– राज्यशोभा श्रेष्ठ
देश दिशाविहीन
जनता पेसाविहीन
यही पेसा दौडाहामा
त्यता कतै बारुदको खोका बोक्दै छौ कि ?
खाडीतिरै दु:खको पोका भर्दै छौ कि ?
यता आफ्नो अस्तित्वको जुवाडी
चल्दै गर्दा
देशको विधान बोकेको विमान
दुर्घटनामा परेपछि
म, युद्ध हारेको सिपाहीजस्तै भएकी छु
जीवन हारेको मान्छेजस्तै भएकी छु ।
स्तब्ध एक्लै ।
यता वर्षौं लगाएर नेपालभित्र नेपाली खोजेँ
राई, लिम्बू, मगर, नेवार, क्षत्री, बाहुन सबै भेटेँ
तर,
नेपालभित्रै नेपालीतत्व भेट्न सकिनँ आमा
नेपालभित्रै नेपालीत्व हराएको पाएँ आमा
यस्तै यथार्थमा
तिमी हाँस भन्छौ मलाई
देश यत्रतत्र छरपस्टिएको बेला
शूल भएर सिकिस्त सिरान परेको बेला
म निर्धक्क कसरी हाँस्न सक्छु र आमा ?
मैले देखेको नयाँ नेपाल यस्तो थिएन
बिछट्टै सुन्दर, अमर, अटल र विशाल थियो आमा
रङ्गी–चङ्गी फुलेका फूलहरूको सुनौलो बगैंचा थियो
नि आमा ।
जहाँभित्रको
सयौँ थुगा फूलको माला छिनेपछि के हुन्छ ?
बस्ता–बस्तैको घर जलेपछि के हुन्छ ?
अनि फल्दा–फल्दैको रूख ढलेपछि के हुन्छ ?
हो, यसैको प्रतिउत्तर खोज्दै छु आजकल म आमा ।
यस्तै छटपटीमा बेचैन रहेको मेरो राष्ट्र
मेरो शिरभन्दा पनि माथि छ
त्यसैले होला
नेपाल तिमीले खोक्दा
नेपालीको छाती दुख्छ भने
तिमी लड्दा
नेपालीलाई नै चोट लाग्छ भने
छुट्नु र फुट्नुको के अर्थ रह्यो र ?
आखिर नेपाल रोए पनि
नेपाली रोए पनि
आँसु त एउटै हो नि आमा
तर,
जरुर छ खबर मेरो भाइ हो
तिमी चाँडै आऊ है ।
सन्चो छैन धर्तीआमालाई
त्यसैले, हिमालबाट चिसो हावा खाँदै शान्त मन
लिएर पहाडको गुराँससँगै सौगात
लिएर आऊ ।
म तिमीहरूको प्रतीक्षामा
तराईको फाँटमा पर्खिरहेछ
त्यसपछि धर्तीआमाको
उपचार गरौँला है !?
– दाँवा भोजपुर
बिक्न छोड्यो प्रचण्डको बोली– लालकृष्ण धमला
उनन्सत्तरी पुस महिना एघार गते हेरी
यही तिथि यही बार उसै आउने छैन फेरि ।
संविधान नि छैन अहिले सरकार पनि छैन
साँचो कुरा सत्य यही हो ख्याल गरेको होइन ।
ठण्डीहावा हिमालदेखि किन बेसी झर्यो
माओवादीले गजबसित सत्ता कब्जा गर्यो ।
मोहन वैद्य र पुष्पकमल दुवै पाखा परे
बाबुरामले झ्याइँ पारेर देशमा रजाइँ गरे ।
प्रचण्डले यतिबेला धेरै सास्ती पाए
बाबुरामले सत्ता–अमृत सबै एक्लै खाए ।
सातो गयो प्रचण्डको वैद्य बाहिर जाँदा
चकित परे बाबुरामले आफैँ एक्लै खाँदा ।
घरमा छैन हातेकुटो मकै कसले गोड्यो ?
पार्टीभित्र प्रचण्डको बोली बिक्न छोड्यो ।
प्रचण्ड र बाबुरामको अब लडाइँ पर्छ
जसले सक्यो उसले अब पार्टी कब्जा गर्छ ।
खप्छन् अब कसोगरी बाबुरामको पेलाइ
राजनीति प्रचण्डको जाने हो कि सेलाइ ।
मातृका र किरण वैद्य पल्लो घरमा सरे
यतिबेला पुष्पकमल अप्ठ्यारोमा परे ।
यतिबेला प्रचण्डलाई चिन्ता लागिरा’छ
बाबुरामले दक्षिणबाट आशीर्वाद पा’छ ।
पेरिसडाँडा प्रचण्डले लामो सास फेर्ने
कब्जा गर्या बाबुरामले कसो गरी हेर्ने ?
मान्न छाडे बाबुरामले प्रचण्डको बोली
सहमति धोती लाग्यो रित्तो भयो गोली ।
बलबुता राज्य–शक्ति बबुरामको हातमा
छैन केही बाँकी अब प्रचण्डको साथमा ।
ड्राइभरले बसको पाङग्रा हेर्छ गाडी रोकी
के जान्ने बाबुरामले जेल हाल्ने पो हो कि ।
परिसके पिँजडामा पुष्पकमल अब
बाबुरामले साँचो चाबी समाइराछन् सब ।
एकीकृत माओवादी फेरि फुटाउने रे
बल्ल अनि पिँजडाको सुगा छुटाउने रे ।
प्रचण्डले आधार खोजून् सत्चालीसलाई अब
राजनीतिक जीवन नत्र ध्वस्तै हुन्छ सब ।
बाबुरामलाई पाखा लाउनी इच्छा भएदेखि
सत्चालीसमा जानैपर्छ मैले यस्तै लेखेँ ।
प्रतिक्रिया