मलामीमा महिलाको लर्को !

मलामीमा महिलाको लर्को !


म्याग्दीको मालिका गाउँपालिकामा पर्ने बेली गाउँ यतिबेला शोकमा छ । वैदेशिक रोजगारीका लागि मलेशिया गएका मालिका–२ बेलीका धर्मलाल रोकाको सुतेकै अवस्थामा मलेशियामा मृत्यु भएपछि गत बिहीबार मृतक रोकाको शव जिपको हुटमा बाकसभित्र राखेर घरमा पुऱ्याइएको थियो ।

तर विडम्वनाको कुरा के छ भने, बेली गाउँमा कसैको मृत्यु भयो भने मलामी जानका लागि पुरुष उपलब्ध छैनन्, मलामीमा महिलाको लर्को लाग्ने गरेको छ ।

गाउँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि मगर र दलित समुदायको बाहुल्यता रहेको बेली गाउँ युवाविहीन छ । गाउँमा रहेका केही पुरुष पनि दैनिक ज्याला मजदुरीका लागि अन्यत्रै हिँडेपछि गाउँमा वृद्धवृद्धा र महिला मात्र रहेका छन् ।

एकै परिवारका तीनभाइ छोराको विदेशमा मृत्यु भएपछि शोकमा डुबेको बेली गाउँबाट धर्मलाल रोकाको मलामीमा पनि पुरुष अत्यन्त कम देखिन्थे । रासस प्रतिनिधिका अनुसार छोराको शव घरमा आएपछि शोकले विह्वल भएका रोकाका बुबा धनबहादुर र आमा लिलमती रोकालाई सम्हाल्ने र सम्झाउने पुरुष पनि त्यहाँ थिएनन् ।

‘गाउँमा करीव ४० घरपरिवारको बस्ती छ, सबै घरबाट पुरुष कि विदेश गएका छन्, कि आरा चिर्न, मिस्त्रीको काम गर्नका लागि गाउँबाहिर छन्’, २९ वर्षीया देवकली विक भन्छिन्, ‘यहाँ त मर्दा पर्दा मलामी जाने पनि महिला नै हो ।’ जिल्लाका दुर्गम गाउँ मध्येमा पर्ने रुमको बेली गाउँमा सडक पुगेको छ ।

यातायातका साधन पनि गुड्ने गरेका छन् । तर आयआर्जनका लागि बलियो माध्यम नहुँदा गाउँका प्रायः सबै युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएका छन् । उमेर ढल्केका पुरुष दैनिक ज्याला मजदुरीका लागि आरा चिर्ने, घर निर्माण गर्ने वा अन्य कामका लागि जिल्लाका विभिन्न गाउँमा पुगेका छन् ।

गाउँ पुरुषविहीन भएपछि त्यहाँ पुरुषले गर्ने काम पनि महिलाले नै गर्नुपर्ने अवस्था आएको छ । उदाहरणका लागि, स्थानीय टेकी विक विगत ४ वर्षदेखि बेली गाउँको खोल्सामा पानी घट्ट चलाउँदै आएकी एक महिला हुन्। घट्ट चलाएर गाउँलेको अन्न कुटानी पिसानी गरेबापत पाएको अन्न र रुपैयाँले उनी घरखर्च चलाउँछिन् । चार छोराछोरीकी आमा टेकीका श्रीमान् ज्यामी काम गर्नका लागि गाउँबाहिर गएका छन्, घरमा कहिलेकाहीँ मात्र आउने भएकाले घरका सबै काम उनैले गर्नुपर्छ ।

(सांकेतिक रुपमा प्रस्तुत गरिएको यो तस्बिर दमौली (तनहुँ)का महिला मलामीको हो । स्थानीय वेदव्यास जेष्ठ नागरिक आश्रमका आश्रितको मृत्यु हुँदा स्थानीय महिलाले यसरी शव उठाएर घाट पुऱ्याएका थिए ।)