बन्दुक नियन्त्रणको माग गर्दै अमेरिकामा प्रदर्शन

बन्दुक नियन्त्रणको माग गर्दै अमेरिकामा प्रदर्शन


वासिङटन डिसी (अमेरिका)मा बन्दुक नियन्त्रण र विद्यालयमा सुरक्षाको माग गर्दै हजारौँ प्रदर्शनकारीले प्रदर्शन गरेका छन् । ‘यस्तो फेरी कहिल्यै नहोस्’ जस्ता नारा लेखिएका बोर्डसहित प्रदर्शनकारीले विद्यालयमा बेलाबेलामा भइरहेका बन्दुक आक्रमणका घटनाको विरोध गरेका थिए ।

प्रदर्शनकारी वासिङटनको पेन्सिल्भानीया एभिन्युमा भेला भएर प्रदर्शन सुरु गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । ‘हाम्रो जीवनका लागि पदयात्रा’ नाम दिइएको ऱ्याली गत फेब्रुअरी १४ तारिखका दिन फ्लोरिडास्थित एउटा विद्यालयमा भएको घटनालाई लिएर निकालिएको हो ।

फ्लोरिडामा सोही विद्यालयका पूर्वविद्यार्थी १९ बर्षीय निकोलस क्रुजले गोली चलाउदा १९ जनाको मृत्यु भएको थियो । सो घटनापछि देशभर बन्दुक राख्न पाउने कानुनको विषयमा पुनःविचार गर्नुपर्ने भन्दै बहस भइरहेको छ ।

बन्दुक राख्नपाउने व्यवस्थाले अनाहकमा धेरैको ज्यान गइरहेकाले बन्दुक राख्नपाउने व्यवस्था तत्काल खारेज गर्नुुपर्ने प्रदर्शनकारीको माग छ । देशका लस एन्जलस, बोस्टन, फिलाडेल्फीया र न्युयोर्क सिटीलगायतका धेरै सहरमा एकै दिनमा यस्तै प्रकारका झण्डै आठ सय घटना हुने गरेको छ ।

प्रदर्शनकारीले बन्दुक होइन विद्यार्थीलाई माया गरौँ भन्ने नारा पनि लगाएका थिए । बन्दुक राख्न पाइने व्यवस्था तत्काल नहटाइएमा आगामी दिनमा यस्ता घटनामा परी अरु निर्दोष नागरिकले पनि अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्था आउनसक्नेतर्फ उनीहरुले ट्रम्प प्रशासनको ध्यानाकर्षण गराएका थिए ।

तस्बिर एपी