२००५ सालमा काठमाडौंमा जन्मनुभएका दिवाकर पन्त राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुनका स्नातक हुनुहुन्छ । सरकारी सेवामा प्रवेश गरेर सचिवसम्म बन्नुभएका उहाँ अवकाशपछि अमेरिकामा बस्दै आउनुभएको छ । तन विदेशमा भए पनि मन नेपाल र नेपालीमा समर्पित गर्नुभएका उहाँ संयुक्त राष्ट्रवादी नेपाली सङ्घ (यूएनएन) को प्रमुख सल्लाहकार हुनुहुन्छ । यूएनएनमा विश्वभरि छरिएर रहेका हजारौँ नेपाली सङ्गठित छन् । पन्त विभिन्न गैरसरकारी संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ । अत्यन्त राष्ट्रवादी सोच राख्नुहुने पन्त केही समयका निम्ति नेपाल आउनुभएको छ, उहाँसँग समसामयिक सन्दर्भहरूमा घटना र विचारले गरेको कुराकानी यहाँ प्रस्तुत छ–
० यतिबेला तपाईं अमेरिका बस्दै आउनुभएको छ, बाहिरबाट हेर्दा नेपाललाई कस्तो देखिँदोरहेछ ?
– बाहिरबाट विदेशीले देख्ने र एक नेपालीले आफ्नो देशलाई हेर्ने दृष्टिकोण फरक हुन्छ । मैले बाहिरबाट देख्दा त सकारात्मक सन्देश जान सकेको छैन । मुलुकभित्र सकारात्मक काम नभएकैले त्यस्तो देखिएको होला । म जतिबेला अमेरिका गएँ त्यसबेला देशमा संविधानसभा थियो र नेताहरूले सबै पक्षलाई मान्य हुने खालको संविधान बनाएर देशलाई निकास देलान् भन्ने झिनो आशा मैले पालेको थिएँ । तर, अब त्यो आशा सब खरानी भइसकेको छ । यही हिसाबले नेपालमा शान्ति पनि मर्दै जाने, प्रजातन्त्र पनि सुदृढ हुनुको साटो खस्किँदै जाने हो भने दिशाविहीनताको चपेटामा परेको देश के पो हुने हो भन्ने जस्तो कहालीलाग्दो चित्र देख्छु म ।
० विदेशीले चाहिँ नेपालप्रति कस्तो धारणा राख्दा रहेछन् ?
– विदेशी, खासगरी म रहेको मुलुक अमेरिकाको नेपालप्रति माया छ भन्ने मेरो बुझाइ र अनुभूति छ । नेपालको विकास प्रक्रियाबारे उनीहरूलाई चासो छ, तर हालका दिनमा नेपालमा विकसित जति पनि राजनीतिक अन्योलको स्थिति उनीहरूले देखे, यसले गर्दा नेपालीप्रति सकारात्मक भावना हुँदाहुँदै पनि नेपालप्रतिको धारणा केही नमिठो बनाउन उनीहरू विवश भएका छन् जस्तो मलाई लागिरहेछ । संसारकै एक आँखाको रूपमा रहेको नेपालको यस्तो अवस्थाले उनीहरूलाई पनि चिन्तित बनाएको छ ।
० तपाईं स्वदेश–विदेश ओहोरदोहोर गरिरहनुहुन्छ । विमानस्थलहरूमा नेपालीलाई गर्ने व्यवहार कस्तो लाग्छ तपाईंलाई ?
– यो अत्यन्त सान्दर्भिक र मार्मिक प्रश्न हो । पहिले–पहिले हामीलाई विमानस्थलमा गर्ने व्यवहार र केही वर्षयता गरिने व्यवहारमा आकाश–जमिनको भिन्नता आइसकेको छ । हाम्रो, अर्थात् नेपाली पासपोर्ट देख्नेबित्तिकै विशेष शङ्काको दृष्टिले हेर्ने, निगरानी गर्ने हतोत्साहित तुल्याउन खोज्ने, त्यत्तिकै कुराएर ढिलो गराइदिने, अरू यात्रु गइसकेपछि केरकार गर्न खोज्नेजस्ता साह्रै तीतो र पीडाजन्य व्यवहार हामीप्रति गरिन्छ । मजस्तो एक जिम्मेवार सरकारी ओहोदामा रहेर, डिप्लोम्याट पासपोर्टसमेत लिएर ट्राभल गरिसकेको व्यक्तिले समेत यस्तो व्यवहार भोग्नुपरेको छ । सगरमाथाको देश भन्नेबित्तिकै कति राम्रो व्यवहार गर्थे उहिले, तर राजनीतिक अवस्था बिगे्रपछि ठ्याम्मै उल्टो व्यवहार गरेको देख्दा साह्रै नरमाइलो लाग्छ । भ्रष्ट नेताहरू भएको देश, अशान्तिले गाँजेको देश, आतङ्कसमेत छाएको देश भन्ने प्रचार व्यापक रूपमा भएछ पछिल्लो चरणमा । त्यसैको परिणाम आज अन्तर्राष्ट्रिय यात्राहरूमा हामी नेपालीले भोग्नु परिरहेछ । देशको नेतृत्व गर्छु भन्नेहरूले राजनीतिलाई सेवा नभई व्यक्तिगत स्वार्थसिद्ध गर्ने माध्यम बनाएपछि देश र जनताले यस्तो असैह्य पीडा व्यहोर्नुपर्दो रहेछ ।
० तपाईं एक कानुनवेत्ता पनि हुनुहुन्छ । नेपालमा भइरहेका राजनीतिक घटनाक्रमहरूलाई कानुनी दृष्टिमा कस्तो देख्नुभएको छ ?
