—सिद्धार्थ गौतम (प्रेसिडेन्ट, नेपाल रिपब्लिक पार्टी)
० राजनीतिक दलहरूप्रति जनता आक्रोशित र निराश बन्न पुगेको अवस्थामा नयाँ दल किन दर्ता गरेको किन ?
– हो, नेपाल दलहरूको धनी देश हो । विभिन्न कालखण्डमा विभिन्न पार्टीहरू यहाँ जन्मेका छन्, क्रियाशील पनि छन् । पटक–पटक शासन–सत्तामा पुगेका पनि छन् र आफ्नो बँुता–बर्कतले भ्याएसम्म देश र जनताको सेवा पनि गरे होलान् । तर, आजको राजनीतिक अवस्था फरक धारमा बग्न थालेको छ । यतिबेला मुलुकमा यो प्रश्न ज्वलन्त रूपमा उभिएको छ कि प्रजातान्त्रिक रूपले देशलाई अघि बढाउने कि कम्युनिज्म भासमा फस्न दिने ? एकदम गम्भीर र सबै नेपालीले मनन गर्नुपर्ने विषय बनेको छ यो । यो देश प्रजातान्त्रिक देश हो र यही धारबाट अघि बढ्दा नै नेपाल र नेपालीको हित हुन्छ । आज कम्युनिस्टहरूको बिगबिगी बढिरहेको छ । यो सबै विगतका शासक या शासन गर्ने दल र तिनका नेताहरूको कमजोरीका कारण भएको हो । अब यस्ता बूढाखाडा दल र नेताहरूबाट मुलुक सही किसिमले सञ्चालन हुन सक्दैन । समयानुकूल प्रजातान्त्रिक ढङ्गबाट देशलाई अघि बढाउन नयाँ सोच र नयाँ एजेण्डाको आवश्यकता छ । यही अवधारणाबाट नेपाल रिपब्लिकन पार्टीको जन्म भएको हो ।
० यो नयाँ पार्टीले कसरी रोक्ला कम्युनिस्टको उर्लंदो भेल ?
– हाम्रो पार्टी जनजनमा जान्छ, प्रजातन्त्रको वास्तविक परिभाषा बुझाउने चेष्टा गर्छ । कम्युनिस्ट भनेका कस्ता प्राणी हुन्, प्रजातन्त्रका नाममा यो मुलुकमा कस–कसले धोखाधडी गरे, किन यो देशमा जनताको जीवनस्तर उठ्न सकेन, एक पुस्तादेखि अर्को पुस्तालाई उज्ज्वल भविष्य दिनुको सट्टा झन् अँध्यारो भविष्य कसरी दिइरहेको छ भन्ने सवालहरूमा जनतासँग अन्तरक्रिया गर्नेछौँ । जनताकै साथ लिएर १५ वर्षमै यो देशको कायापलट गर्नेछ हाम्रो पार्टीले । आज नेपालीको प्रतिव्यक्ति आय जति छ, १५ वर्षमा पचास गुणा वृद्धि गर्ने सोच, एजेण्डा र उद्देश्यका साथ हामीले पहलकदमी लिइरहेका छौँ ।
० यत्तिका पुराना र शासनसत्तामा पुगेका दलहरूले नसकेको काम तपाईंको यो जन्मँदाजन्मँदैको दलले गर्न सक्छ भनेर कसरी विश्वास गर्ने ?
– सर्वप्रथम त यहाँ प्रजातन्त्रलाई नै सुदृढ तुल्याउनु अपरिहार्य छ । देश र प्रजातान्त्रिक प्रणालीप्रति जनतालाई कमिटेड तुल्याइसकेपछि, राष्ट्रप्रति जिम्मेवार र बफादार बनाइसकेपछि निश्चित समयमा लक्ष्य हासिल गर्न हामीलाई कुनै व्यवधान पर्ने छैन । नेपाल कुनै गरिब देश होइन जो देखिइरहेछ या हामी भोगिरहेछौँ । प्राकृतिक सम्पदा र संस्कृतिले अपार धनी छौँ हामी, यसको समयमै उचित तवरले दोहन गर्न सकेमा नेपालमा गरिब कोही रहने छैनन्, गाउँ–गाउँमा विकास पुग्नेछ, घर–घरमा विकासको प्रतिफल अनुभूत गराउनेछौँ हामी । भन्न त ‘वल्ड इज गोल्ड’ भनिन्छ तर हाम्रा दलहरूका सन्दर्भमा यो चनाई लागू हुन सकेन । निकम्माहरूलाई शासन–सत्ता सुम्पनुको परिणति हो यो । हामी त्यो ठाउँमा रहेर देखाइदिने छौँ कि विकास के हो र कसरी गर्न सकिँदोरहेछ भन्ने ।
० यतिबेला राजनीतिक रूपले देश अत्यन्त ठूलो दुष्चक्रमा फसिरहेको छ, यसबाट निकास दिलाउन तपाईंको दलले के भूमिका खेल्न सक्छ नि ?
