प्रचण्डका अन्टसन्ट कुरा स्वीकार गरिन्न

प्रचण्डका अन्टसन्ट कुरा स्वीकार गरिन्न


antarbichar—झलनाथ खनाल (अध्यक्ष, नेकपा एमाले)
० महाधिवेशनपछि मुलुकमा सहमति र सहकार्यको वातावरण निर्माण हुने दाबी एमाओवादी नेतृत्वले गरेको छ, तपाईंलाई के लाग्छ ?
– एमाओवादीको महाधिवेशन हुनु राम्रो कुरा हो । अब महाधिवेशनपछि एमाओवादीले के–कस्ता नीति, विचार र कार्यक्रम लिएर आउँछ, त्यो हेर्नुपर्छ । अग्रगति, प्रगति, सहमति र सहकार्यको एजेण्डा लिएर आउँछन् कि उही विमति, अविश्वास या मुलुकलाई अझ बर्बादीको खाडलमा हाल्ने नीति लिएर आउँछन्, त्यो हामी गम्भीरताका साथ नियालिरहेका छौँ ।
० प्रचण्डले महाधिवेशनमार्फत काङ्ग्रेस र एमालेलाई स्वीकार्य हुने फर्मुला तयार गर्ने उद्घोष गरेका छन्, अब त काङ्ग्रेस–एमालेले माओवादीसँग मुख बटार्न नमिल्ला नि ?
– माओवादीले त्यस्ता फर्मुला अहिले मात्र होइन दर्जनौँपटक अगाडि सारेको हो । उसका सबै फर्मुला झुट ठहरिइसके । अब महाधिवेशनबाट अर्को झुटको पुलिन्दा आउने हो या साँच्चै इमानदार भएर प्रस्तुत हुने हो, त्यो अबको व्यवहारले देखाइहाल्छ । एमाओवादीको यो झुटको शृङ्खलामा अर्को झुट सावित नहोस् । असल र इमानदार भई साँच्चै शान्ति र सहमतिमा जाने प्रस्ताव लिएर आएमा उहाँहरूको पनि कल्याण हुन्छ, देश र जनताले पनि राहत महसुस गर्न पाउनेछन् ।
० प्रचण्डले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन हुनुपर्छ र आगामी जेठ १५ भित्र निर्वाचन गरिनुपर्छ भनेका छन्, यसमा एमाले के भन्छ ?
– एमाओवादीमा आएको यो गम्भीर दक्षिणपन्थी भडकाव हो । राजनीतिक पार्टीहरूलाई छोडेर, बहुदलीय लोकतान्त्रिक पद्धतिलाई उपेक्षा गरेर स्वतन्त्र व्यक्तिको खोजी गर्ने कुरा आफैँमा एउटा दक्षिणपन्थी भडकाव हो भन्न मेरो ठहर छ । यस्तो भडकावमा उहाँहरू कसरी भासिनुभयो भन्ने कुराको कारण खोतल्नुपर्ने भएको छ । कमसेकम महाधिवेशनपछि यस्ता भडकावपूर्ण र गलत रवैयालाई सच्याएर राजनीतिक दलहरूबाटै सरकार निर्माण गरी अघि बढ्ने सद्बुद्धि एमाओवादीलाई प्राप्त होस् ।
० दलहरूबीच असहमति चुलिएको सन्दर्भमा स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्दा तपाईंहरूको टाउको दुख्नुपर्ने किन ?
– दलीय सरकार गठन गर्ने कुरामा एमाओवादीको टाउको दुख्नुपर्नेचाहिँ किन रहेछ नि ? दलीय लोकतन्त्रमा दलको नेतृत्वलाई अस्वीकार गर्ने कुरा कति गम्भीर छ भन्ने विश्लेषण हुनुपर्छ कि पर्दैन ? यो निर्दलीय पञ्चायत हो कि अन्य राजाको उदय हुन थालेको हो ? यसमा समस्तजन गम्भीर र सचेत हुनुपर्छ ।
० तपाईंहरूलाई बाबुराम भट्टराई स्वीकार्य नहुने अनि एमाओवादीलाई सुशील कोइराला अस्वीकार्य हुने भएपछि बीचको बाटो खोज्नु ठीकै हो नि, होइन र ?
