रहिनन् विश्वकै जेष्ठ नागरिक

रहिनन् विश्वकै जेष्ठ नागरिक


विश्वभरीका जिवित मानिसहरु मध्ये सबैभन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ बर्षको उमेरमा शनिबार निधन भएको छ । जापानका सम्बन्धित अधिकारीहरुले आइतबार सो जानकारी दिएका एएफपीले जनाएको छ।

जापानी महिला नाबी ताजिमाको ११७ बर्षको उमेरमा शनिबार बेलुका झण्डै ८ बजेतिर निधन भएको स्थानीय सञ्चार माध्यमहरुले आइतबार समाचार संप्रेषण गरेका छन् ।

ताजिमाको जन्म सन् १९०० को अगस्ट ४ का दिनमा भएको थियो । किकाइ द्विपको कागोसिमा क्षेत्रमा पर्ने अस्पतालमा उनको निधन भएको सरकारी स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । सन् २०१५ को सेप्टेम्बर महिनामा ताजिमा जापानको सवै भन्दा जेष्ठ नागरिक बनेकी थिइन्।

‘गिनिस बुक अफ बल्ड रिकर्ड’का अनुसार यसअघि विश्वको नै जेष्ठ नागरिक जमाइकाका भोइलेन्ट ब्राउन सन् २०१७ को सेप्टेम्बरमा निधन भएपछि विश्वको सवै भन्दा जेष्ठ नागरिकको खोजी भएको र ताजिमा विश्वको सवै भन्दा जेष्ठ नागरिक बनेकी थिइन् ।

ताजिमाको निधनपछि विश्वकै अर्का जेष्ठ सदस्य पनि जापानकै नागरिक भएका छन् । झण्डै ११२ बर्षका मसाजो नोनाका अहिले जिवित नागरिक मध्ये सवैभन्दा जेष्ठ नागरिक बनेका हुन् ।

जापानमा धेरै नागरिकहरु लामो उमेर बाच्ने गर्दछन् । झण्डै ६८ हजार जापानी नागरिकहरु एक सय बर्ष भन्दा बढी उमेरका सरकारी स्रोतले गत बर्ष नै जानकारी दिएको थियो ।