– जनताले विश्वास गरेर शासन–सत्तामा पुर्याएका दलहरूले जनताको विश्वासमाथि लात हानेका कारण आजको अवस्था आएको भन्ने त छर्लङ्ग भइसकेको छ । फेल भइसकेकाहरूलाई फेरि शासनको अवसर दिनु आत्मघात सावित हुने कुरा प्रत्येक नेपालीले बुझ्नुपर्छ । समस्या निराकरणको सवालमा पनि पुराना दलहरू टाउको रगडिरहेका छन् तर समस्याको निकास खोज्नुको साटो झन्झन् गुजुल्टो परिरहेको अवस्था छ । अब कतिबेला यी सबले हातखुट्टा छाड्ने हुन्– कुनै टुङ्गो छैन । हाम्रो भूमिका जे–जसरी निर्वाह गर्नुपर्ने हो गरिरहेकै छौँ, अब कतिबेला अहम् रूपले त्यो मोर्चा पनि सम्हाल्नुपर्ने परिस्थिति आउँछ, त्यसको प्रतीक्षामा छौँ हामी । समयभन्दा बलवान् त कोही छैन ।
० संविधानसभा एकपटक फेल भइसक्यो, फेरि संविधानसभाको चुनाव गर्नुपर्ने भनेर दलहरू लागिरहेका छन्, यसमा तपाईंको पार्टी के भन्छ ?
– कम्युनिस्टहरूको बिगबिगी संविधानसभा र व्यवस्थापिका संसद्मा भएकैले संविधान बन्न नसकेको र भएको संविधानसभालाई पनि कम्युनिस्टहरूले नै मृत्युशøयामा पुर्याइदिएको जगजाहेर नै छ । आमनेपालीले बुझ्नुपर्ने कुरा यो छ कि कम्युनिस्टहरूले कहिल्यै पनि प्रजातान्त्रिक संविधान बन्न दिँदैनन् । उनीहरू प्रजातान्त्रिक संविधान बन्न नदिने मात्र होइन गञ्जागोल खडा गरेर कम्युनिस्ट नियन्त्रित शासन लाद्न नै उद्यत् छन् । कम्युनिस्टले न चुनाव चाहन्छ न त संविधान । उनीहरू त मनपरी निरङ्कुश शासन लादेर मुलुकलाई बर्बर युगतिर धकेल्न चाहन्छन् । तसर्थ, प्रजातान्त्रिक शक्तिहरूले कम्युनिस्टहरूको धूर्तता बुझेर अघि बढ्नु आजको आवश्यकता हो । अन्यथा प्रजातन्त्र मात्र होइन देश नै कोल्याप्स हुने स्थितिमा छ । अब पनि चेत नखुले कम्युनिस्ट कन्ट्रोलमा पुग्नुबाट देशलाई बचाउन मुस्किल हुनेछ । विश्वका प्रजातान्त्रिक देशहरूसँग मिलेर अघि बढ्ने कोसिसले मात्र अब नेपाल र नेपालीको भलो गर्छ भन्नेमा हाम्रो पार्टी स्पष्ट छ । जहाँसम्म संविधानसभाको चुनावको प्रश्न छ, प्रजातान्त्रिक शक्तिहरू एक ठाउँ उभिएर मात्र जता जानुपर्ने हो त्यसको निर्णय गर्नुपर्छ ।
० आफूलाई प्रजातान्त्रिक धार भन्ने मधेसी दलहरू त कम्युनिस्टसँग मिलेर सत्ताको स्वाद लिन थालेको र प्रजातान्त्रिक धारलाई कमजोर पार्न थालेको अवस्थामा प्रजातान्त्रिक धारको विकास कसरी होला र ?
