० दैलेखका दुई दर्जनभन्दा बढी पत्रकारले सुरक्षाका कारण एकसाथ जिल्ला छोड्नुप¥यो, यो त नेपालको इतिहासमै पहिलो होला, किन यस्तो अवस्था आयो होला ?
– जुन राजनीतिक परिवेशमा हामी बाँचिरहेका छौँ यसका आधारमा भन्नुपर्दा यो घटनालाई म त अस्वाभाविक ठानिरहेको छैन । हाम्रो टाउकामा अहिले सरकाररूपी जुन तत्व बसेको छ त्यो अझै पनि नौलो जनवादी क्रान्तिको पक्षमा छ । यो माओवादी भन्ने पार्टी जङ्गलबाट फर्केपछि धेरै मान्छेलाई माओवादी सप्रियो, लोकतान्त्रिक भयो भन्ने भ्रम प¥यो । उसले त्यही भ्रमलाई हतियार बनाएर बन्दुक छोडेजस्तो गरे पनि नौलो जनवादी क्रान्तिको दिशा सोझ्यायो । बर्बरतापूर्ण ढङ्गले यहाँसम्म आइपुगेको यो पार्टीले अझै कति ताण्डव नाच्नु छ भन्ने हामी सबैले यकिन गर्न सकेकै छैनौँ भने पत्रकारहरू ज्यान सुरक्षाका लागि गाउँ–जिल्ला छोड्ने अवस्थामा पुग्नु के अस्वाभाविक भयो र ?
० तपाईंको कुराका आधारमा त माओवादी पार्टी कहिल्यै लोकतान्त्रिक बन्न सक्दैन हो ?
– सक्दैन, सक्दैन, माओवादीहरू कहिल्यै लोकतान्त्रिक बन्ने छैनन्, कहिल्यै । उनीहरूको सोच, शैली र व्यवहारले यही देखाउँछ ।
० लोकतन्त्रको कुरा पनि गर्छन् त उनीहरू ?
– कहाँ गरेका छन् लोकतन्त्रको पक्षमा कुरा ? मैले सुनेको छैन । प्रचण्डले हालै आफ्नो पार्टीको काठमाडौं जिल्ला अधिवेशनमा भने कि अब नौलो जनवादको दीर्घकालीन कार्यनीति होइन जनतालाई आर्थिक क्रान्तिमा लगाएर नौलो जनवादी क्रान्ति पूरा गर्छौं ! नौलो जनवादको कुरा गर्दै एकतन्त्रीय निरङ्कुशता लाद्न छट्पटिएको शक्तिले लोकतन्त्रको कुरा गरेको छैन र गरे पनि पत्याउने कसरी ?
० अहिलेको युगमा सम्भव छ र नौलो जनवादी क्रान्ति ?
– त्यो त प्रचण्डजीहरूको सपना हो । उहाँ त बडा स्वप्निल हुनुहुन्छ नि त ! सपना धेरै देख्नुहुन्छ अनि बरर्र–बरर्र बर्बराउनुहुन्छ । उहाँका प्रत्येक सपनाको पछिल्तिर एक–एकवटा बर्बराई आउने गरेको दुनियाँले देखिरहेको छ नि । यसैले गर्दा नै प्रचण्डजी रङ्ग न ढङ्गको जोकरजस्तो बनिरहनुभएको छ ।
० आजको परिवेशमा यसरी एउटा जिल्ला नै सञ्चारबाट विमुख र विच्छेदको अवस्थामा पुग्न विवश हुनु गम्भीर कुरा हो नि, होइन ?
