मुस्ताङमा कृषि प्राविधिक पढाइप्रति विद्यार्थी आकर्षित

मुस्ताङमा कृषि प्राविधिक पढाइप्रति विद्यार्थी आकर्षित


– विनोद त्रिपाठी

उत्पादनलाई जोड दिन मुस्ताङको एक सरकारी स्कुलले पहिलोपटक कृषि विषयको पढाइ शुरु गरेपछि धेरै विद्यार्थी कृषि पढ्न आकर्षित भएका छन् । अन्यत्र जिल्लाबाट विद्यार्थी आएर पढ्ने क्रम बढेको छ । कोवाङस्थित जनआदर्श माविले कृषि विषयमा पढाइ शुरु गरेपछि मुस्ताङका विद्यार्थीले अन्य जिल्लामा गएर पढ्नुपर्ने हैरानीबाट मुक्ति पाएका छन् ।

स्थानीय, शिक्षकहरू र शिक्षा कार्यालयको पहलले लामो समयपछि कृषि प्राविधिक विषय पढाउन यो स्कुलले अनुमति पाएको हो । अभिभावकहरूलाई कृषि पेशामा प्रोत्साहन गर्न र विद्यार्थीले प्राविधिक ज्ञान हासिल गर्न कृषि प्राविधिकको पढाइ शुरु गरिएको स्कुलले जनाएको छ । कृषिको पढाइ शुरु भएपछि आसपास तथा बाहिरी जिल्लाबाट विद्यार्थीहरू मुस्ताङ आएका छन् । छोराछोरीले कृषि विषय पढ्न थालेपछि अभिभावकलाई पनि कृषि उत्पादनमा सहयोग मिलेको छ । स्कुलले टाढाबाट आउने सबैलाई छात्रवासको ब्यवस्था गरेको छ ।

तल्लो मुस्ताङको कोवाङ गाउँको खोच धवलागिरी हिमालको काखमै छ यो स्कुल । आधुनिक भवन, खुला वातावरण, ठूलो खेलकुद मैदान र कृषिका विभिन्न बालीनालीबारे अध्ययन गर्नका लागि आफ्नो फार्म भएकोले जनआदर्श माविले पहिलोपटक कृषि प्राविधिक पढाउने अवसर पाएको हो । कृषिको पढाइले म्याग्दीका विद्यार्थी धेरै तानिएका छन् । ८२ जना विद्यार्थीले हाल कृषि विषय पढिरहेका प्रधानाध्यापक टीकाराम शर्माले जानकारी दिए । ‘कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले कृषि प्राविधिक अध्ययन गर्न अवसर पाउँछन्,’ उनले भने, ‘शुरुका वर्षमा भन्दा अहिले कृषि विषय पढ्ने सङ्ख्या बढेको छ ।’ विपन्नता र टाढा घर भएका विद्यार्थीलाई ध्यानमा राखेर स्कुलले विभिन्न सुविधा र छात्रावासको व्यवस्था गरेको उनले जानकारी दिए ।

स्कुलले कृषि प्राविधिक विषय पढाउन अनुमतिका लागि १० वर्ष अघिदेखि पहल गरेको थियो । तर, शिक्षा मन्त्रालय, विभाग र जिल्ला शिक्षा कार्यालयले ४ वर्ष अघि मात्र पढाउने अनुमति दियो । अनुमति पाएपछि पनि विद्यार्थीले कृषि पढ्न रुचाएनन् । तर, अहिले कृषि पेसाको महत्व र यसको आम्दानीका बारेमा अभिभावकदेखि गाउँका युवाहरूलाई स्कुलले बुझाउन थालेपछि कृषि प्राविधिक विषय पढ्ने विद्यार्थी बढेका छन् । प्रचारका कारण पनि अन्यत्रबाट यो स्कुलमा आएर विद्यार्थीले कृषि विषय पढ्न आएका छन् ।

कृषि प्राविधिक विषय पढाउनका लागि प्रअ शर्माले ठूलो मिहिनेत गरेका छन् । शुरुमा सरकारले अनुमति नै दिएन । त्यसपछि प्रधानाध्यापक शर्माले शिक्षा मन्त्रालयदेखि विभिन्न निकाय धाएर अनुमति ल्याइछाडे । विद्यार्थी सङ्ख्या न्यून हुने भएकोले प्राविधिक शिक्षामा लगानी गर्न सरकारले अनुमति दिन मानेको थिएन । ‘गाउँका सबै अभिभावक मिलेर कृषि पढाइ गराएरै छाड्यौँ,’ प्रधानाध्यापक शर्माले भने, यस्तो दुर्गम र विकटमा पनि ८० जनाभन्दा बढी विद्यार्थीले कृषि विषय पढिरहेका छन् ।’ व्यवस्थापन समिति, गाउँका समाजसेवी र शिक्षा कार्यालयको सहयोगले कृषि विषय पढाउन सफलता मिलेको उनले सुनाए ।