– परिस्थितिजन्य कारणले अहिले जे–जस्तो सिनारियो देखिएको भए पनि मधेसवादी फोर्स भनेको प्रजातान्त्रिक शाक्ति नै हुन् । भनिएका प्रजातान्त्रिक दलहरूको विगतको हैकमवादी शैलीका कारण विभेदको सिकार भएकोले मधेसवादी दलहरूले तत्कालका लागि उनीहरूसँग एलायन्स गरेका मात्र हुन् । यो एलायन्स धेरै दिन चल्नेवाला छैन । उनीहरूको मुद्दालाई सम्बोधन गरेर प्रजातान्त्रिक शक्तिहरूले उनीहरूलाई चाँडै समेट्नुपर्छ भन्ने हाम्रो मान्यता छ । हाम्रो दलको मूल आदर्श भनेको बहुजन हिताय बहुजन सुखाय हो । हिमाली, पहाडी र तराई जो जे हुन्, सबैलाई समान अवसरको खाँचो छ, हाम्रो पार्टी विभेदरहित, जातपातविहीन र समतामूलक उन्नत समाज निर्माणार्थ नेतृत्व गर्न तत्पर भएर नै अगाडि आएको स्पष्ट पार्न चाहन्छु ।
० अहिलेसम्म नेपालको निश्चित वैदेशिक नीति नभएर पनि दु:ख खेप्नुपरेको भन्छन् विज्ञहरू, हाम्रो देशको विदेशनीति कस्तो हुनुपर्छ भन्छ नेपाल रिपब्लिक पार्टीले ?
– यो गम्भीर प्रश्न हो । पञ्चयतकालकै एक ढर्रामा विदेशनीति चलिरहेको छ । जसले देशको हित गर्न सकेको पाइएन । अहिले त झन्झन् समस्याहरू थपिँदो छ यो शून्य विदेशनीतिले गर्दा । कुनै पार्टीविशेषको विदेशनीतिले देश चल्दैन र चलाउन खोज्नु पनि हुँदैन । पार्टीको एउटा आफ्नो धारणा त रहन्छ तर विदेशनीति बनाउँदा पक्ष–विपक्ष जो जहाँ हुन्, विज्ञहरूसँग गहिरो विचार–मन्थन र छलफल गरेर निर्धारण गरिनुपर्छ । समय धेरै अगाडि बढिसकेकोले समयानुकूल फराकिलो चरित्रको विदेशनीति यतिबेला अपेक्षित छ । हाम्रो दलको कुरा गर्नुपर्दा त मूलत: तीन अलग किसिमको विदेशनीति अवलम्बन गर्छ हाम्रो दलले । एक, प्रजातान्त्रिक राष्ट्रको प्रतिनिधित्व गर्ने, दोस्रो, कम्युनिस्ट मुलुकहरूसँग व्यवहार गर्नका लागि र तेस्रो अनि महŒवपूर्ण छिमेकी भारतसँगको सम्बन्धमा । यो हाम्रो पार्टीको नीति हो, देशको होइन ।
० भारतका लागि विशेष नीति बनाउनुपर्नेचाहिँ किन नि ?
– भारतसँग व्यवहार गर्नका लागि विशेष नीति बनाइनुपर्छ भन्ने मेरो भनाइलाई गहिरोसँग विचार गरियो भने यसको जवाफ मैले दिइरहनै पर्दैन । भारतसँग धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक सबै हिसाबले हाम्रो अति नै प्राचीनतम् सम्बन्ध रहँदै आएको छ । यो प्राकृतिक सम्बन्धलाई नजरअन्दाज गर्न नै सकिन्न । यस्तो नजिकको अनन्य सम्बन्धमा व्यवहार गर्नका लागि आमनीतिले काम चल्न सक्दैन भनेर विशेष नीतिको कुरा गर्नुपरेको हो । भारतसँगको यस सम्बन्धको अधिकतम् लाभ उठाएर देश, प्रजातन्त्र र जनताको हितमा अर्थपूर्ण सम्बन्धको विकास गर्दै देश र जनताको व्यापक हितमा प्रयोग गर्नका लागि नै हो विशेष नीतिको आवश्यकता परेको ।
० विश्वशक्तिको रूपमा उदाइरहेको अर्को छिमेकी देश चीनलाईचाहिँ नजरअन्दाज गरेर अघि बढ्न सकिन्छ त ?