– यसमा म के भन्न चाहन्छु भने विधिको शासन, संविधानवाद, लोकतन्त्रका शाश्वत मान्यताहरू नै हुन्– देशमा सबैको मौलिक अधिकारको रक्षा गर्दै समान रूपमा जनतालाई सबै क्रियाकलापमा सहभागी गराएर देशलाई समुन्नत बनाउने मुख्य कडी भनेको । यो दृष्टिले हेर्दा म के भन्न पटक्कै हिच्किचाउँदिनँ भने बरु ०६२/६३ सालभन्दा अगाडिको शासन व्यवस्था नै ठीक थियो ।
० अन्तरिम संविधान आउने बेलासम्म तात्कालिक राजाबाट संसद्को पुनस्र्थापना घोषणा हुँदादेखि यताको प्रक्रियाहरू पूर्णरूपले कानुन या संविधानअनुसार भएको ठान्नुहुन्छ कि ठान्नुहुन्न तपाईं ?
– कानूनविद् मात्र नभई एक नेपाली नागरिकसमेत भएर हेर्ने हो भने सुरुदेखि नै हामी चुकेको अवस्था रहेको छ । दलहरूको लेखदेनको प्रवृत्तिले देशमा राजनीतिक मूल्य–मान्यतामा ह्रास आयो । हाम्रा राजनीतिक दलहरूको कमजोरी पक्रेर बाह्य प्रभावमा अन्तरिम संविधानमाथि जथाभावी छेडछाड गर्ने काम भयो । पहिले प्रस्तावना नभएको कुरा थप्दै गणतन्त्र र के–के यस्तै घुसाउने काम भयो । संविधानलाई कमजोर बनाउने काम मात्र नभई सबैलाई ग्राह्य हुने नयाँ संविधान बन्न नदिने दुष्कर्म पनि यहीबीच भए । समग्रमा भन्नुपर्दा अहिले जे–जति क्रियाकलाप राज्यका जिम्मेवार निकायहरूबाट भइरहेका छन्, यसमा संविधान मिच्ने या त्यसको अनादर गर्ने काम नै भइरहेका छन् भन्ने त सामान्य चेतना भएकाले पनि बुझ्न सक्ने कुरा हो ।
० तपाईंले क्लिनिकल्ली संविधान मरिसकेको कुरा गर्नुभयो, यो अवस्थामा वर्तमान संविधानबाट कुनै विकास निस्कने देखिँदैन, हो ?
– निश्चित रूपमा यो संविधानले कुनै निकास दिन सक्दैन । यस्तो अप्ठ्यारो अवस्थामा हामी पुगिसकेका छौँ । चाहेमा राष्ट्रपति वा शक्ति भएको अर्को कसैले पनि निरङ्कुश अधिनायकवाद लाद्न सक्ने अवस्था छ अहिले । त्यसैगरी यो अवस्था बुझेर जनता पनि अराजकतामा उत्रिन सक्ने खतरा पनि त्यत्तिकै छ । धन्य हो, त्यसरी जनता अराजक बनिसकेका छैनन् ।
० संविधानले पनि काम नगर्ने, दलहरू सहमतिमा नपुग्ने, राष्ट्रपतिले पनि केही गर्न नसक्ने भनेपछि के उपायले वर्तमान समस्याबाट पार पाउन सकिएला जस्तो लाग्छ त तपाईंलाई ?
