एकीकृत नेकपा माओवादीकी नेतृ एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईकी धर्मपत्नी हिसिला यमी निक्कै चर्चामा हुनुहुन्छ । उहाँको बालुवाटारको जीवन कस्तो छ, उहाँले प्रधानमन्त्रीलाई सफल बनाउन कस्तो भूमिका निर्वाह गरिरहनुभएको छ र उहाँको दशैँ बिताउने योजना कस्तो छ ? घटना र विचार साप्ताहिकका लागि ऋषि धमलाले गरेको कुराकानी
यसपटकको दशैँ कसरी मनाउने योजनामा हुनुहुन्छ ?
यसपटकको दशँै देशको भविष्य कतातिर जान्छ भन्ने चिन्ता र चिन्तनमा बित्छ । म एक्लै देशको चिन्ता र निकासको चिन्तनमै बिताउँछु ।
दशैँखर्च माग्नेहरू कत्तिको आउने गर्छन् ?
यस्तो कुरामा हाम्रो ध्यानै जाँदैन । हिजो दुई लाइन सङ्घर्ष हुँदा केही समस्या थियो । अहिले त्यस्तो समस्या छैन, हाम्रो सम्पूर्ण ध्यान पार्टीमा केन्द्रित हुने गर्दछ ।
आर्थिक लेनदेनको विषयमा बाहिर धेरै कुरा आएको छ, वास्तविकता के हो ?
तपाईंको बारेमा पनि धेरै पत्रिकामा आउँछ नि ऋषिजी त्यसलाई के भन्नुहुन्छ ? म त हिजोआज कुनै दिन पत्रिकामा नाम आएन भने किन आएन भनेर भन्न थालेकी छु । सुरुसुरुमा त यस्तो अफवाहमा रिस उठ्थ्यो, अब त
हाँसो उठेर आउँछ ।
मुलुकले निकास पाउनेमा कत्तिको आशावादी हुनुहुन्छ ?
म आशावादी छु । मङ्सिर ७ गतेसम्म मुलुकले कुनै न कुनै रूपमा निकास पाउनैपर्छ ।
निकासका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले छाड्नुपर्छ कि रहनुपर्छ भन्नुहुन्छ ?
यो रहनुपर्ने र छाड्नुपर्ने विषय नै होइन । अहिलेको कुरा भनेको यो देशलाई भ्याकुममा छाड्नु हुन्छ कि हुन्न भन्ने हो । दलहरूबीच सविधानको विवादित विषयमा सहमति भएपछि पो छाड्ने हो, त्यसै छाड्ने भन्ने कुरा कसरी हुन सक्छ ?
प्रधानमन्त्रीले राजीनामा दिएर निकास दिनुपर्छ भन्ने जनमत छ नि ?
जनमतभन्दा पनि मुख्य कुरा भनेको अहिले सरकारमा नभएका दलहरू नर्भस भइरहेका छन् । उनीहरूको एकतामा पनि अलमल छ, अझै सत्ताको कुरामा अन्तरिम संविधानले पनि उनीहरूलाई अलमलमा पारेको छ । पार्टीगत रूपमा विश्वास गर्ने भन्ने अनि त्यसविपरीत आफ्नै खुट्टामा आफैँ बन्चरो हान्ने गरी प्रधानमन्त्री निवास र कार्यालय नआई अन्य–अन्य कार्यालयमा गइरहेका छन् । यतिबेला प्रधानमन्त्रीलाई बहिष्कार गर्नु भनेको दलगत प्रणालीलाई बहिष्कार गर्नु हो । राष्ट्रपतिकोमा गएर दलगत स्वार्थ पूरा गर्न खोज्नु राजनीतिमा अनाडीपन हो उनीहरूको ।
राष्ट्रपतिले प्रधानमन्त्री हटाउन सक्नुहुन्न र ?
