किम जोङ उन र डोनाल्ड ट्रम्पबीच भेट्ने सहमती

किम जोङ उन र डोनाल्ड ट्रम्पबीच भेट्ने सहमती


उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच एक आपसमा भेट्न सहमती भएको छ ।

आपसी भेटघाटका लागि उत्तर कोरियाका नेता किम जोङ–उनले अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पलाई भेटवार्ताका लागि निमन्त्रणा गरेका हुन् ।

उनको निमन्त्रणालाई अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकार गरेको खबर बीबीसीले जनाएको छ ।

अमेरिकाको राजधानी वासिङ्नट डिसी पुगेका दक्षिण कोरियाका एक उच्च अधिकारीले यसबारे जानकारी दिएका हुन् । उनी उत्तर कोरियाको निम्तो पत्र लिएर अमेरिका गएका थिए ।

केही समय अघिसम्म ती दुई नेताहरु सार्वजनिक रुपमा व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिएका थिए । उक्त अप्रत्याशित घोषणा उत्तर कोरियाली नेताको पत्र लिएर वाशिङटन पुगेका उच्च दक्षिण कोरियाली अधिकारीहरुले गरेका थिए ।

राष्ट्रिय सुरक्षा सल्लाहाकार चुङ यू योङले ह्वाईट हाउसमा ट्रम्प सँगको छलफल लगत्तै उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी मेमा वार्ता हुने खुलासा गरेका हुन् ।

ट्रम्पले उत्तर कोरिया सँग वार्ता गर्नुको कुनै अर्थ नभएको बताउदै आएपनि अहिलेको प्रस्तावलाई राम्रो उपलब्धिकारुपमा व्याख्या गरेका छन् ।

औपचारिक सहमतिपत्रमा हस्ताक्षर नभएसम्म उत्तर कोरियामाथिका प्रतिबन्ध भने जारी रहनेपनि ट्रम्पले बताएका छन् ।

वार्ताको वातावरण बनाउन किमलाई कुनैपनि प्रकारको थप आणविक तथा क्षेप्यास्त्र परिक्षण नगर्न प्रस्ताव गरिएको छ ।

यसअघि दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहाकार चुङ यू योङले उत्तर कोरियाली नेता किम जोङ उनसँग प्योङयाङमा वार्ता गरेका थिए ।