– कसैको अप्रासङ्गिक विरोध गर्ने हाम्रो चरित्र र मान्यता होइन । प्रजातान्त्रिक व्यवस्थाबाट शासन गरिरहेका र कम्युनिज्म सिद्धान्त अङ्गालेका देशसँग समान किसिमको व्यवहार गर्न खोजेर पनि व्यवहारत: त्यो सफल या लाभदायी हुन सक्दैन भन्ने हाम्रो ठहर हो । प्रजातान्त्रिक शासन–व्यवस्था कमजोर हुनेगरी कम्युनिस्ट देशसँग लगनगाँठो जोड्नुचाहिँ हितकर हुन सक्दैन भन्ने हाम्रो स्पष्ट मान्यता हो ।
० तपाईंको कुरा सुन्दा त नेपाल रिपब्लिक पार्टी कम्युनिस्टको विरोधका लागि मात्रै खडा भएकोजस्तो पो लाग्छ नि, हो ?
– मैले भनिहालँे कि यो पार्टीको स्पष्ट धारणा नै प्रजातान्त्रिक शासन–व्यवस्थामार्फत मात्र देशको विकास गर्न सकिन्छ, मानवाधिकार, शिक्षा, धर्म, मौलिक हकजस्ता कुराको स्वतन्त्रताको ग्यारेन्टी हुन सक्छ । कम्युनिस्ट शासनमा यो सदा अभाव रहन्छ । उनीहरूको धर्म नै कम्युनिस्ट बन्नु हो, उनीहरूको गीता र महाभारत भनेकै रेडबुक र दास क्यापिटल हुन् । त्यो सिद्धान्तको विरोध गर्नेभन्दा पनि भ्रममा परेर कम्युनिस्ट बनेका नेपालीजनलाई प्रजातन्त्रको मर्म बुझाएर प्रजातान्त्रिक धारमा समाहित तुल्याउने र अन्तत: नेपाललाई कम्युनिस्टविहीन देश बनाएरै छोड्ने हाम्रो उद्देश्य हो ।
० एकथरीले त यहाँ चीनचाहिँ नेपालको मित्र हो र भारत भनेको शत्रु नै हो भन्ने प्रचार गरिरहेका छन्, यसमा तपाईं के भन्नुहुन्छ ?
– भारत हाम्रो मित्रराष्ट्र मात्र नभई वास्तविक या प्राकृतिक मित्र हो भन्ने बुझ्न जरुरी छ । नेपालका कम्युनिस्टहरूको एउटा धर्म के देखियो भने भारतको विरोध गर्ने, प्रजातन्त्रको विरोध गर्ने उ भारत महान् प्रजातन्त्रिक देशका रूपमा नेपालको आडमा रहनु उनीहरूका लागि टाउकोदुखाइ बनिरहेको छ । उनीहरूको तीर्थस्थल भनेकै मस्को र बेइजिङ रहेछ । अन्तर्राष्ट्रिय कम्युनिस्टवादमा विश्वास गर्ने कारणले नै यिनीहरू राष्ट्रवादी होइनन् । यसैमा हाम्रो आपत्ति हो, किनकि यो सोचले नेपाल र नेपालीको हित र उन्नतिमा व्यवधान पुगिरहेको छ । चीन नामको देशसँग हाम्रो आपत्ति र विरोध होइन । चीन र चिनियाँ जनता महान् हुन्, प्राचीन चीनसँग लुम्बिनीको सांस्कृतिक, धार्मिक सम्बन्ध पनि रहँदै आएको छ । चिनियाँ जनता र त्यहाँको सभ्यता त महान् छ । त्यहाँको कम्युनिस्ट पार्टी र त्यस नेतृत्वको सरकारप्रति मात्र हाम्रो विमति हो ।
० चीनले छड्के नजरले हेर्ने दलाई लामासँग तपाईंको विशेष सम्बन्ध छ भनिन्छ नि, कस्तो सम्बन्ध हो यो ?
– म एक बौद्ध डेमोक्र्याट हुँ । परम्पुज्य दलाई लामा आजको विश्व बौद्ध समुदायको अन्तर्राष्ट्रिय नेता हुनुहुन्छ । कुनै पनि बौद्धले उहाँलाई ढोगेर आशीर्वाद लिन पाउनुपर्ने अधिकार रहन्छ । एउटा बौद्धले अर्को बौद्धलाई भेट्नु के अपराध हो ? विश्वभ्रातृत्व विकास गर्ने सिलसिला या प्रयोजनमा म पनि उहाँलाई भेट्छु । यसलाई यसरी नै बुझ्नुपर्छ ।
० यसरी दलाई लामालाई भेट्नु वा उहाँसँग व्यवहार गर्नु भनेको चिनियाँ आँखाबाट त अपराध नै हुन्छ क्यारे, होइन र ?
