चीनको गुप्त-भ्रमणमा किम जोङ उन !

चीनको गुप्त-भ्रमणमा किम जोङ उन !


उत्तर कोरियाका विवादास्पद नेता किम जोङ उन गुप्त तवरले यतिबेला बेजिङ (चीन) भ्रमणमा रहेका अन्तर्राष्ट्रिय मिडियाहरूले प्रकाशित गरेका छन् । यसबारे अनुमानमा आधारित समाचार चीनियाँ मिडियाहरूले नै बढ्ता उछालेका छन् ।

चीन र उत्तर कोरियाको सीमामा ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिनुका साथै बेजिङको एक विख्यात होटलमा पनि सुरक्षाकर्मीको विशेष भीडभाड देखिएपछि मिडियामा यस समाचारले प्रमुखता पाएको हो । हङकङको अखबार साउथ चाइना मार्निङ पोष्टले समाचार सत्य रहेको दाबी गरेको छ । कुनै हाइ प्रोफाइल नेता यतिबेला चीन भ्रमणमा रहेका र उनी उत्तर कोरियाली नेता किम नै रहेको उसको भनाई छ ।

इतिहासतर्फ फर्केर हेर्दा उत्तर कोरियाली नेताले चीनलगायतका छिमेकी देशको यात्रामा जाँदा अत्यन्त गोपनियता अपनाउने गरेको पाइन्छ । किमका बाबु किम जोङ इल पनि प्रायः गुप्त तवरले नै चीनको यात्रा गर्दथे ।

किमको चीन यात्राबारे कतैबाट आधिकारिक वक्तव्य नआए पनि उनी यतिबेला चीन यात्रामा रहेको कुरालाई जोड दिइएको छ । यदि किम यतिबेला चीन पुगेकै हुन् भने सन् २०११ मा सत्तामा आएयता उनको यो पहिलो विदेश यात्रा हुनेछ ।

यतिबेला उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर कोरियाली प्रायद्वीपमा तनाव बढिरहेको अवस्था छ । निकै अघिदेखि चीन उत्तर कोरियाको सहयोगी रहँदै आएको छ । तर, संयुक्त राष्ट्रसङ्घले प्रतिबन्ध लगाएपछि चीनले पनि उत्तर कोरियालाई तेल, कोइलाजस्ता जरुरी सामग्रीहरूको आपूर्तिमा रोक लगाएको छ । यस्तैबेला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच भेटवार्ता हुने विषयले पनि विश्वव्यापी चर्चा पाएको छ ।

उपरोक्त मामलाहरूमा सल्लाह–सुझाव लिनका लागि सम्भवतः किम यतिबेला चीन यात्रामा रहेका हुन सक्ने सम्भावनाबारे एजेन्सीहरूले समाचार प्रकाशनमा ल्याएका हुन् ।

सांकेतिक तस्बिर : गुगल