– यसबारे यसरी प्रस्ट पारौँ– अहिले एकथरीले राष्ट्रपतिलाई आफ्नो अभीष्ट सिद्धिका लागि चाहिनेभन्दा बढी उत्तेजित बनाएर अगाडि ल्याउन खोजेको देखिन्छ भने अर्कोथरीले कसरी राष्ट्रपतिलाई कमजोर पारेर समाप्त गर्न सकिन्छ भनेर दाउ हेरिरहेको, कसरत गरिरहेको प्रतीत हुन्छ । यी दुई राजनीतिक धार उज्जिरहेमा कुनै पनि बेला यो तरबारको धारले राष्ट्रपतिलाई नै मार हान्न सक्छ । धारा ३८ को कुरा जो गरिँदै छ, यो त मुहान काटिएको पानी नआउने धारा हो । तथापि सबै ढोका बन्द भएर निसास्सिएजस्तो भएको अहिलेको अवस्थामा निकास निकाल्न पहल गर्ने जिम्मेवारी त राष्ट्रपतिमै आउँछ । तर, उहाँले आफू विवादबाट मुक्त हुँदै सबै जनताको आवाजलाई प्रतिनिधित्व गर्ने गरी आह्वान गर्नुपर्ने हुन्छ । अहिलेका चार–पाँचवटा दल नै सर्वोपरी हुन्, यिनैलाई सहमतिको जिम्मा दिएपछि भइहाल्छ भन्ने राष्ट्रपतिले ठानेका छन् भने त्यो भूल हो । जनताको ठूलो तप्का यी चार–पाँच दलभन्दा बाहिर छन् । उनीहरू दलका क्रियाकलापबाट विरक्तिएर मुर्मुरिँदै सबै निकालिरहेका छन् । तसर्थ, ‘बृहत् राष्ट्रिय सहमति’ खोज्ने प्रयास राष्ट्रपतिबाट हुनुपर्छ । बृहत् राजनीतिक शक्तिभित्र राजनीतिक दलहरू पनि आउँछन्, नागरिक समाज पनि आउँछ, विभिन्न पेसागत सङ्गठन पनि त्यसमा आउँछन् भने जनजाति, आवश्यकता पर्दा नेपाली सेना र यहाँसम्म कि हिजो जबर्जस्ती पाखा पारिएको राजसंस्थालाई पनि त्यहाँ समाविष्ट गरिनुपर्छ । यसरी बृहत् क्षेत्रको बीचमा छलफल भएपछि अब के गर्नुपर्ने हो भन्ने कुराको एउटा न एउटा निचोड निस्कन्छ । संविधानसभा मात्र समस्या निकासको एक मात्र उपाय हो भनेजस्तो गरी आज यहाँ जो वकालत गर्ने गरिएको छ, यो भ्रमबाट सबैले मुक्त हुनैपर्छ ।
० राजतन्त्र पुनर्वहाली गर्नुपर्छ भन्न खोज्नुभएको तपाईंले ?
– राजतन्त्रकै पुनर्वहालीको वकालत गरेको होइन मैले, तर यो बुझ्नुपर्छ कि राजसंस्थाको छहारीमा रहेर नेपाली भएर देशका लागि केही गर्न सकिन्छ, गर्छौं भन्ने तप्का पनि यहाँ मुखरित भइरहेको छ । यसर्थ लोकतन्त्रमा सबैको आवाज सुनिनुपर्छ, सबै विचारहरूले अटाउन पाउनुपर्छ, कुनै पनि विचार पूरै काम नलाग्ने या जम्मै काम लाग्ने हुन सक्छ जस्तो मलाई लाग्दैन । राम्रा कुराको सुनुवाइ र कदर हुनैपर्छ ।
० अहिलेको संविधान मृततुल्य भएको अवस्थामा ०४७ सालको संविधान स्वत: क्रियाशील हुने परिस्थिति पनि छ भन्छन् नि कतिपय, तपाईं के देख्नुहुन्छ ?
– अन्तरिम संविधान भनेकै स्थायी संविधान नबनेसम्मका लागि हो । संविधानसभा नै नरहेको अवस्थामा अन्तरिम संविधानको औचित्य त समाप्त भइसकेकै हो । ‘गोल्डेन प्रिन्सिपल अफ ल’ले के भन्छ भने नयाँ भनिएको कायम हुन सकेन भने पुरानोले नै काम गर्छ । यसका आधारमा ०४७ को संविधानलाई लिएर कहाँ–कहाँ त्यसलाई अपरेसन गर्नुपर्ने हो गरेर काम चलाउन खोज्दा नाजायज हुँदैन, अहिलेको भन्दा त हित नै हुन्छ भन्छु म । तर, समय धेरै अघि बढिसकेको हुँदा त्यसैको वकालत गर्न म चाहन्नँ । बरु मोहन वैद्यहरूले भनेझैँ सर्वपक्षीय गोलमेच सम्मेलन नै उपयुक्त होला ।
० यसबीचमा हिन्दू राष्ट्रको राष्ट्रिय पहिचानलाई विस्थापन गर्ने काम भयो, सङ्घीयता र जातीयताको कुराहरू आएको छ, यी सबै एजेण्डाहरूलाई जीवित राखेर मुलुकले निकास पाउने सम्भावना देख्नुहुन्छ ?