– उनीहरूको फर्मुला मात्रै लागू गर्न खोजेर हुन्छ र भनेको ? उनीहरूलाई जे–जे इच्छा लाग्छ त्यही–त्यही गर्न अरू सबैले तयार भइदिनुपर्ने भए किन चाहियो दलीय व्यवस्था, निरङ्कुश एकदलीय एमाओवादी शासन–सत्ता मानेर सबै उसका पाउमा नतमस्तक भइदिनुपर्ने हो ? नेपाली जनताको इच्छा, नेपालका लोकतान्त्रिक शक्तिहरूको इच्छा सबभन्दा महत्वपूर्ण कुरा हो भन्ने कसैले नबिर्सौं । जबसम्म लोकतान्त्रिक शक्तिले भनेको कुरालाई मानिँदैन तबसम्म देश अगाडि बढ्ने आधार निर्माण हुँदैन । दश–दश वर्षसम्म जनयुद्धका उट्पट्याङ काम–कुरा गरेर आज आएर फेरि शान्तिपूर्ण बाटोमा हिँड्नुपर्ने रहेछ भनी स्वीकार गर्नुप-यो कि परेर उसले ? हाम्रो पार्टीले त ०४६ सालमा नै भनेको थियो अबको हाम्रो कार्यदिशा भनेको क्रान्तिको कुरा मात्र होइन आर्थिक क्रान्ति र उत्पादनको काम गर्नुपर्छ भनेर । आखिर दश–दश वर्ष मुलुकलाई रगतको आहालमा डुबाएर अहिले फेरि हामीले २०–३० वर्षअघि नै ठह-याएको बाटोमा माओवादीले आउनुप-यो कि परेन ? त्यसैले हामी यतिबेला जे भनिरहेका छौँ माओवादी भोलि नाकमा नत्थी लगाएर हामीले भनेकै ठाउँमा आउनुपर्ने हुन्छ, यो लेखेर राख्नुहोस् ।
० त्यसो भए तपाईंहरू एमाओवादी अध्यक्षको फर्मुलालाई स्वीकार गर्ने पक्षमा हुनुहुन्न ?
– असल शक्तिले गलत कुरालाई कदापि स्वीकार गर्दैन । उनका अन्टसन्ट कुराहरूलाई हामीले किन स्वीकार गर्ने ? नेकपा एमाले फेरि पनि दृढताका साथ भन्छ कि दलीय व्यवस्थाको मर्मका आधारमा दलहरूबाटै सरकार बन्नुपर्छ, दलहरूको सिद्धान्तका आधारमा मुलुक अगाडि बढ्नुपर्छ । यो मुलुक अब प्रतिगमनतर्फ जान सक्दैन ३० वर्षे निर्दलीय तानाशाही व्यवस्थालाई हामीले चिहानमा गाडिसकेका छौँ । आज माओवादी त्यो चिहानबाट त्यसको भूतप्रेतलाई निकाल्न खोज्दै छ । यो किन र कसरी स्वीकार गर्ने हामीले ?
० तपाईंहरूले त्यो प्रस्ताव नमाने तपाईंहरूमाथि सङ्कट आउँछ, तपाईंहरू समाप्त हुनुहुन्छ भन्ने दाबी गरेका छन् प्रचण्डले, हेक्का राख्नुभएको छ कि छैन ?
– कागले ‘काग–काग’ भनेर आफ्नो नाम काडेजस्तै कुरा हो यो । माओवादीले एमाले र काङ्ग्रेस सिद्धिन्छ भनेर भनेको कुरा ‘आफँै सिद्धिन्छु, सिद्धिने बाटोमा छु’ भनेको हो भनी बुझ्दा सही होला । महाधिवेशनपछि पनि आफूलाई सच्याएर अगाडि बढ्ने मति एमाओवादीमा फिर्दैन भने नेपालको कम्युनिस्ट आन्दोलनबाट माओवादी सदाका लागि बढारिनेछ, नेपालको लोकतान्त्रिक आन्दोलनबाट सदाका लागि ऊ किनारा लाग्छ ।
० होइन, जनताले तपाईंहरूलाई चाहिँ किन साथ दिने त अध्यक्षज्यू ?