– त्यही त म भन्दै छु । एउटा कुरा के बुझ्नुपर्छ भने यस्ता निरङ्कुश सरकार या शासकहरू जहिले पनि प्रेससँग थर्थरी काँपिरहेका हुन्छन् । आजको मात्र कुरा होइन यो, सय वर्षको विश्व इतिहास हेरे पनि यही देखिन्छ । हिटलर पनि प्रेससँग डराउँथ्यो, मुसोलिनी पनि प्रेससँग औधी डराउँथ्यो, पोलपोटको हालत पनि त्यही थियो । ख्याल राख्नुस्, यसरी प्रेससँग डराउने मानिस निरङ्कुश हुन्छन् । प्रचण्ड–बाबुराम या तिनका पार्टीका कार्यकर्ता पनि सबभन्दा बढी प्रेससँग नै डराउने गरेका छन् । अरूलाई त त्यत्तिकै पेलिहालिन्छ तर यो प्रेस भन्ने ज्याद्रोलाई त पेल्नै नसकिने रहेछ भन्ने पनि तिनले बुझेका छन् । प्रेसको पक्षमा सारा विश्व एक हुन्छ भन्ने पनि तिनीहरूलाई थाहा छ । तर, कुबुद्धिले फेरि उनीहरू प्रेसलाई पेल्नै खोज्छन् र मार खान्छन् । होसियार बन्न खोज्दाखोज्दै पनि सबभन्दा बढी डराउने, सबभन्दा बढी रिसाउने र सबभन्दा बढी तिनले दमन गर्ने ठाउँ फेरि प्रेस नै हो । अहिलेको घटनाचाहिँ प्रेसमाथिको दमनको एउटा ट्रेलर मात्र हो । प्रेसमाथि सरकारी दमन त रेडियो नेपालबाट आरम्भ भइसकेको थियो । बाबुरामले आफूमाथि टिप्पणी गरेर अन्तर्वार्ता दिनेलाई केही भन्न सकेनन् तर अन्तर्वार्ता लिनेलाई चाहिँ कारबाही गर्न निर्देशन जारी गरे । त्यहाँबाट सुरु भएको ट्रेलरको दैलेख प्रकरण एउटा रूप हो ।
० भनेपछि त प्रेसमाथि दमन अझ बढ्न बाँकी नै छ ? कहाँसम्म चल्ला त यो शृङ्खला ?
– हेर्दै जानुहोला, कस्ता–कस्ता दमन झेल्नुपर्नेछ भन्ने । पत्रकार महासङ्घ, प्रेस युनियन, प्रेस चौतारी आदि सबै सञ्चार क्षेत्रका सङ्घ–संस्थाहरू संयुक्त भएर घनघोर विरोध गरेनन् र केही दिनकै लागि भए पनि प्रधानमन्त्रीलाई मिडियाबाट बहिष्कार गर्न सकेनन् भने यो दमन झन् बढ्दै जान्छ । सधैँका लागि भन्ने कुरा भएन केही दिन मात्र भए पनि बहिष्कार गरेर ‘हामी यस्तो पनि गर्न सक्छौँ है’ भन्ने सन्देश दिन जरुरी छ । धेरै पनि पर्दैन तीन दिन बन्द गर्दिनुस् माओवादी थरथर काँप्न थाल्नेछ ।
० भनेपछि माओवादीलाई लोकतान्त्रिक बनाउन त मिडियाले मात्र सक्ने रहेछ कि कसो ?
– मिडियाले मात्र सक्ने भन्ने त होइन सक्ने त जनताले नै हो । सबैभन्दा माथि त जनता नै हो नि । जनताले नै हामी कसैलाई पनि तह लगाउने हो । तर, फेरि मिडिया भनेको राज्यको चौथो अङ्ग हो, जनतापछिको शक्तिशाली अङ्ग हो यो । त्यसैले मैले भन्ने गरेको छु मिडिया जति–जति जनताप्रति समर्पित हुन्छन् त्यति–त्यति आफैँमा शक्तिशाली पनि बन्छन् । गलत काम गर्ने जोसुकैसँग पनि जुध्ने आत्मबल मिडियाले जनताबाटै पाएको हुन्छ । त्यसैले मैले यो पनि भन्ने गरेको छु कि पत्रकारको आचारसंहिता सरकार, संसद् या राज्यका यस्ता निकायले नभई पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घ आफैँले बनाउनुपर्छ ।
० मुलुकको राजनीतिक समस्याको निकासचाहिँ कसरी होला त ?
– बल्ल–बल्ल नेताहरूमा अलि–अलि चेतना आउन थालेको छ आन्दोलनको विकल्प छैन भन्नेमा । म त्यही भन्छु, वर्तमान परिवेशमा आन्दोलनले मात्र समस्याको निकास दिन सक्छ ।
० आन्दोलनबाट प्रधानमन्त्री हटाउन सक्नुहुन्छ तपाईंहरू ?