– अहिलेको जनगणनाले प्रस्ट्याइसक्यो कि ८१ प्रतिशत भन्दा बढ्ता नेपाली हिन्दू धर्मावलम्बी छन् । यसले के प्रस्ट पार्यो भन्दा वाह्य ‘इन्ट्रेस्ट’मा धर्मनिरपेक्षता घोषणा गरिएको छ यहाँ । सङ्घीयताबारे पनि विचारै नगरी, होमवर्क नै नगरी हतारमा ल्याइएको हो । यस्ता कुरालाई जनतामा पुर्याएर व्यापक छलफल गरेपछि मात्रै यिनको औचित्य–अनौचित्य प्रस्टिन्छ । त्यत्तिकै लाद्न खोज्नु जनतामाथि घात मात्र नभई भोलि नेता वा दलहरू आफैँमाथि समेत लात् सावित हुनसक्छ यो ।
० समस्त दलका नेता, बुद्धिजीवी र नेपाली जनतालाई के भन्न चाहनुहुन्छ ?
– यस्तो अवस्थामा मेरो सुझाव यही हुन्छ कि अब कुनै पक्ष–विपक्षको हानथाप गर्न भएन, घृणित व्यक्तिगत राजनीतिक उद्देश्य परिपूर्तिका लागि देशलाई धरापमा पार्न भएन, भाइचारा खल्बलिने मुद्दा र नाराको उठान कतैबाट गर्नुभएन, मातृभूमिको भार तिर्नुपर्छ भन्ने बिर्सनु भएन । राजनीतिक दलहरूले ‘राम्रो’ गरेर जनताको विश्वास जित्ने अभीष्ट बनाउनुपर्यो । सबभन्दा पहिले सबै पक्ष एक ठाउँमा आऔँ । कार्यकर्ता मात्र जनता होइनन् र पौने तीन करोड नेपाली सबै राजनीतिक दलका कार्यकर्ता मात्र छैनन् भन्ने बोध दलका नेतृत्वकर्ताहरूमा हुनुपर्यो । मुख्यत: देशप्रति सबै इमानदार हुनुपर्यो, देशलाई छातीमा राखेर काम गर्नुपर्यो ।
मलाई बात लगाउनेहरूको कल्याण होस्—:दीनबन्धु पोखरेल (आध्यात्मिक तथा सामाजिक जागरण अभियन्ता)
धार्मिक सहिद स्वर्गीय पण्डित नारायणप्रसाद पोखरेलका सुपुत्र भए पनि आज पण्डित दीनबन्धु पोखरेलको आफ्नै पहिचान छ । विभिन्न महायज्ञको आयोजना, पुराण–कथा प्रवचनमार्फत दान–दातव्य सङ्कलन गरी स्कुल, अस्पताल, धर्मशाला आदि निर्माणमा महत्र्वपूर्ण योगदान पुर्याउँदै आएका प्रखर, विद्वान् युवा पण्डित दीनबन्धुले धार्मिक–सामाजिक अभियानमार्फत राज्यलाई भौतिक रूपमा समृद्ध तुल्याउने मात्र नभई धर्म र विज्ञानको समन्वय गराई युवापुस्तालाई आफ्नो सनातन मूल्य–मान्यताप्रति प्रतिबद्ध तुल्याउने अभियानसमेत सञ्चालन गरिरहेका छन् । व्यक्ति, परिवार, समाज, देश र सिङ्गो संसारलाई नै शान्तिपूर्ण तुल्याउने अभियानका अभियन्ता पण्डित दीनबन्धुको समयसापेक्ष र मन्त्रमुग्ध तुल्याउने धार्मिक प्रवचनको माग आज स्वदेशमा मात्र नभई विदेशमा समेत बढेको छ । प्रवचनकै सिलसिलामा दुबई, कतारदेखि बेलायत, अस्ट्रेलिया, बेल्जियम, जर्मनी, फ्रान्स, अमेरिकालगायतका मुलुक पुगी त्यहाँ सनातन हिन्दू धर्मका अमृतमय ज्ञानधारा सिञ्चित गरिरहेका युवा पण्डितसँग गरिएको कुराकानीका प्रमुख अंश प्रस्तुत गरिएको छ ।
० तपाईं किशोर उमेरदेखि नै धार्मिक तथा आध्यात्मिक प्रवचनमार्फत समाजसेवामा लागिपर्नुभएको छ, किन यो क्षेत्र रोज्नुभयो ?
– यसमा २–३ वटा कारण छन् । पहिलो कुरा त मेरा पिताजी स्वर्गीय नारायणप्रसाद पोखरेलले धार्मिक अभियानमार्फत समाजको विकास गर्ने नितान्त नौलो अभियान थाल्नुभएको र त्यस अभियानमा आफूलाई समाहित गर्ने मेरो पनि उत्कट अभिलाषा रहेकोले म यसतर्फ तानिएको हुँ । पिताजीको असामयिक अवसानपछि त यो विषयलाई उठान गर्ने र थप गति दिएर पिताजीको सपनालाई नवीनतम् ढङ्गले साकार गर्नुपर्छ भन्ने लाग्यो । अर्को कुरा मलाई सानैदेखि मिडियामा आउने रहर पनि थियो । त्यसका लागि पिताजीको अभियानलाई मैले एक उत्तम माध्यमका रूपमा पाएँ । उहाँको अवसानपछि धेरै भक्तजन तथा शुभचिन्तकले ‘पण्डित नारायण पोखरेलकै घरबाट कसैले यो अभियानलाई निरन्तरता दिए हुन्थ्यो’ भन्ने चाहना राखेको पाइयो र उहाँहरूको सो चाहनाको सम्मान पनि हुने र समाज रूपान्तरणको प्रक्रियामा होमिन पनि पाइने ठानेर आध्यात्मिक प्रवचन दिन थालेको हुँ मैले ।
० अहिलेसम्म कतिवटा जति महायज्ञ गराउनुभयो तपाईंले ?