सदन नभएको बेला प्रधानमन्त्री, राष्ट्रपति र प्रधानन्यायाधीश मिलेर अघि बढ्नुपर्छ । यी तीन शक्ति मिलेर मात्रै देशमा निकास निकाल्न सकिन्छ ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच आरोप प्रत्यारोप छ, कसरी मिल्नुहोला ?
राष्ट्रपतिले पनि सहमतिमा जारी गतिरोधबाट मुलुकलाई निकास देऊ भनेर दलहरूलाई भन्ने र प्रधानमन्त्रीले पनि सबै दलहरूलाई बोलाएर अन्योलको स्थितिलाई धेरै लम्ब्याउनु हुँदैन, भनेर प्याकेजमा सहमति गरेर अघि बढ्नुपर्छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच सहकार्य बढाउनैपर्छ । तपार्इंहरू पत्रिकाको कुरामात्रै नगर्नुस्, मलाई पत्रिकाले सबैभन्दा भ्रष्ट, यसले जति पैसा कसैले कमाएको छैनन् भनेर भनेका छन् । के म त्यस्तोखाले मान्छे हो र ? मेरो अनुहार हेर्नुस्, मेरो लगाई हेर्नुस्, मेरो नाममा कुनै सम्पत्ति छ ? घरजग्गा छ ? भएको बैंकमा अलिकति पैसा हो त्यसको स्रोत त भेटिहाल्छ नि । त्यस्तै हो राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्धको विषयमा आएका समाचारहरू । सत्यमा आधारित छैन ।
पैसाको कुरा उठ्दा तपाईंलाई सुजाता कोइरालासँग जोडेर हेर्छन् ?
सुजातासँग कति होला मलाई थाहा छैन । मलाई कसैसँग तुलना पनि नगर्नुहोला तर मसँग जे छ चार वर्ष सभासद् हुँदा, चार–चारपटक मन्त्री हुँदा त्यो सबै बैंकमा प्रस्ट हुन्छ, जसले हेरे पनि हुन्छ ।
त्यसो भए तपाईंले बालुवाटारमा बसेर पैसा कमाउनुभएको छैन ?
मेरो बैंक खाता हेर्नुस्, मेरो नाममा कसैले घरखेत भेट्छ भने जसले पत्ता लगाउँछ म उसैको नाममा पास गरिदिन्छु । सानेपामा पहिला हामी बसेको घर पनि हाम्रो होइन, त्यो पनि हल्ला मात्रै हो ।
आफ्नो नाममा नराखी अरूको नाममा राख्नुभयो होला नि ?
त्यो खोज्ने त तपाईंहरूको काम हो नि । त्यस्तो भएको भए त म यसरी सार्वजनिक रूपमा बोल्दै बोल्दिनँ थेँ । मैले कसका लागि पैसा कमाउनुपर्छ र म आफैँ पढे–लेखेको मान्छे, अब बाबुराम भट्टराईलाई, छोरीलाई कसका लागि पैसा कमाउने सबै आ–आफ्नो क्षेत्रमा सक्षम छन् । हामी आफैं सेलेबल मान्छे हौँ ।
तपार्इंले बालुवाटारबाट समानान्तर सरकार चलाउनुभएको छ भनिन्छ नि ?
यो सरकार एउटा सिष्टममा चलेको छ । यसलाई मैले पूर्ण साथ दिएकी छु । म सरकार एउटा सिष्टमबाट चलोस् कि एउटा भान्साबाट आएको महिलाले समेत सरकार चलाउन सकोस् ।
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा र नहुँदामा तपाईंहरूको सम्बन्धमा कस्तो भिन्नता छ ?
