सफल पार्न अहम् भूमिका निभाएको थिएँ । सोही आन्दोलनमा म हिरासतमा पनि परेको व्यक्ति हुँ ।
– नाई सङ्घको गठन हुँदा त्यहाँ कम्युनिस्टहरूको दबदबा थियो, अनि कसरी सङ्गठनभित्र छिर्ने अवसर पाउनुभयो ?
० म आफ्नै व्यावसायिक पहिचानबाट चिनिएको व्यक्ति भएकोले ०४७ सालमा नाई सङ्घको गठन हुँदा म उक्त सङ्घको केन्द्रीय सदस्य भएको थिए । त्यसपछि अझ सक्रिय रूपमा राजनीति गर्दै त्यसबेला विभिन्न चिरामा विभक्त भएको नाई सङ्घलाई कम्युनिस्टहरूको पञ्जाबाट निकालेर एकलौटी नेकामा गाभेको थिएँ । त्यो पनि एकल प्रयासमा । मलाई यो कार्य गर्नमा तत्कालीन अध्यक्ष राजाराम ठाकुरले पनि सहयोग गर्नुभएको थियो ।
– राजनीति गर्नेहरू सन्तुष्टभन्दा असन्तुष्ट बढी देखिन्छन्, तपाईंचाहिँ कुन कित्तामा पर्नुहुन्छ ?
० राजनीतिमा सन्तुष्टि र असन्तुष्टिभन्दा पनि म निस्वार्थ रूपमा राजनीतिमा लागेको व्यक्ति हुँ । मेरो कुरा गर्दा ढिलै भए पनि नेकाले मेरो मूल्याङ्कन गरेको छ । ठाकुर समाजलाई भ्रातृ सङ्गठनको रूपमा मान्यता प्रदान गरेर नेपालकै इतिहासमा यो समुदायलाई समेट्ने पहिलो पार्टी बनेको छ । जसलाई हामीले ठूलो गुन र उपलब्धिको रूपमा लिएका छौँ । त्यसकारण नेकाले अङ्गीकार गरेको नीति र सिद्धान्त बोकेर हामीले यो समाजलाई मुलुकका ६४ जिल्लामा कार्यसमिति गठन गर्न सफल भएका छौँ ।
– ०६६ सालको महाधिवेशनपछि सर्वसम्मतिबाट अध्यक्ष बनेर तपाईं यो समाजको नेतृत्व गरिराख्नुभएको छ, त्यसपछिका चुनौतीलाई कसरी आत्मसात् गरिरहनुभएको छ ?
० कुनै पनि जिम्मेवारी आफैँमा चुनौतीपूर्ण हुन्छ, यसमा सायदै दुईमत होला । अझ एकदमै पिछडिएको समुदायको नेतृत्व गर्दा र उसको हक, अधिकार, उत्थान र पहिचानका लागि लड्दा कडा चुनौतीको सामना गर्नु स्वाभाविकै हो । मैले ०६७ सालदेखि ठाकुर समाजको नेतृत्व सम्हालेपछि अहिले हामी एक सशक्त सङ्गठनको रूपमा अगाडि आएको पार्टीले पनि स्वीकारेको छ । त्यसैले अब केन्द्रीय राजनीतिमा पनि पहुँच बनाउने उद्देश्य राखेका छौँ । जसबाट नेका र समुदायको उत्थान हुने विश्वास लिएको छु ।
– अहिले प्रायः सबै राजनीतिक दलहरूमा जातीयका कुराहरू सशक्त ढङ्गले उठ्ने गरेका छन्, यसमा तपाईंको धारणा के छ ?