– लगभग दुई सय २५ पुगे होलान् ।
० अनि त्यसबाट कतिजति रकम उठ्यो होला, केही हिसाब छ ?
– नेपालमा मात्रै २० अर्बभन्दा बढी उठिसक्यो भन्ने लाग्छ ।
० यत्तिका रकम उठेछ, त्यसबाट समाजका लागि के–कति र कस्ता काम भए होलान् नि ?
– एक सय ८० भन्दा बढी विद्यालय बनेका छन् । झन्डै ३०–४० वटा अस्पताल बने । पुलपुलेसाको काम पनि भएको छ । वृद्धाश्रम र धामहरू निर्माण भएका छन् । बहुउद्देश्यीय सामुदायिक भवन निर्माण भएका छन् । यस्तै–यस्तै भौतिक समृद्धिको प्रयोजनमा रकम प्रयोग भएको देखे–बुझेको छ ।
० अब यस्तै महायज्ञ र प्रवचनमा नै आनन्द लाग्न थाल्यो होइन तपाईंलाई ?
– भौतिक समृद्धि मात्रै भन्दा पनि आमसञ्चार र समाजले यस अभियानलाई नवीनतम् ढङ्गबाट हेर्नुपर्छ । दीनबन्धु पोखरेल जाने, पुराण वाचन गर्ने र पैसा उठाइदिने मात्रै भन्दा पनि यो अभियानलाई व्यापक आयामबाट हेर्नुपर्ने हुन्छ । म मानव धर्मको कुरा गर्छु, मानव जातको कुरा गर्छु, समाजमा देखिएका दलीय, वर्गीय, साम्प्रदायिक, भाषिक, जातीय विभेदीकरण र विद्वेषको समूल अन्त्यका लागि म काम गरिरहेछु । म जहाँ पुग्छु त्यहाँ ‘मानव मिलन समाज’ आयोजना भइरहेको अर्थमा मैले लिने गरेको छु । मानव–मानवबीच विद्वेष र फुट होइन सहकार्य, भाइचारा र एकता हुनुपर्छ भनेर मैले आफ्ना प्रवचन कार्यक्रमहरूलाई त्यसअनुरूप सार्थक बनाउन खोजेको हुन्छु । छुवाछुत र बलिप्रथाजस्ता विकृति–विसङ्गतिहरूको अन्त्य गर्दै हाम्रो धर्म वैज्ञानिक छ भन्ने झल्काउनु पनि मेरो उद्देश्य हो ।
० युवा वर्गलाई पनि समेट्छ कि तपाईंको अभियानले ?
– अवश्य । युवालाई पनि आध्यात्मिक धारमा समाहित गरेको छु मैले । युवामा आएको आध्यात्मिक जागरणले त्यो युवा शान्तिकामी व्यक्तिका रूपमा अगाडि बढ्छ । उसमा आएको शान्तिकामी चिन्तनले परिवार र समाजमा शान्ति छाउँछ, फलत: राष्ट्र नै शान्तिको मार्गमा उन्मुख हुन्छ । हाम्रो अभियानले युवाहरूलाई व्यावहारिक रूपले नै शान्तिकामी मूलधारमा समाहित गरेर राष्ट्रमा दिगो शान्ति स्थापना गर्न सघाउनेमा म विश्वस्त छु । नेपाली मोडालिटीको आध्यात्मिकता विकास गर्नकै लागि म नेपाली टोपी शिरमा कहिल्यै छुटाउँदिनँ । राष्ट्रियताको जगेर्ना गर्न पनि यो अभियानले ठूलो काम गरेको छ । समाजमा रहेका सम्भ्रान्त वर्गको पहुँचमा रहेको निष्क्रिय रहेको पुँजीलाई समाजमा दान गराएर गरिब–निमुखाका छोराछोरीले पढ्न पाउने, अस्पतालको मुख देख्न पाउने काममा खर्च गराएका छौँ हामीले । आर्थिक समानताको समान वितरणका पक्ष पनि यसर्थ यसमा समेटिएका छन् । त्यसैले यो अभियान धार्मिक, सांस्कृतिक, अर्थिक र सामाजिक अभियान पनि हो । विकृतिको अन्त्य गर्दै सांस्कृतिक मूल्य–मान्यताको जगेर्ना गर्न यसबाट ठूलो टेवा पुगेको छ । झट्ट हेर्दा दीनबन्धुले गएर नचाउने मात्र ठान्दा हुन् मानिसले तर यो अभियानमा अन्तर्निहित दायरा धेरै फराकिलो छ ।
० अरू पण्डितहरूको तुलनामा तपाईंको प्रवचनमा मानिस विशेष रूपले आकर्षित भएकोचाहिँ किन होला जस्तो लाग्छ ?
