—विहङ्गमराज तिमिल्सिना,(ज्योतिषी पण्डित तान्त्रिक)
ज्योतिष पण्डित तान्त्रिक विहङ्गमराज तिमिल्सिनाको नाम सुन्नेहरूको सङ्ख्या देशमा ठूलो छैन । ज्योतिषी तान्त्रिक मूल पण्डितका रूपमा नेपाली सेनामा करिब सत्र वर्ष काम गरिसकेका उनलाई सन्तनेता कृष्णप्रसाद भट्टराई धेरै नजिकबाट चिन्नुहुन्थ्यो । चिन्ने मात्र होइन, उनलाई अति उच्चकोटिको सम्मानजनक व्यवहार गर्नुहुन्थ्यो । बनारसबाट ज्योतिषशास्त्र र तन्त्रशास्त्रमा उच्च शिक्षा हासिल गरेका पण्डित विहङ्गमराजलाई मोहनचन्द्र अधिकारी, रामचन्द्र पौडेल र शेरबहादुर देउवालगायतका नेताले पनि धेरै राम्रोसँग चिन्नुहुन्छ र सम्मान गर्नुहुन्छ । ०२६ साल साउनमा जन्मेका उनले तन्त्र साधनामार्फत गर्ने भविष्यवाणीले उनीसँग साक्षात्कार गर्ने मौका पाएका सबैलाई मोहित र आश्चर्यचकित पार्ने गरेको छ । नेपाली सेनाका रथी नेपालभूषण चन्दलाई ‘तपार्इं प्रधानसेनापति बन्न सक्नुहुन्न’ भनिदिएका कारण चन्दले पण्डितजीसँग बोलचालै बन्द गरिदिनुभएको थियो । कास्कीको अर्घौंकालिकामा जन्मेर लेखनाथमा स्थायी बसोबास गर्ने पण्डित विहङ्गमराज अहिले केही समयका लागि काठमाडौं आएका छन् । काठमाडौंको बसुन्धरामा बस्ने उनीसँग फोन नं. ९८४१३१४१२० मा सम्पर्क गर्न सकिन्छ । उनीसँग सामयिक विषयमा ज्योतिषीय दृष्टिकोणबारे गरिएको रोचक कुराकानी यहाँ प्रस्तुत छ–
० ज्योतिषीय दृष्टिमा नेपालको भविष्य कस्तो देखिन्छ ?
– नेपालको राजनीतिक भविष्यबारे भन्नुपर्दा वृश्चिक राशि स्वामी मङ्गल, यहाँको शनिको अवस्था कमजोर भएकाले राजनीतिक स्थायित्व नहुने देखिन्छ । यसका अलावा एकले अर्काको अस्तित्व स्वीकार नगर्ने, एक–आपसमा टकराव पर्ने, दल–दलबीच द्वन्द्व हुने, अशान्ति, अस्थिरताको तुवाँलोले ढाक्ने देखिन्छ । आफूभन्दा सक्षम कोही छैनन् भन्न घमण्ड दलहरूमा शनिको प्रभावले पारेको देखिन्छ । देशको भविष्यका लागि यो शुभकारक होइन ।
० नेपालको स्थिति कहिलेसम्म यस्तै रहने देखिन्छ ?
– ०७० साल असार २२ गतेसम्म यस्तै रहिरहने योग छ ।
० त्यसपछिचाहिँ सुधार होला त ?
– त्यसउप्रान्त ग्रह अष्टमेष, लग्नेश कारक ग्रह उचा हुन्छन्, त्यसपछि नेपालमा अमृतमय अवस्था आउन सक्छ ।
० अमृतमय अवस्थामा आजका यिनै नेता शासन–सत्तामा होलान् कि नयाँ नेताको उदय होला नि ?