– प्रधानमन्त्री हटाउने भन्ने सानो कुरा भयो । बाबुराम प्रधानमन्त्री हटाउँदैमा समस्या सिद्धिने होइन । मैले के बुझेको छु भने राज्यका यावत् निकायले यो निरङ्कुश शासन–सत्तासँग कि आत्मसमर्पण गर्नुप¥यो कि चाहिँ निरङ्कुशतन्त्रको विरुद्ध दुई–चार वर्ष सङ्घर्ष गर्ने हिम्मत गर्नुप¥यो । ०१७ सालपछि राजा महेन्द्रले सबैलाई एकप्रकारले नतमस्तक गराए, उनले पत्रकारलाई पनि अफ्नो पक्षमा ल्याए, कम्युनिस्टलाई पनि ल्याए, काङ्ग्रेसका त महामन्त्रीसमेतलाई झुकाए । सबैलाई ल्याए र २०–३० वर्षसम्म निरङ्कुश रजाइँ गर्ने तारतम्य बनाए । यही गर्नमा ज्ञानेन्द्रचाहिँ चुके र दुःख पाए । यो एउटा बाटो अहिले पनि छ जनताका लागि, त्वम् शरणम् भन्दै यही निरङ्कुश र नालायक सरकारसमक्ष आत्मसमर्पण गर्ने । होइन भने एउटा राम्रो अवसर पनि छ, यो नेकपा एमाओवादी भन्ने अहिले विश्व समुदायकै लागि चरम नकारात्मक पात्रका रूपमा उदाएकोले राजनीतिक दलहरूलाई फाइदा नै छ सङ्घर्षमा जाने सवालमा ।
– ऋषि धमला
भरत न्ह्याछ्यों भन्छन् —जनता रिझाउनु नै प्रजातन्त्रवाद
नेपाली काङ्गे्रस ललितपुरका नगर समिति अध्यक्ष भरत न्ह्याछ्यों वाणिज्यशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ । ०१२ असारमा पाटनको गाःबहालमा जन्मनुभएका भरतले ०२७ सालदेखि विद्यार्थी राजनीतिमा सहभागिता जनाउनुभएको हो । ०३६ सालको जनमतसङ्ग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा प्रचार गर्दा पक्राउ परी केही दिन हिरासतमा पर्नुभएका उहाँले ०२७ सालदेखि हालसम्म नेपाली काङ्गे्रस र प्रजातन्त्रका पक्षमा आफूलाई निरन्तर समर्पित र क्रियाशील तुल्याउँदै आउनुभएको छ । काङ्गे्रस नगर सभापतिका रूपमा दोस्रो कार्यकालको जिम्मेवारी निर्वाह गरिरहनुभएका उहाँले पार्टी जिल्ला समितिको सहसचिवको भूमिकासमेत कुशलतापूर्वक पूरा गर्नुभएको थियो । ललितपुरको नगर क्षेत्रमा काङ्गे्रसको पर्यायझैं बन्नुभएका भरत टोलको विकास र सुधारमा विशेष चासो राख्नुहुन्छ । नेताहरूको परिपरि घुम्न ठ्याम्मै मन नपराउने भरत पार्टीका अन्य कार्यकर्तालाई पनि नेताको घर धाउनुभन्दा जनताको घरघरमा पुग्नु उचित हुने सुझाव दिनुहुन्छ । निष्ठा र इमानदारीमा भरत न्ह्याछयाेंबराबर कमै पार्टी–राजनीतिकर्मी रहेको विश्वास गरिन्छ । काम गरेर खानुमा गौरव महसुस गर्ने उहाँ आफ्नो श्रम र सीप बेचेर गुजारा चलाउँदै जनसेवाका लागि समय निकाल्ने गर्नुहुन्छ । भरतलाई तपाईंको आदर्श को हो भनी जिज्ञाशा राख्दा उहाँले भन्नुभयो, ‘पहिले बीपी कोइराला नै हो अहिलेचाहिँ नेपाली काङ्गे्रस ।’
० काङ्गे्रस र बीपी त छुट्टिइसके होइन र ?
– ठ्याम्मै छुटेजस्तो लाग्दैन मलाई । नेतृत्वले केही कमजोरी अवश्य गरेका हुन्, बाटो, बिर्संदै छन् कि जस्तो पनि मलाई लागेको छ । तर, प्रजातन्त्रप्रतिको आस्था र विश्वासबाट काङ्गे्रस विचलित भएको छैन ।
० काङ्गे्रस कुन बाटो हिँड्नुपर्ने कता हिँड्यो जस्तो लाग्छ तपार्इंलाई ?