– मानिसलाई प्रवचनमार्फत सम्मोहन गर्न सक्ने मभित्र त्यस्तो कुनै विशेष शक्ति छ भनेर दाबी या आत्मप्रशंसा गर्न म सक्दिनँ, यसो गर्न सुहाउने कुरा पनि भएन । तर, यसो हुनुको कारण के होजस्तो मलाई लाग्छ भने वाचकको शैली, उसको प्रस्तुति, उसका वैयक्तिक वाक् चातुर्यता या वाकुपटुता सँगसँगै ज्ञान र धर्मलाई विज्ञानसँग समायोजन गरेर दिइने प्रस्तुतिका कारण मप्रति श्रोताहरूको विशेष आकर्षण भएको होला । मेरा यज्ञ–प्रवचनमा आजभोलि साठी–सत्तरी प्रतिशत त युवा श्रोता उपस्थित भएर सुनिरहेका हुन्छन् । पहिले–पहिलेजस्तो वृद्ध–वृद्धाले मात्र चाख दिने भन्ने अवस्था अहिले रहेन । हाम्रो भजन टोलीले प्रदान गर्ने साङ्गीतिक माहोलले सबैलाई बेग्लै ऊर्जा दिने काम पनि गर्छ ।
० जे कामका लागि भनेर यज्ञ आयोजकहरूले दान सङ्कलन गर्छन् त्यही काममा रकम सदुपयोग हुन्छ कि दुरुपयोग पनि हुन्छ, के पाउनुभएको छ तपाईंले ?
– आयोजक समिति कसरी बनाउने ता कि लक्षित एजेण्डा पूरा हुन सकोस् भनेर मैले नै आयोजक समिति निर्माण गर्न आयोजकहरूलाई गाइड गरेको हुन्छु । दान रकम सङ्कलन भइसकेपछि काम भए–नभएको भन्नेमा आमसमाजमा जिज्ञासा हुन सक्छ । काठमाडौंजस्ता सहरबजारमा चाहिँ अपनत्व अनुभूति गरेर काम गर्ने व्यक्तिको अलिक कमी नै हुँदोरहेछ, त्यसले गर्दा सङ्कलित दान रकम पूर्णरूपेण सदुपयोग हुनेमा यदाकदा सन्देह रहन पनि सक्छ । तर, गाउँघरमा चाहिँ दुरुपयोग हुने सम्भावना अत्यन्त कम हुन्छ । किनकि, त्यहाँ सबैले त्यसप्रति चासो दिइरहेका हुन्छन्, काम कति भयो वा भएन भनेर हेरिरहेका हुन्छन् । यसर्थ, सहरबजारमा पनि अब अत्यन्त विचार पुर्याएर मात्र यज्ञहरू दिने सोच मैले बनाएको छु ।
० तपाईंलाई यज्ञका निम्ति निम्तो दिने त धेरै हुँदा हुन्, कसरी मिलाउनुहुन्छ कार्यतालिका ?
– हो, धेरैतिरबाट बोलावट भइरहेको हुन्छ । म पहिले त एजेण्डा हेर्छु र त्यस कार्यबाट सम्बन्धित समाजमा कत्तिको प्रभाव पर्छ भनेर लेखाजोखा गर्छु । आयोजक समितिको विश्वसनीयता मैले नियाल्ने दोस्रो पाटो हो । यस्तैगरी स्थानीय बासिन्दाको जागरण के–कति छ वा छैन भन्ने पनि मैले आफ्नै प्रकारले नियालिरहेको हुन्छु । एजेण्डाप्रति चासो र समर्थन–समर्पण छ कि छैन स्थानीयवासीको, यो अत्यन्त महत्र्वपूर्ण पक्ष हो भन्ने मलाई लाग्छ ।
० ताजा जनगणनाले नेपालमा ८२ प्रतिशतको हाराहारीमा हिन्दू धर्मावलम्बी रहेको देखायो, हिन्दू बाहुल्य रहेको यस मुलुकलाई हिन्दू राष्ट्र नै घोषणा गर्नुपर्नेजस्तो लाग्दैन तपाईंलाई ?