– जनताले किन साथ दिन्छन्, कसरी साथ दिन्छन् भन्ने तपाईंले गत साताको विराटनगरको आमसभालाई हेरेको भए बुझ्नुहुन्थ्यो । सर्वसत्तावादविरुद्ध जनता दैलेखमा कसरी उठे, दुल्लुमा कसरी जागे, बाग्लुङमा कसरी जनउभार उठ्यो भन्ने पनि नियाल्नुप-यो । आज नयाँ जंगबहादुरको उदय भएको झल्को दिनेगरी कसरी एमाओवादी नेतृत्व जनमानसबीच कुर्लने चेष्टा गरिरहेछ, यसप्रति सबै सचेत र गम्भीर हुनुप-यो ।
० अहिलेको स्थितिमा माओवादीलाई निषेध गरेर तपाईंहरू अगाडि जान सक्नुहोला र भनेको ?
– हामीले निषेधको कुरा कहाँ ग-यौँ ? हरदम सहमतिको कुरा गरिरहेका छौँ हामी । सही कार्यदिशा लिएर कोही आउँछ भने सहकार्य गर्न हामीलाई आपत्ति किन हुन्छ
र ? तर, सर्वसत्तावाद कसले लागू गरिरहेको छ, निषेधको राजनीति व्यवहारत: कसले गरिरहेको छ, एमाओवादीले नै होइन र ? एमाले र काङ्ग्रेसलाई एमाओवादी निषेध नै गर्न खोज्छ भने हामी पनि जस्तालाई तस्तै ढिँडालाई निस्तै बनाउन कुनै कसर छोड्ने छैनौँ । हेटौँडा महाधिवेशनबाट एमाओवादीले आफूलाई गम्भीर भई नियालेर, आत्मसमीक्षा गरीकन सर्वसत्तावादको जालोबाट बाहिर निस्कन प्रयत्न गर्नुपर्छ भन्ने हाम्रो सुझाव र सद्भाव छ । अन्य लोकतान्त्रिक शक्तिसँग ऐक्यबद्धताका साथ हिँड्नु अपरिहार्य छ भन्ने उसले मनन गर्नैपर्छ । ताजा जनादेश लिन चाँडोभन्दा चाँडो तत्परताका साथ चुनाव गर्ने सङ्कल्प लिन ऊ तयार हुँदैन भने एकाध ठाउँमा मौका हेरेर उनीहरू मच्चिएलान्, तर मच्चिन्छन्– मच्चिन्छन् र आफैं थच्चिन्छन्, हेर्नुहोला ।
० आगामी जेठमा चुनाव हुन सक्ला कि नसक्ला त अब ?