– समाजवादप्रतिको प्रतिबद्धताचाहिँ अलिक बढी नै उपेक्षामा परेको महसुस मैले गरेको छु ।
० बीपीले संवैधानिक राजतन्त्रको अवलम्बन गर्नुभएको थियो, तर काङ्गे्रसले त त्यो पनि छोड्यो होइन र ?
– हो, राजा ज्ञानेन्द्रले निरङ्कुशता लाद्दै काङ्गे्रसलाई भित्तामा पु¥याउन खोजेको हुनाले माओवादीसँग मिलेर जानुपर्ने अवस्था आयो । जसका कारण बीपीले अनुशरण गर्नुभएको पद्धतिका पक्षमा उभिन सक्ने स्थिति रहेन ।
० राजा ज्ञानेन्द्रले गिरिजाप्रसादलाई भन्दा राजा महेन्द्रले बीपीलाई बढी सास्ती दिएका होइनन् र ? निर्वाचित सरकारको विस्थापन, आठ वर्ष कठोर काराबास, प्रवासको बास र फाँसीको माग भइरहँदा पनि बीपीले गणतन्त्र भन्नुभएन, तर गिरिजाप्रसादचाहिँ बदलाको भावनाबाट ग्रसित हुनुभयो भन्ने लाग्दैन ?
– त्यसमा गिरिजाबाबुले दीर्घकालिक सोच पु¥याउन नसकेकै हो ।
० देशमा जातीय र क्षेत्रीय भडकाव पनि देखापरेका छन्, यसलाई तपार्इं कसरी लिँदै हुनुहुन्छ ?
– दलहरूले सीधासादा जनतालाई भडकाउन गरिएको प्रयासका रूपमा मैले लिएको छु । देशलाई बर्बाद गर्ने नियोजित चालबाजीअन्तर्गत यस्तो भइरहेको छ । कुनै पनि देशभक्त र प्रजातन्त्रपे्रमी नागरिक जातिवादी या क्षेत्रवादी हुन सक्दैन । राजनीति गर्ने मान्छेले सिङ्गै देशको चिन्ता लिनुपर्छ ।
० भरतजी, ललितपुरलाई वामपन्थीहरूको पकड बलियो भएको जिल्ला मानिन्छ, यस्तो हुनुको कारण के होला ?
– पहिलो कुरा त ललितपुर वामहरूको पकड क्षेत्र म मान्दिनँ । ललितपुरवासीहरू सधैं लोकतन्त्रपे्रमी छन्, रहिरहनेछन् । काङ्ग्रेसले नगरपालिकाको मेयर तथा उपमेयर पदमा विजय हासिल गरिसकेको पनि हो । बरु हाम्रो साङ्गठनिक गतिविधिचाहिँ कमजोर भएको छ । ०१७ सालपछिको बीस वर्षसम्म वामपन्थीहरूको गतिविधि ललितपुरमा राम्रो रह्यो तर काङ्गे्रसको साङ्गठनिक गतिविधि खासै भएन । ०३६ सालपछि मात्र काङ्गे्रसले ललितपुरमा साङ्गठनिक क्रियाशीलता देखाएको हो ।
ललितपुरमा प्रजातन्त्रवाद सुदृढ बनाउन के गर्नुपर्ला ?
– ललितपुरवासी भनेका चेतनशील समुदाय हुन् । कुनै बेला चर्का गफ दिएर भ्रम दिन वामपन्थीहरू सफल भएका भए पनि अब उनीहरू एक्स्पोज भइसकेका छन् । जनताको दृष्टिमा वामपन्थीहरूको वास्तविकता स्पष्ट भइसकेकाले भविष्यमा ललितपुरले लोकतन्त्रवाद र लोकतन्त्रवादीलाई नै रोज्ने विश्वास मैले गरेको छु । हामीले जनतालाई प्रजातन्त्रवादका बारेमा राम्ररी बुझाउने र आफ्नो व्यवहार पनि सोहीअनुरूप गर्दै जाने हो भने जनतामा सकारात्मक प्रभाव पर्छ । नेता रिझाउनुभन्दा जनता रिझाउनु नै प्रजातन्त्रवाद हो भन्ने कुरा काङ्गे्रसका आमकार्यकर्ताले बुझ्न सके भने ललितपुर मात्र होइन देश नै प्रजातन्त्रवादीहरूको जिम्मामा आउने निश्चित छ ।
प्रतिक्रिया