– अवश्य । हिजो हिन्दू राष्ट्र रहँदा बरु शान्त थियो मुलुक, आज धर्मनिरपेक्षता घोषित गरिँदा उल्टै विद्वेष बढेको छ । बहुलतामा विश्वास गर्ने हो भने, जनमानसको मतको कदर गर्ने हो भने ‘सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामया’ भन्ने हाम्रो हिन्दू धर्मलाई राष्ट्रिय धर्मका रूपमा घोषणा गरी विश्वमा मौलिक पहिचान बनाउनु अत्यन्त सान्दर्भिक कुरा हुनेछ । हाम्रोजस्तो उदार धर्मलाई त्यो स्थान दिइनु वाञ्छनीय हुनेछ ।
० तपाईं देश र समाजका लागि मरिमेटिरहनुभएको छ, तपाईंका कामबारे राज्य कति जानिफकार छ जस्तो लाग्छ ?
– राज्य आफैं अन्योल र अकर्मण्य बनिरहेको अवस्था छ । यस्तोमा उसले के–कति ध्यान पुर्याइरहेको होला यसै भन्न कठिन छ । फेरि मैले आफ्नो मूल्याङ्कन गर्नैपर्छ भन्ने कुरा पनि आउँदैन, समयले सबै कुरा ठीक पार्छ भन्नेमा मेरो विश्वास छ ।
० दीनबन्धु पण्डित आफ्नो पारिश्रमिक मनपरी असुल्छन्, सानातिनाले बोलाउँदा मान्दैनन् भनेर पनि भन्छन् नि ?
– यो अत्यन्त भ्रामक कुरा हो भन्न चाहन्छु । ब्राह्मणले दान–रकम आफैँले तोक्न हुँदैन भनेर आवाज उठाउने सम्भवत: नेपालमै पहिलो पण्डित हुँला म । त्यस्तो व्यक्तिले मनपरी पारिश्रमिक लियो भन्नु कतिसम्म सत्य र न्यायोचित कुरा हुन्छ, आफैँ मूल्याङ्कन गर्नुहोला । मलाई यति चाहिन्छ भनेर कतै एक शब्द पनि उच्चारण गरेको प्रमाण कसैले पुर्याउँछ भने त्यो पृथ्वी पल्टिएसरह हो । नभएको कुराको प्रमाण कसरी पुग्ला र ? कसैले स्वेच्छाले दिएको दक्षिणा मैले ग्रहण गर्ने हो । भजन टोलीको आफ्नै एउटा सामान्य पारिश्रमिक दर छ, तर मैले यति प्रतिशत या यति रकम तोकेर लिन्छु भन्ने कुरा कसले मप्रति कुन पूर्वाग्रह राखेर भन्यो, त्यो म जान्दिनँ र त्यसमा टाउको दुखाउन पनि चाहन्न ।
० तपाईंलाई यस्तो पूर्वाग्रही आरोप किन लगाइयो होला त ?
– विधर्मीहरूको प्रचार होला यो । दीनबन्धुले हिन्दुत्वको, वैदिक सनातन धर्मको प्रवद्र्धन–प्रचार गरेर हिन्दुत्वप्रति थप आस्था जगाउने भयो भनेर कसैलाई टाउको दुखेको हुन सक्छ । हाम्रो अभियानलाई तेजोबध गराउने कुत्सित मनसाय हामीबीचकै कतिपय मानिसले नै पो पाले कि ? कतिपय महानुभावले मेरो समय नपाएको कारण यसरी आक्रोश पो व्यक्त गर्नुभयो कि ? कसैलाई लाञ्छना लगाउन चाहन्न म, तर कारण यस्तै–यस्तै हुन सक्छन् । जे होस, म फेरि पनि भन्न चाहन्छु कि ब्राह्मणले पारिश्रमिक तोक्नुहुँदैन, पर्सेन्टको त झन् ‘प’ पनि उच्चारण गर्नुहुँदैन । यसरी प्रतिशतमा रकम उठाएर हिँडेको भए मेरा पनि अहिलेसम्म काठमाडौंमा २–४ वटा घर हुन्थे होलान्, अहिलेसम्म डेराको बास किन हुन्थ्यो र ?
० अहिलेसम्म पनि घर–जग्गा जोड्न सक्नुभएको छैन र ?
– छैन भनुँ भने सात आनाजति जग्गा छ काठमाडौंमा, एक भक्तजनले श्रद्धाले दिनुभएको एउटा गाडी छ, यताउता पुग्न सजिलो भएको छ, तर त्यसको केही रकम बैंकमा तिर्न बाँकी भएकोले किस्ट बैंकमा किस्ता तिरिरहेको छु । कसैले दिएको दान लिनु ब्राह्मणको हकमा कुनै अपराध त होइन होला । चितवन टाँडीबाट दुई किलोमिटर उत्तरतर्फको गाउँमा एउटा एकतले सानो घर छ मेरो । त्योबाहेक मेरो सम्पत्ति केही छैन ।
० शत्रु खोज्न टाढा जान पर्दैन भन्ने बूढापाकाको उखान छ, तपाईंको हकमा यो कति लागू हुन्छ ?
