४५ दिनपछि मालदिभ्समा हटाइयो सङ्कटकाल

४५ दिनपछि मालदिभ्समा हटाइयो सङ्कटकाल


मालदिभ्स सरकारले बिहीबारदेखि लागू हुनेगरी सङ्कटकाल हटाएको छ । मालदिभ्समा ४५ दिनदेखि सङ्कटकाल जारी थियो ।

राष्ट्रपति अब्दुल्ला यमीनद्वारा एक प्रेस विज्ञप्ति जारी गरी ४५ दिनदेखिको सङ्कटकाल हटेको घोषणा गरिएको छ । मालदिभ्स टाइम्समा आज प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मालदिभ्सको सर्वोच्च अदालतमा कार्यरत दुई न्यायाधीशद्वारा संविधान बमोजिम बनेको सरकारलाई सत्ताबाट हटाउने अभिप्रायका साथ संविधान र स्थापित कानूनी मुल्य र मान्यता विपरित हुनेगरी राजनीतिक नेतृत्वसँग मिलेर निर्णय दिएपछि यसबाट राष्ट्रिय सुरक्षामा खतरा हुने बताउँदै सरकारको आग्रहमा घोषणा भएको सङ्कटकाल यही मार्च २२ देखि लागू हुने गरी हटाइएको छ ।’

‘महाअभियोजनकर्ताको कार्यालयको सहयोगमा मालदिभ्सको प्रहरी सेवाले भ्रष्टाचार तथा अन्य अपराधजन्य संवैधानिक सङ्कटलाई अनुसन्धान गरी अघि बढ्न सकिने देखिएकाले सङ्कटकाललाई हटाउने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

सर्वोच्च अदालतले फेब्रुवरी १ मा थुनामा रहेका प्रतिपक्षी दलका नेताहरू तथा स्वघोषित निर्वासनमा रहेका पूर्व राष्ट्रपति मोहमद नसीदको रिहाईका लागि आदेश गरेपछि राष्ट्रिय सुरक्षामा चुनौति तथा संवैधानिक सङ्कट बढेको भन्दै राष्ट्रपति यमीनद्वारा गत फेब्रुवरी ५ देखि १५ दिनका लागि जारी गरिएको सङ्कटकाल समय थप ३० दिनका लागि बढाई ४५ दिन पुऱ्याइएको थियो ।

सङ्कटकालका समय वर्तमान प्रशासनद्वारा मालदिभ्सका सर्वोच्च अदालतका प्रधान न्यायाधीश तथा एक अर्का न्यायाधीश र पूर्व राष्ट्रपति मौमुन अब्दुल गयुमलाई संवैधानिक रूपमा बनेको सरकार ढाल्ने षड्यन्त्र गरेको आरोप लगाउँदै उनीहरूलाई नियन्त्रणमा लिएको छ ।