बाबुराम भट्टराई भनेको पावरबाट डराउने व्यक्ति हो । उहाँ विवाहलाई पनि बोझ मान्ने विवाह नै नगर्ने पक्षको मान्छे । हुनुपर्ने उहाँ जोगी हो । बरु मसँग विवाह गरेर अलिअलि परिवर्तन भएको भने हो । मैले गरेर प्रधानमन्त्री बन्नुभएको त होइन तर पावर एक्सरसाइजचाहिँ अलिअलि गर्नुपर्दो रहेछ भनेर बल्ल उहाँले बुझ्नुभएको छ । पावर एक्सरसाइज गर्ने ठाउँमै गएर पावर एक्सरसाइज नगर्ने हो भने केका लागि त्यहाँ पुगेको भन्ने प्रश्न उठ्न थाल्यो नि त । अहिले उहाँले ठीक–ठीक ठाउँमा पावरको प्रयोग गरिरहनुभएको छ । औद्योगिक क्षेत्र, बिप्पा सम्झौता, मुख्यसचिव नियुक्ति, प्रहरी महानिरीक्षक र अहिले पद नछाड्ने विषयमा पनि स्ट्याण्ड लिइरहनुभएको छ ।
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा र नहुँदामा तपाईंहरूको प्रेम–सम्बन्धमा कस्तो भिन्नता छ ?
पहिला त प्रेम थियो तर अहिले उहाँको अवस्था देखेर माया लाग्छ । यतिबिघ्न व्यस्तताका बीच पनि किताब पढ्नैपर्ने अनि कतिखेर हाम्रो कुराकानी हुन पाउने, त्यसै भएकोले पहिला प्रेम थियो अहिले माया लाग्छ । राति सुत्नुभन्दा पनि किताब पढ्नुहुन्छ ।
खान र लाउनमा प्रधानमन्त्रीको चासो कत्तिको छ ?
खानामा उहाँ सिम्पल खानुहुन्छ । त्यही हो तरकारी, दाल, भात नै हो । लाउनमा पहिला कोट लगाउनुहुन्नथ्यो, अहिले कोट र टोपी छाड्नुहुन्न, त्यति नै हो ।
राजनीतिमा बाबुराम भट्टराई र हिसिला यमीको उत्तराधिकारी को ?
हामी माक्र्सवादी भएको नाताले वस्तुस्थितिले कस्तो नेतृत्व खोज्छ त्यो समयलाई छाडिदिनुपर्छ । मनुषी आफ्नै बलबुताले राजनीतिमा लागेकी छिन् । उनले देशको वस्तुगत स्थितिअनुसार भिजन दिन सके स्थापित हुनसक्छिन् नभए सक्दिनन् ।
बालुवाटरमा पसेपछि मन परिवर्तन हुन्छ भनिन्छ नि ?
त्यो मान्छे हेरेर हुन्छ, हामी तीनजना कस्तो पर्यौ भने नि यो देशमा सबैभन्दा शिक्षित परिवार हाम्रै होला । त्यसमा पनि बाबुराम भट्टराई गाउँको हुनेखानेकै परिवारबाट आएको मान्छे हो । त्यसैले हाम्रो संस्कृति उच्च छ । कल्चर हाई नभएका मानिस ह्वात्तै बढेका पनि हुन्छन्, उनीहरूको बालुवाटार बसाइ र हाम्रो बसाइमा फरक छ । हामीलाई मौकाको फाइदा उठाउने कुरै आउँदैन । म माइतीकी कान्छी, त्यसै भाग्यमानी, त्यसमा पनि भारतका बेस्ट कलेजमा पढ्ने अवसर पाएँ, अहिले ‘वन अफ द बेस्ट हसबेन्ड’ पाएँ, अब दिनुबाहेक के लिनु ?
तपाईंको चाहना के ?
देशलाई सेवा गर्न पाऊँ, देशको विकास गर्न पाऊँ । विकासको कुरामा हामी दुवैजनाको कुरा मिल्छ । हामी टेक्निकल मान्छे परेकोले पनि होला । अर्को कुरा हाम्रो विवाह पनि विचार मिलेकै कारणले भएको हो । विचार पछि गएर प्रेममा बदलिएको हो ।
प्रतिक्रिया