– यस्तो कसैले सोच्नु बेकार हो । न त दलाई लामा चीनको विरोधी हुनुहुन्छ न अन्य कोही बौद्धमार्गी नै । चाइनिज कम्युनिस्ट पार्टी या त्यसको सरकारले वास्तविक चीनको प्रतिनिधित्व गर्दैन, त्यहाँ प्रजातन्त्र छैन, त्यहाँका जनताले स्वतन्त्र ढङ्गले सोच्न र व्यवहार गर्न पाउँदैनन् भन्ने कुरा मात्र हामीले गरेका हौँ जो समस्त विश्वले नै देखिरहेको र बुझेको कुरा हो । प्रजातान्त्रिक व्यवस्थामा एउटा मानिसले अर्कोलाई सम्मान गर्छ, मानवअधिकारको सम्मान गर्दछ । यी सब कुरा कम्युनिस्ट पार्टीले शासन गरेको देशमा हुुन सक्दैन । यो कुरा त हामी खुलेआम भनिरहन्छौँ । अब दलाई लामाज्यूसँग जोडेर अन्य आफूखुसी धारणा बनाइन्छ र सिङ्गो बौद्ध जगत् र समस्त विश्व समुदायले मानेका परम्पूज्य दलाई लामाको आशीर्वाद हासिल गर्ने जतिलाई अपराधको आँखाले हेर्न खोजिन्छ भने त हेर्ने आँखा नै दोषी भयो नि, यसमा म के भनौँ ?
० दलाई लामा तिब्बतलाई अलग राष्ट्र बनाउन चाहन्छन्, त्यसैले उहाँ र उहाँसँग जोडिएर आउने पात्रहरूलाई बक्रदृष्टिले चीनले हेर्नुपरेको भन्ने धारणा सही होइन त ?
– जहाँसम्म मेरो अनुभव छ– परम्पुज्य दलाई लामाले कहिल्यै तिब्बतलाई अलग स्वतन्त्र राष्ट्र बनाउने कुरा गर्नुभएको छैन । तिब्बत स्वायत्त प्रदेश अर्थात् मिनिङ्फुल अटोनोमसको कुरा मात्र तिब्बतको निर्वासित सरकार या त्यससँग सम्बन्धित व्यक्तिहरूले गरेका छन् । त्यसकारण ‘फ्री तिब्बत’को डङ्का बजाएर विश्वसमुदायलाई दिग्भ्रमित तुल्याउन खोज्नु र त्यसैको बहानामा नेपाललाई बारम्बार होच्याएर, दबाएर, नेपालीको स्वाभिमानमाथि नै खेलबाड गर्न खोज्नुले चीनको कम्युनिस्ट पार्टीको सरकारलाई पनि राम्रो गर्दैन, नेपाल र चीनबीचको आपसी हितका लागि पनि यो प्रत्युत्पादक हुन्छ । कुनै पनि तिब्बतीले आफ्नो हितको, स्वतन्त्रताको र मानवाधिकारको कुरा त गरे होलान् तर मलाई लाग्दैन कि उनीहरू कसैले पनि चीनको विरोध गरिरहेका छन् । मानवीय आधारमा तिब्बतीहरूलाई माया गर्नु, सद्भावपूर्ण व्यवहार गर्नु, शरणार्थी भएकालाई सहयोग गर्नुजस्ता कार्यलाई अपराध कसैले ठान्छ भने त्यस्तो ठान्नेहरू नै अपराधी हुन् भन्न हच्किनुपर्दैन । चिनियाँ पार्टी र उक्त पार्टीको सरकारको ज्यादती सहन गर्न नसकेर तिब्बती नागरिक शरण खोज्दै नेपाल आउँछन् भने अतिथि देवो भव: भन्ने मान्यता बोकेको नेपालले शरणको मरण गर्न त कसरी सक्छ र ?
० तपाईंको त अलग्गै एउटा लुम्बिनी फाउन्डेसन भन्ने संस्था पनि छ क्यारे, के गर्छ
त्यो संस्थाले ?
– लुम्बिनीको समग्र विकासका लागि प्रयत्नशील त्यो एक गैरसरकारी संस्था हो ।
० लुम्बिनीको विकासका नाममा अनेकौं सङ्स्थाहरू लागेका छन् तर केही काम भइरहेको छैन, दशवर्षे हिंसात्मक युद्ध मच्चाएर आएका प्रचण्डले समेत विश्वशान्तिको पवित्र स्थल लुम्बिनीको विकास गर्छु भन्न थालेका छन्, यी कुराहरूलाई हामीले कसरी बुझ्ने ?