– त्यो सम्भावनालाई त एमाओवादीले तुहाइसक्यो नि । समय बाँकी रहँदासम्म बखेडा गर्ने अनि समय घर्किएपछि ‘जेठमै चुनाव गर्नैपर्छ’ भन्दै कुर्लिएर एमाओवादी नेतृत्वले नौटङ्की देखाइरहेको छ । यस्तो प्रवृत्तिबाट ऊ मुक्त हुनुपर्छ । – ऋषि धमला

जातीय राज्य हुँदै हुँदैन : हिरालाल तण्डुकार
नेपाली काङ्गे्रस काठमाडौं क्षेत्र नं. एकका अध्यक्ष हिरालाल तण्डुकार पार्टीप्रति समर्पित, इमानदार र जुझारू नेताको रूपमा चिनिनुहुन्छ । काठमाडौं महानगरका चार वडाहरू ११, ३४, १० र ३२ समेटेर बनाइएको निर्वाचन क्षेत्रभित्र सिंहदरबारदेखि नेपाली सेनाको प्रधान कार्यालय र राष्ट्र बैंकसमेत पर्दछन् । २००९ साल असोजमा बबरमहल कुरियागाउँमा जन्मनुभएका तण्डुकार ०३२ सालदेखि राजनीतिमा क्रियाशील भएको भए पनि ०३५/३६ को आन्दोलनदेखि काङ्ग्रेसमा सक्रिय हुन थाल्नुभएको हो । २०४६ को आन्दोलन र त्यसअघि पटकपटक प्रहरी हिरासतमा पर्नुभएका तण्डुकार २०४६ को आन्दोलनताक बुबाको शोकमा हुनुहुन्थ्यो । सेतो पहिरनमा जुलुसमा सहभागी भएका तण्डुकारलाई प्रहरीले आक्रमण गरी टाउको फुटाइदिएपछि पूरै कपडा रगतले भिजेको थियो । आमा र पत्नीले गाली गर्ने डरले हिरालाल नयाँ कपडा लगाई रगतले भिजेको कपडा बाटैमा फालेर घर पुगेको घटनालाई उहाँ अविष्मरणीय ठान्नुहुन्छ । उहाँसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
० तपाईं किन काङ्गे्रस बन्नुभएको हो ?
– काङ्गे्रस बन्छु भनेर बनेको होइन, अन्जानमै बनेको । बीपी कोइराला र गणेशमानजीबारे बुबाले घरमा कुरा गरिरहनुहुन्थ्यो । गणेशमानजीप्रति सद्भाव थियो । काङ्गे्रसको झण्डा मलाई खुब मन पथ्र्यो । म पाटन औद्योगिक क्षेत्रमा काम गर्थें । त्यहाँ कम्युनिस्टको हँसिया–हथौडा अङ्कित झण्डा धेरैजसोले बोक्ने गर्दथे, तर म बोक्दिनथेँ । ०३५/०३६ को आन्दोलनमा काङ्गे्रसको झण्डा बोकेर आन्दोलनमा निस्किएँ । बीपीको विचार, गणेशमानजीको व्यवहार र काङ्गे्रसको झण्डाले आकर्षित गरेर म काङ्गे्रस भएको हुँ ।
० अरू पार्टीभन्दा काङ्गे्रस के कुरामा राम्रो हो ?
– यो प्रजातन्त्र पक्षको एउटै मात्र पार्टी हो । स्वतन्त्रता र प्रजातन्त्र कहिल्यै मर्दैन । काङ्गे्रसले उतारचढाव व्यहोर्नुपर्ला तर अन्तत: आउने काङ्गे्रस नै हो । काङ्गे्रसले मात्र राष्ट्रियता, प्रजातन्त्र र स्वतन्त्रता जोगाउन सक्छ । कम्युनिस्टका जाली कुरामा जनता अलमलिँदैनन् भन्ने मेरो विश्वास छ ।
० काङ्गे्रसले मौका पाउँदा पनि राम्रो काम गर्न सकेन भनिन्छ, तपाईंलाई कस्तो लाग्छ ?
– मलाई त दिनभरि थुनेर राखिएको बाख्राको पाठोजस्तै लाग्छ । लामो समय थुनेर राखिएका काङ्गे्रसका नेताले सत्ता पाएपछि दाम्लोबाट मुक्ति मिलेको पाठोजस्तो उत्ताउलो भयो । जथाभावी गरे, काम गर्न जानेनन्, ठूलाठूला औद्योगिक प्रतिष्ठानहरू बिक्री गरे, जनतामा त्यसको राम्रो असर परेन ।
० तपाईंको क्षेत्रमा सिंहदरबार पनि पर्छ, यो क्षेत्रलाई काङ्गे्रस पार्टीले जति महत्व दिनुपर्ने हो त्यति दिन सकेनजस्तो लाग्दैन ?