– अहिले भइरहेका नेताहरूलाई जनताले विश्वास नगर्ने स्थिति आउँछ, फलत: नयाँ नेतृत्व खोजी हुने देखिन्छ । पुरानो ग्रहले अब छाड्छ र नयाँ ग्रहको सुरुवातसँगै नयाँ नेतृत्व आउँदा नेपालका लागि लाभदायक नै हुन्छ ।
० अहिले भइरहेका नेताहरूबाट नेपालमा अमृतवर्षाको अवस्था सिर्जना गराउन सकिने कुनै सम्भावना देखिन्छ ?
– भइरहेका नेताबाट राष्ट्रको पक्षमा इमानदारीपूर्वक काम हुने योग देखिँदैन । तर, यो पुस महिनामा पुष्पकमल दाहाल, झलनाथ खनाल, विजय गच्छदार, केपी ओलीहरूको भन्दा काङ्गे्रस सभापति सुशील कोइरालाका ग्रहहरू उच्च छन् ।
० त्यसो भए पुस महिनाभरमा सुशील कोइराला प्रधानमन्त्री बन्न सक्ने सम्भावना छ, हो ?
– आगामी माघ ७ गतेसम्म सुशीलजीको ग्रहदशा राम्रो देखिन्छ । माघ ७ पछाडि भने उहाँको पनि त्यति राम्रो योग देखिँदैन ।
० अहिले देखिएका नेताहरू जीवित रहँदै नेपालमा सुनौलो या अमृतमय अवस्थाको सम्भावना छैन त ?
– यी नेताहरू रहँदासम्म त्यस्तो अवस्था छैन । उहाँहरूको मनस्थितिमा जनतालाई श्रद्धा र माया गर्ने स्थिति छैन । उहाँहरूले दिव्य शक्तिहरूको साधना गर्ने, दिव्यतन्त्र महासूत्रमा लाग्ने गरेदेखि अशुभ, अशान्ति, भ्रान्ति पनि हटेर जानेछ । अलिकति धार्मिक तथा अध्यात्मको चेतना पनि उहाँहरूमा हुन अति आवश्यक छ ।
० प्रचण्डको सक्रियता नेपालमा आगामी कति वर्षसम्म हुने देखिन्छ ?
– उहाँको सक्रियताबारे भन्नुपर्दा लग्नकुण्डली, नवांश कुण्डलीले प्रभाव पार्छ । पुष्पकमल दाहालको लग्न र नवांश मैले सम्पूर्ण रूपमा हेरेको छैन । तर, पनि नेपाल देशको ग्रह अवस्था र उहाँको छत्रछायाका अंशहरू हेर्दा लामो समयसम्म सक्रियता चल्छ भन्न नमिल्ने देखिन्छ ।
० छोटो भनेको समय कति हुन सक्छ ?
– कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला जसरी अन्तिम घडीसम्म चर्चामा रहे त्यसैगरी प्रचण्डको रहँदैन ।
० ग्रहबाट हेर्दा प्रचण्डको सक्रियता समय छोटो नै छ त ?
– एकदम हो । उहाँको दीर्घायुसम्म सक्रियता रहन सक्दैन ।
० प्रचण्डको सक्रियता छोटो देखिन्छ भने सुशील कोइरालाको कस्तो देखिन्छ नि ?
– माघ ७ गतेसम्म सुशीलजीको ग्रह राम्रो छ । पुसभरमा प्रधानमन्त्री बन्न सक्ने ग्रह पनि उहाँको छ । तर, सुशीलजीको सक्रियता पनि लामो रहन सक्दैन । अहिले सूर्य र वृहस्पति लाभस्तरमा बसेको कारणले केही हदसम्म सुशीलजीलाई राम्रो भनौँ या उच्च स्थानमा पुर्याउँछ भन्ने हो । तथापि, उहाँ पनि लामो समयसम्म शक्तिशाली भएर टिकिरहनुहुन्छ भन्नेचाहिँ देखिँदैन ।
० रामचन्द्र पौडेलचाहिँ बनवासै जानुपर्ने हो कि कुनैबेला सिंहदरबार पनि पुग्नसक्ने सम्भावना छ ?