‘विद्यार्थीलाई कृषि विषयको पढाइमा आकर्षित गर्न हामीले कुनै शुल्क लिएका छैनौँ,’ प्रधानाध्यापक शर्माले भने, ‘परिवारलाई कृषि पेसा गर्न जगाउन छोराछोरीले कृषि प्राविधिक विषय अध्ययन गर्नुपर्छ भन्ने हामीले योजना बनाएका छौँ ।’ कृषि पेसाले आत्मनिर्भर र धनी बन्न सकिन्छ भन्ने ज्ञान हरेक परिवारका छोराछोरीले सिके भने अभिभावकलाई ठूलो मद्दत हुने गरेको उनले सुनाए ।

स्कुलको भवन पहिला निकै साँघुरो र सानो थियो । भारतीय राजदूतावासको सहयोगमा ०६६ सालमा स्कुलले नयाँ भवन बनायो । पहिले स्कुलको जस्ता पाताको छाना थियो । अहिले पक्की ढलानको स्कुलको भवन छ । भवनमा २४ वटा कोठा छन् । स्कुललाई आर्थिक व्यवस्थापन सजिलो होस् भनेर व्यवस्थापन समितिका अध्यक्ष अर्जुनसिंह तुलाचनले हरेक वर्ष ३ लाख सहयोग दिँदै आएका छन् ।

घर जान नसक्ने विद्यार्थीका लागि स्कुलमै छात्रवासको व्यवस्था छ । ‘विषयवस्तुको दक्ष ज्ञान भएका प्राविधिक शिक्षकले नै पढाउने भएकोले विद्यार्थीलाई कृषिको पढाइ निकै रुचि बनेको छ,’ सहप्रधानाध्यापक खिमबहादुर गुरुङले भने । रामपुर कृषि क्याम्पसमा पढेका शिक्षकले पढाउँछन् । यो कृषि प्राविधिक पढाइले आधुनिक कृषि प्रणाली र अर्गानीक खेतीलाई जोड दिने उनले बताए ।

स्कुलले हाल कृषिका ६ वटा विषय पढाएको छ । हरेक विषयमा अलगअलग विषयगत शिक्षक छन् । जिल्लाबाहिरबाट शिक्षक ल्याउनुपर्ने भएकोले सबै शिक्षकलाई व्यवस्थापन समितिले आवासको प्रबन्ध मिलाएको छ । यो स्कुलले कृषि विषय पढ्ने विद्यार्थीका लागि ९ र १० कक्षामा कुनै शुल्क लिँदैन । ‘विद्यार्थीलाई कृषि विषयको पढाइमा आकर्षित गर्न हामीले कुनै शुल्क लिएका छैनौँ,’ प्रधानाध्यापक शर्माले भने, ‘परिवारलाई कृषि पेसा गर्न जगाउन छोराछोरीले कृषि प्राविधिक विषय अध्ययन गर्नुपर्छ भन्ने हामीले योजना बनाएका छौँ ।’ कृषि पेसाले आत्मनिर्भर र धनी बन्न सकिन्छ भन्ने ज्ञान हरेक परिवारका छोराछोरीले सिके भने अभिभावकलाई ठूलो मद्दत हुने गरेको उनले सुनाए । ‘१० कक्षा पढेर सकेपछि जिल्लाबाहिर गएर पढ्ने चलन छ, अहिले कृषिको पढाइले धेरै हदसम्म बाहिर गएर पढ्ने चलन रोकिएको पनि छ,’ उनले भने ।

स्कुलले खर्च धान्न नसक्दा चन्दा सङ्कलन गरेर निर्वाह गरेको व्यवस्थापन समितिले जनाएको छ । कृषि विषयको पढाइ र तल्लो मुस्ताङको अब्बल स्कुल भए पनि सरकारले आवश्यकताअनुसार शिक्षक दरबन्दी नदिँदा समस्या परेको छ । तीनजना शिक्षक र कर्मचारीले स्थानीय स्रोतबाट तलब खाएका छन् । समितिले दुईजना थप शिक्षकको दरबन्दी माग गर्दै आएको छ । शिक्षक र कर्मचारी गरी हाल यो स्कुलमा २९ जनाको दरबन्दी रहेको छ ।