० हाम्रो समाजले जहिले पनि जातीय राज्यको विरोध गर्दै आएको छ । हाम्रो मान्यता जातीय विभाजन गरेर आपसमा फुट ल्याउनुभन्दा सबै मिलेर संविधान बनाउनुपर्छ भन्ने कुरामा केन्द्रित रहेको छ । यसका लागि हामीले संविधानसभाको विघटनपश्चात् पनि दिएको दबाबबाट पनि प्रस्ट हुन्छ । हाम्रो पार्टी फुटको राजनीतिमा नभई मेलमिलापको कुरामा विश्वास गर्ने लोकतान्त्रिक पार्टी भएकोले हामी यही कुरामा विश्वास राख्छौँ ।
– तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकार ढल्दा गाई, भाइ र नाईको प्रमुख भूमिका थियो भन्छन्, यसमा तपार्इं के भन्नुहुन्छ ?
० ०५२ सालमा मनमोहन अधिकारीको सरकार भएको बेलामा नेपाल नाई सङ्घ मजदुरहरूको हकहित र ठाकुर समाजको हितका लागि श्रम अदालतको गठन, बँधुवा मजदुरी र घर बहान ऐन कार्यान्वयनलगायतका नौ सूत्रीय माग राख्दै आमरण अनशनमा बसेको थियो । ६ जना साथीले १३ दिन आमरण अनशन बसेकै दिन मनमोहन सरकार ढलेको थियो । त्यसबेला सञ्चारमाध्यमहरूले भाइ, गाई र नाईले गर्दा सरकार ढलेको समाचार सम्प्रेषण गरेकाले त्यसो भनिएको हो । यो सत्य कुरा पनि हो । यो घटनापछि हाम्रो समाजको चर्चाले पनि व्यापकता पाएको थियो ।
– प्रसङ्ग बदलौँ, तपाईं एक राजनीतिकर्मी अहिले ‘हलिउड हेयर एन्ड ब्युटी सैलुन’ खोलेर आफ्नो व्यवसाय सञ्चालन गरिराख्नुभएको छ, नेताले व्यवसाय गर्नुलाई के भन्नुहुन्छ ?
० सर्वप्रथम यो मेरो पुख्र्यौली पेसा हो । यो पेसाको जगेर्ना गर्न मेरो र यो समाजको मुख्य दायित्व हो । अहिले शिक्षित युवा बेरोजगार वर्ग जुन काम नपाएर रोजगारीका लागि विदेश पलायन भइरहेका छन्, उनीहरूको रोकथामका लागि पनि मैले यो व्यवसाय सञ्चालन गरेको हुँ । बेरोजगार युवाहरूलाई स्वदेशमै उचित तालिमको व्यवस्था गरी यो ब्युटिसियनको माध्यमबाट एक सक्षम जनशक्तिको उत्पादन गर्नेमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ठानेको छु ।
जहाँसम्म नेताले व्यवसाय गर्नेको कुरा छ, त्यो सबै राजनीतिकर्मीले गर्नुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ । यसर्थमा कि सर्वप्रथम यसले नेताहरूलाई भ्रष्टाचारी बनाउनबाट रोक्छ र भ्रष्टाचारलाई नियन्त्रण गर्छ । अर्को कुरा यसले समाजमा सकारात्मक सन्देशको प्रवाह गर्ने भएकोले नयाँ नेपाल बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
– अन्त्यमा अहिलेको नेपालको राजनीतिलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
० यो सबै राजनीतिक र संवैधानिक जटिलताको गाँठो पार्ने काम बाबुराम नेतृत्वको सरकारले गरेको हो । त्यसैले सर्वप्रथम प्रधानमन्त्रीले कुर्सीको मोहमा नपरी बाटो प्रसस्त गर्ने काम गर्नुपर्छ । मुलुकलाई निकास दिएर नयाँ ट्रयाकमा ल्याउनुपर्छ । अहिलेको जटिल अवस्थालाई चिर्न राष्ट्रिय सहमति गरी नेकाको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्छ । मुलुकलाई निकास र जनतालाई राहत दिनसक्ने पार्टी नेका मात्र भएकोले अहिले त्यसो गर्नु आवश्यक पनि छ । – नविन उप्रेती