– रामचन्द्र पौडेलजीको लगनकुण्डली, राशिकुण्डली उहाँकै निवासमा गएर दुई–तीनपटक हेरेको हुँ । उहाँको विचार, तर्क हेर्दा त्यागी–तपस्वीजस्तो देखिनुहुन्छ । उहाँलाई आकाशीय ग्रहपिण्डले, ग्रहगोचर नक्षेत्रले त्यति सहयोग गरेको छैन । वृहस्पति र सूर्य अन्धो हुन्छ भने जति अगाडि बढ्छु भने पनि कुनै न कुनैले खुट्टा तानिदिने हुन्छ । पार्टीमा पनि अहिले उहाँ त्यही हविगतबाट अघि बढिरहनुभएको छ ।
० शेरबहादुर देउवाको फेरि प्रधानमन्त्री बन्ने सम्भावना छ कि छैन ? केही देखिन्छ ?
– शेरबहादुरजीको पनि मैले पाँचपटकजति हेरिसकेको छु । अहिले उहाँको प्रधानमन्त्री बन्ने कुनै सम्भावना छैन । शेरबहादुरजीको मङ्गलभावमा बसेको हुनाले अब एकपटक अलिक पछि प्रधानमन्त्री बन्ने सम्भावना भने छ ।
० झलनाथ खनाल, माधव नेपाल, केपी ओलीको चाहिँ के छ नि ?
– उहाँहरूको मैले हेरेको छैन । केपी ओलीको विस्तृत हेर्न एकजनाले लैजाने भन्नुभएको छ, अहिलेसम्म त्यस्तो अवसर जुरेको छैन ।
० नेपालको उन्नति, प्रगतिको प्रारम्भ असार २२ पछि हुन्छ त भन्नुभयो, यसले उचाइ प्राप्त गर्ने सम्भावना कहिलेसम्म होला ?
– नेपालको उन्नति–प्रगतिका लागि दुर्लभ महाशक्ति दशमहाविद्या भन्ने छ, यो रावणले पनि गरेको कुरा हो । भगवान् शिवजीदेखि रामसम्मले यो विद्याको साधना गर्नुभएको थियो । रामले पनि रावणको अत्याचार हटाउनका लागि त्यो साधना गर्नुपरेको थियो । नेपालका सबै राजनेता एकै ठाउँमा बसेर पशुपतिनाथको माटो हातमा लिएर त्यो माटोमाथि गौमती चक्र राखेर देशको सुख, शान्ति, समृद्धिका लागि दशमहाविद्याको साधना गर्ने हो भने नेपाल शान्ति र अग्रगमनको पथमा अगाडि बढ्छ । दशमहाविद्याको साधनले नै नेताहरूलाई एक हुनुपर्ने रहेछ भन्ने चेतना र सद्बुद्धि दिन्छ ।
० राजसंस्था पुन: फर्कने सम्भावना छ कि छैन, के देखिन्छ ?
– सूर्य र मङ्गल, वृहस्पति कमजोर अवस्थामा रहेकाले पूर्वराजा ज्ञानेन्द्र फर्कने सम्भावना त्यति देखिँदैन । तर, ग्रहले थिचेर दलहरूको यस्तै वादविवाद बढ्दै जाने हो भने त्यो संस्था नफर्कला भन्ने स्थिति पनि छैन । देशलाई भन्दा व्यक्तिगत स्वास्थ्यलाई केन्द्रबिन्दु बनाएर यही किसिमले नेताहरू अघि बढे भने र मैले अघि भनेजस्तै साधना गर्न हिचकिचाए भने जनताले यिनीभन्दा परानै ठीक रहेछ भनेर जुर्मुराउने दिन पनि त्यति टाढा छैन । प्रस्तुति : महेन्द्र पाण्डेय
प्रतिक्रिया