– मेरो हकमा यो प्रश्न गहन छ । होला, मप्रति अज्ञानतावश कसैले विद्वेष पालेका हुन सक्छन् । हामी पुराण–शास्त्रहरूमा पढ्छौँ कि विभीषणले पोल खोल्दा रावणको हत्या पनि भयो । इतिहास–पुराणको फेरो समाएर म कसैप्रति लाञ्छना लगाउन चाहन्न, बरु कसैले यस्तो मति प्रदर्शन गरेका छन् भने तिनलाई सद्बुद्धि मिलोस् भन्ने कामना गर्न चाहन्छु । मेरा पिताजीको हत्याराको त पहिचान होस् तर उसलाई कुनै कारबाही नगरियोस् फगत उसलाई सद्बुद्धि फिरोस् भनी कामना गर्दै छु म । मलाई कसैले गोली हान्न आए पनि उसलाई सद्बुद्धि र सत्चिन्तन फिरोस्, नराम्रो बाटोबाट राम्रोतिर पाइला बढोस्, उसको प्रगति होस् र मभन्दा माथि जाओस् मात्र भन्न चाहन्छु । मेरो परिवारका सदस्य भनेका मेरी आमा, श्रीमती र छोरी मात्र हुन् । कसै–कसैले मेरो परिवारका सदस्य भनेर गलत फाइदा उठाउन खोजेका छन् भने त्यो समाजले नै विचार पुर्याउनुपर्ने कुरा हुन आउँछ । मैले आफ्नी आमा, श्रीमतीलाई पनि भन्ने गरेको छु कि तपाईंहरूको समृद्धिका लागि भनेर अब मैले अलग्गै समय दिन सक्दिनँ, किनकि म सामाजिक सम्पत्तिजस्तै भइसकेको छु । त्यसैले सञ्चारकर्मी मित्रहरूसँग मेरो आग्रह र अनुनय–विनय छ– मेरी आमा, श्रीमती या दाजुभाइ भनेर कोही कुनै गलत मकसद राखेर आउँछ भने विचार पुर्याएर व्यवहार गरिदिनुहोला । सकिन्छ भने दीनबन्धुले समाजका लागि यथाशक्य गरेको कामका लागि साधुवाद भनिदिनुहोला अन्यथा त्यो पनि आवश्यक छैन । तर, कपोलकल्पित र भ्रामक कुराहरूको पछि नलागिदिनु होला ।
० तपाईंको भजन–कीर्तन टोलीमा तरुनी युवतीहरू समावेश गर्नैपर्छ भन्ने कुरा पनि छापामा आए नि, यो सत्य हो ?
– (हाँस्दै) यस्ता कुराले मलाई हाँसो उठाउँछ, आरोप लगाउनेप्रति दयाको हाँसो । दीनबन्धुको आधिकारिक १६–१७ जनाको टोलीमा एकजना पनि छोरीमान्छे छैन । दुनियाँमा जगजाहेर कुरा भएकाले मैले प्रस्ट्याइरहनु नपर्ला । अर्को कुरा आयोजक समितिले पनि यस्ता कुरामा हरेक कोणबाट निगरानी गरिरहेको हुन्छ । तेस्रो कुरा, हामी देख्छौँ कि धार्मिक सभा–समारोहहरूमा विशेषगरी आमा, दिदी–बहिनीहरूकै बढी सहभागिता हुन्छ । मेरा प्रवचन र हाम्रो टोलीको भजन–कीर्तनमा रमाएर आमा, दिदी–बहिनीहरू स्वतस्फुर्त रूपमा उठेर नाच्न थाल्नुभयो भने त्यो कुनै अनौठो र नराम्रो कुरा होइन । जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता रमाउँछन् भन्ने शास्त्रवाणीको प्रचार गर्दै हिँड्ने मलाई यति त ज्ञान पक्कै छ कि नारीलाई कसरी सम्मान गर्नुपर्छ भन्ने । हाम्रा यज्ञहरूमा महिला सहभागिता बढी भयो भन्दैमा अतिरञ्जित कुरा गरेर अर्कालाई लाञ्छित तुल्याउन खोज्नु कहाँसम्मको पाप हो, मैले भनिरहनु नपर्ला । यस्ता कुरालाई गलत रूपमा प्रचार गरिन्छ भने मेरो के लाग्छ र ? यसमा मलाई थप केही भन्नु पनि छैन । मेरा भक्तजनहरूलाई यसले दुखित तुल्याएको होला तर म विचलित हुन्नँ यस्ता कुराले । सामाजिक अभियान लिएर अघिबढेको अभियन्तालाई अनाहक लाञ्छित गर्न खोजिन्छ भने त समाजले नै प्रतिवाद गर्नुपर्ने हो जस्तो लाग्छ । राज्यले हामीजस्ता अभियन्तालाई सामाजिक कार्यको मूल्याङ्कन गरी प्रेरित गर्नुपर्ने हो, निरुत्साहित तुल्याउने होइन ।
– जयप्रकाश त्रिपाठी
प्रतिक्रिया