विकृतिले गिज्याइरहेको ‘विशेष सुरक्षा कार्यक्रम’

विकृतिले गिज्याइरहेको ‘विशेष सुरक्षा कार्यक्रम’


  • द्रोण अधिकारी, झापा

गृह मन्त्रालयको नेतृत्व रहनेगरी ‘सुरक्षित चार्डपर्व’का लागि प्रहरी प्रशासनले देशभरी नै एकमहिने विशेष सुरक्षा कार्यक्रम भव्य रूपमा सार्वजनिक गरेको थियो । दशैं शुरू हुनुभन्दा १५ दिनअगाडिबाटै प्रहरी प्रशासनले विकृति, विसंगति र गैरकानूनी क्रियाकलाप रोक्न भनेर विशेष सुरक्षा कार्यक्रम ल्याएको जनाइएको हो । यस अवधिमा प्रहरी प्रशासनको सुरक्षा नीति केही चंखे/चतुरे बर्दीधारीका लागि राम्रो कमाइखाने भाँडो भने बन्न पुगेको देखियो ।

तास-जुवा, सट्टेबाजी, आतिसबाजी, कालाबाजारी, ठगी जस्ता गैरकानूनी गतिविधि पूर्णरूपमा रोकिनुपर्नेमा अझ सहज गतिमा चलिरहेका दृष्यले प्रहरी प्रशासनको विशेष सुरक्षा रणनीतिमाथि रमाइलै शैलीमा व्यंग्य गरिरहेका दृष्य प्रशस्तै देखिएका छन् ।

यातायातका क्षेत्रमा ठग्ने, लुट्ने र यात्रु अलपत्र छाड्ने विगतदेखिका विकृति यसपटक घट्न सकेन । लामो दूरीका सार्वजनिक सवारीका साधनले ४२ वटा सिट क्षमता रहँदा ८२ वटासम्म टिकट बेचेर असहज तथा जोखिमपूर्ण यात्रा गराएका दृष्यले ट्राफिक व्यवस्थापन अस्तव्यस्त र मनलागी चलिरहेको प्रष्ट पारिरहेको थियो ।

सार्वजनिक यातायातका साधनबाट पीडित भएका यात्रुले उजुरी दिए कमाउने राम्रो अवसर बनाएका सुरक्षाकर्मी आफ्नो जिम्मेवारी नै बिर्संदै व्यवसायीको बचाउ र यात्रु वा टिकट बिक्री केन्द्रका कर्मचारीको दोष देखाएर भागिरहेको दृष्यले विशेष सुरक्षा रणनीति चंखे/चतुरे बर्दीधारीको निम्ति राम्रो आम्दानीको बाटो बनेको प्रष्ट हुन्छ ।

ट्राफिक प्रहरी कार्यालय झापामातहतमा पूर्वपश्चिम राजमार्ग सुरक्षाका लागि मात्र १६ वटा ट्राफिक पोष्ट परिचालन गरिएको छ । यी पोष्टमा प्रहरी सहायक निरीक्षक वा नायव निरीक्षकको नेतृत्वमा ३ देखि ५ जनासम्म ट्राफिक प्रहरी र सोही हाराहारीमा नेपाल प्रहरीका जनशक्ति परिचालिन भइरहेका हुन्छन् । यसरी परिचालित सुरक्षाकर्मीको जिम्मेवारी भनेकै सडक र यात्रु सुरक्षित बनाउनु हो ।

कुनै यात्रुलाई सार्वजनिक यातायातका साधनले ठगे, वा अप्ठ्यारो पारे स्थलगतरूपमै रहेका ट्राफिक प्रहरीले न्यायोचित यात्राको वातावरण बनाइदिने र ठगिमा संलग्न सवारीका साधनलाई कडा कारवाही गर्ने अधिकारसहित महत्वपूर्ण जिम्मेवारी पाएको भए पनि यस जिम्मेवारीमा प्रहरी प्रशासन पूर्ण रूपमा विमुख भएको दृष्य दशैभरीका यात्रुले दशैं अवधिभरी अनुभव गर्नु परेको थियो । यस्तो विकृत सडक यात्रा तिहारसम्म रहने संकेत दशैंले छोडिदिएको छ ।

यात्रु ठग्ने, झुक्याउने, अप्ठ्यारोमा पारेर छोड्ने सार्वजनिक यातायातका साधनहरू अधिकतम सजायका भागिदार बनाइनु पर्नेमा ट्राफिक प्रहरीले सामान्य कारवाही गरेर छोड्दै त्यस्ता सार्वजनिक सवारीका साधनबाट व्यक्तिगत फाइदा उठाउने काम भने झापामा राजमार्गका ट्राफिक पोष्टहरूमा रहेका नेतृत्वकर्ताले गरिहेका दृष्यले प्रष्ट पार्थे ।

टिकट बेच्न स्वीकृति दिने यातायात व्यवसायिक कम्पनीलाई कारवाही गर्नुपर्ने अवस्थालाई बंग्याएर टिकट काउन्टर, यात्रु वा कन्टेक्टरको दोष देखाएर कम्पनीका सञ्चालक बचाउने काममा प्रहरी प्रशासन अलमलिएका दृष्यले चार्डपर्व लक्षित राजमार्ग सुरक्षा कार्यक्रम असफल भएको प्रष्ट देखिन्थ्यो ।

यस्तै, झापामा मेला महोत्सवका नाममा हाउजी, बिङ्गो जस्ता जुवा जन्य व्यापार खुल्लमखुल्ला चलिरहेका देखिन्थे भने प्रहरी नै त्यस्ता स्थलमा रमिते भएर सुरक्षा दिइरहेका दृष्यले कानूनविपरीतका काम रोक्ने दायित्व कसले लिने भन्ने प्रश्न पनि उठिरहेका छन् । तास, जुवाका ठूला खालमा प्रहरी प्रशासन देखेकोनदेख्यै गर्ने तर सानातिना तासे-जुवाडेलाई समातेर सार्वजनिक गर्ने काम पनि प्रशस्तै देखिएको झापामा । ठूला होटल, व्यवसायिक प्रतिष्ठानमा दशैं शुरू हुनुभन्दा निकै अगाडिदेखि तिहारपछिसम्म लाखौं हार-जीत हुनेगरी व्यवसायिक रूपमा तास र जुवाजन्य खेल चलिरहेको भए पनि प्रहरी प्रशासनले देखेकोनदेख्यै गरिरहेको छ ।

यी सबै गतिविधिले चाडपर्व सुरक्षाका लागि प्रहरी प्रशासनले चलाइरहेको विशेष सुरक्षा कार्यक्रमलाई गिज्याइरहेको छ । मेला महोत्सवको स्वीकृतिका लागि सिफारिस दिने स्थानीय सरकारदेखि संघीय सरकारको प्रतिनिधित्व गर्ने जिल्ला प्रशासनसम्मका निकायका नेतृत्व कर्ता आफ्नै व्यक्तिगत स्वार्थका पछाडि दौडँदा चार्डपर्व सुरक्षा कार्यक्रम असफल बनाउने भूमिकामा उभिन पुगेको घटनाहरूले प्रमाणित गरिदिएका छन् ।