– पार्टीले यो क्षेत्रलाई जति दिनुपथ्र्यो नदिएकै हो । सङ्गठन विस्तार गर्न ध्यान दिनुपर्छ । यो क्षेत्रलाई प्रभावमा लिन सक्यो भने धेरै राम्रो हुन्छ । सेना, राष्ट्र बैंक, औद्योगिक कम्पनीका प्रधान कार्यालय, सिंहदरबारजस्ता संवेदनशील निकाय भएको ठाउँमा जनाधार बलियो बनाउन काङ्गे्रसले विशेष ध्यान दिनुपर्छ । हामी त फिल्डमा सक्रिय छँदै छौँ, तर केन्द्रले पनि केही गर्नुपर्छ भन्ने हो ।
० यस क्षेत्रबाट विजयी प्रकाशमान सिंहले आफ्नो भूमिका निर्वाह गर्न सके–नसकेको कस्तो मूल्याङ्कन गर्नुहुन्छ ?
– अरू क्षेत्रमा भन्दा यहाँ धेरै राम्रो काम यहाँ भएको छ । उहाँ आर्थिक रूपमा पनि पारदर्शी हुनुहुन्छ । सरल र सहज हुनुहुन्छ । जनताले बोलाएको ठाउँमा पुग्नुहुन्छ । विकास निर्माणमा सक्रियतापूर्वक लाग्नुभएको छ । प्रकाशमानजीको काम र कार्यशैलीबाट हामी खुसी छौँ ।
० माओवादी र एमालेको भविष्य कस्तो देख्नुहुन्छ तपाईं ?
– माओवादी सकिन दुई–चार वर्ष लाग्ला, त्यो त्यत्तिकै सकिनेवाला छ । माओवादीका बारेमा त्यति चिन्ता लिनुपर्ला जस्तो मलाई लाग्दैन । म त काङ्गे्रसका लागि एमाले नै ठूलो शत्रु हो जस्तो लाग्छ, चुनावी दृष्टिकोणले मात्र होइन, उनीहरूको व्यवहारले त्यस्तो देखाएको छ । खासमा म कम्युनिस्टको कुनै भविष्य देख्दिनँ । कम्युनिस्टको प्रभाव रहिन्जेल यो देशको विकास हुँदैन है ।
० माओवादीले जातीय राज्य बनाउने अवधारणा ल्यायो, तपाईंलाई कस्तो लाग्दै छ ?
– त्यो हुँदै हुँदैन । मैले त सङ्घीयता ल्याउने हो भने यो संविधान नै बन्दैन भनेर पहिले नै भनेको थिएँ । जातीय राज्य त बनाउन हुँदै हुँदैन, बन्न पनि बन्दैन । माओवादीले जनतालाई दिग्भ्रमित गर्ने काम गरेको हो । जातीय राज्य माओवादीले चाहेर मात्र हुँदैन । देशमा सयभन्दा बढी जाति छन्, यो देश विभाजन गर्ने कुरा हो । हामी सबै नेपाली मिलेर देश टुक्य्राउन खोज्नेहरूलाई ठेगान लगाउनुपर्छ ।
० काङ्गे्रस सुधार्न के गर्नुपर्ला ?
– हामीले १२औँ महाधिवेशनमा सुधार्ने सोच बनाएर नयाँ नेतृत्व ल्याएकै हौँ । नयाँ पुस्ताको हातमा पार्टी आउनुपर्छ, अब पुरानै सोच र शैलीले पार्टी चल्दैन, चलाउनु पनि हुँदैन ।
० तपाईंको निर्वाचन क्षेत्रमा काङ्गे्रसले फेरि चुनाव जित्न सक्ला त ?
– ए, नसक्ने त कुरै छैन । पहिलेभन्दा धेरै राम्रो भएको छ । हामी त पहिलेभन्दा निकै बढी मतले पो जित्दै छौँ । प्रकाशमानजीको व्यवहारले धेरै राम्रो गरेको छ यहाँ ।
० काङ्गे्रसले बीपीको विचार छोडेकोजस्तो तपाईंलाई लाग्दैन ?
– काङ्गे्रसलाई बिगार्ने त राजा नै हो, तर बीपीको विचार चटक्कै परित्याग गर्नु हुँदैनथ्यो, परिमार्जन गर्दै लैजानुपथ्र्यो ।