किम चीन पुगेको पुष्टि, अमेरिकासँग वार्ता गर्न र परमाणु प्रसार रोक्न तयार

किम चीन पुगेको पुष्टि, अमेरिकासँग वार्ता गर्न र परमाणु प्रसार रोक्न तयार


आफ्ना अस्वाभाविक व्यवहार एवम् परमाणु परीक्षणद्वारा अमेरिका जस्तो महाशक्तिसम्पन्न मुलुकलाई समेत हल्लाइदिएका तानाशाह किम जोङ उन चीन भ्रमणमा रहेको अन्ततः पुष्टि भएको छ । गत आइतबार आफ्नी पत्नीसहित गोप्य ढङ्गले चीन पुगेका उग्र स्वभावका किम चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटघाट तथा कुराकानीपछि नरम बनेका एजेन्सीहरूले जनाएका छन् ।

राष्ट्रपति सीसँगको परामर्शपछि किम जोङ अमेरिकासँग वार्तालाप गर्न मात्र नभई शिखर सम्मेलनमा भाग लिनसमेत सहमत भएका बताइएको छ ।

सिन्ह्वाले जनाएअनुसार यस ऐतिहासिक भेटघाटपछि तानाशाह किमले उत्तर कोरिया संयुक्त राज्य अमेरिकासँग वार्तालाप गर्न तयार रहेको अभिव्यक्ति दिएका छन् । आफ्नो परमाणु प्रसार कार्यक्रम रोक्ने संकल्प पनि उनले लिएका छन् । उनले चिनियाँ राष्ट्रपतिलाई उत्तर कोरिया भ्रमणको निम्तोसमेत दिएका र राष्ट्रपति सीले आमन्त्रण स्वीकार गरेका पनि बताइएको छ ।

सन् २०११ मा सत्तासीन भएपछि किमको यो पहिलो विदेश यात्रा हो । चारदिवसीय यात्रामा पत्नी रील सोल जूसहित चीन पुगेका किम आज बुधबार स्वदेश फर्कंदैछन् ।