– लुम्बिनीको विकास गर्न भनेर पञ्चायतकालमै लुम्बिनी विकास गुरुयोजना ल्याइएको थियो । दश वर्षमै पूरा भइसक्नुपर्ने लक्ष्य राखिएको उक्त गुरुयोजना तीस–बत्तीस वर्ष गुज्रिँदा पनि तीस प्रतिशतभन्दा बढी काम भएको छैन । लुम्बिनीका त्यत्रा–त्यत्रा अठ–दशवटा गाउँ नाम मात्रको मुआब्जा दिएर उठिबास गरेको पीडा अहिलेसम्म आलै छ । लुम्बिनीको विकास गर्ने भनिएको कार्यमा त्यहीँका स्थानीय मानिसलाई सहभागी गराइएको छैन । राजनीतिक नियुक्ति बोकेर बाहिरका मानिस जान्छन्, आफ्नो पदावधि सकाउँछन्, आफ्नो लाभ उठाउँछन्–आउँछन् । लुम्बिनीको विकास गर्न लुम्बिनीवासीको नेतृत्वदायी भूमिका नभएसम्म सम्भव छैन भन्ने सबैले बुझ्नु जरुरी छ । जहाँसम्म प्रचण्डजीले लुम्बिनी विकास गर्ने कुरा छ, जो व्यक्तिहिंसाको माध्यमबाट समाज परिवर्तन गर्छु भनेर हिँडेको छ त्यो व्यक्तिले विश्वशान्तिको पवित्र स्थलको विकासमा योगदान पुर्याउँछु भन्नु हास्यास्पद विषय बन्न पुग्छजस्तो लाग्छ मलाई त । उनको काम न त पारदर्शी छ न उनी लुम्बिनीको विकासप्रति अन्तरहृदयदेखि प्रतिबद्ध नै छन् । यो कुरा गलत हो भने लुम्बिनीको विकास गरेर देखाइदिऊन्, अनि पत्याउन सकिएला । लुम्बिनीको आध्यात्मिक महŒवलाई हेरेर लुम्बिनीवासीको समेत प्रतिनिधित्व रहनेगरी विश्व बौद्ध समुदायसँग सहकार्य गर्दै यसको विकासको जिम्मेवारी बौद्ध समुदायलाई नै सुम्पिनुपर्छ ।
० दलाई लामा भारतमा शरणार्थी बनेर बसिरहनुभएको छ, यत्तिका वर्षसम्म कुनै पनि बौद्धमार्गीले उहाँको भारतबसाइसँग जोडेर भारतको विरोध गरेको सुनिएन, तर हाल आएर कतिपय बौद्धहरूले नै लामा र भारतको विरोध गरेको सुनिन थालियो नि, यो के हो ?
– यसको पछिल्तिर नेपालका कम्युनिस्ट पार्टीमार्फत नर्थको कम्युनिस्ट पार्टीको बद्नियतपूर्ण चलखेल देखिन्छ । यस मामलामा भारत–भूमिको विरोध गर्ने व्यक्ति कुनै मानेमा पनि बौद्ध ठहरिन सक्दैन । बौद्धभूमि जहाँ हामी गएर नमन गर्छौं, गौतम बुद्धले टेकेको भूमि भनेर हामी शिर निहुराउँछौँ, त्यो भूमिको विरोध गर्नु कुनै पनि बुद्धिस्टलाई सुहाउने कुरा होइन । भारत र भारतमा शरण लिइरहेका दलाई लामाज्यूको विरोध गर्ने कुनै पनि ‘बौद्ध’ यथार्थमा बौद्ध कहलिन सक्दैन, उसले भगवान् बुद्धकै अनादर गरेको ठहर्छ । यो भारतको मात्र विरोध नभई प्रजातन्त्रमाथि नै प्रहार हो । चीनमा प्रजातन्त्रको हावा प्रवेश गर्न नसकोस् भन्ने बद्नियतबाट प्रेरित भई त्यसलाई छेकवार लगाउनका लागि यहाँ ठूलो प्रपञ्च भइरहेको छ, तर यसका ‘मास्टर माइन्डेड’हरू एक दिन अवश्य फेल हुनेछन् ।
– जयप्रकाश त्रिपाठी
प्रतिक्रिया