यतिबेला नायिका रेखा थापा अमेरिकाको सयरमा छिन् । करिब एक दर्जन विभिन्न कार्यक्रममा सहभागिता जनाउन अमेरिका पुगेकी रेखाको चर्चा भने नेपालमा भइरहेको छ । गत हप्ता मात्र मलेसियामा आयोजना गरिएको एक कार्यक्रममा आउँछु भनेर एडभान्ससहित लिएर पछि नगएर धोका दिएको चर्चाले पनि बजार गरम बनायो । यसको वास्तविकता के हो ? के रेखाले धोका नै दिएकी हुन् त ? यसबारे आइतबार राति अमेरिकामा रहेकी रेखासँग फेसबुकमा कुराकानी गरिएको छ ।
० कस्तो रहेछ त अमेरिका ?
– सोचेभन्दा पनि राम्रो । अमेरिका जाने इच्छा पूरा भएको छ ।
० उतै बस्ने त होइन ?
– अँ हँ बस्दिनँ ।
० बस्दा के हुन्छ र ?
– होइन बस्दिनँ । मेरो चलचित्र हमेसा रिलिज छ चैत ३० गते । म त लुक्न होइन घुम्न आएकी हुँ ।
० कत्तिको सम्मान पाइयो ?
– त्यसको बयान म शब्दमा व्यक्त गर्न सक्दिनँ । यहाँका नेपाली मित्रजन र कलाकार साथीहरूलाई भेटेर नेपालमा नै रहेको आभाष भयो ।
० रेखाले त मलेसियाको कार्यक्रमलाई धोका दिइन् भन्ने चर्चा छ नि ?
– मैले धोका दिएको होइन । र, त्यस्तो मनसाय पनि छैन मेरो । मैले पहिले नै अमेरिकाको र मलेसियाको कार्यक्रम जुध्न सक्छ, अहिले मेरोबारेमा फिक्स नगर्नुस् भनेकी थिएँ ।
० मलेसियामा त रेखा आउने भनेर प्रचारप्रसार पनि भइसकेको रहेछ नि त ?
– त्यो उहाँहरूको गल्ती हो । मेरो तस्बिर राखेर प्रचारप्रसार अहिले नै नगर्नु भनेर मैले भनेकी थिएँ । तर, उहाँहरूले गर्नुभएछ ।
० साइन अमाउन्ट किन लिएको त ?
– म लिन्न । पछि निश्चित भएपछि बरु सबै लिउँला भनेकी थिएँ । उहाँहरूले थोरै लिनुभयो भने पनि हामी ढुक्क हुन्छौँ भन्नुभयो । मलेसियामा रहनुभएका मेरा प्यारा नेपाली दर्शकलाई झुक्याएर पारिश्रमिक पचाउन म सक्छु होला त ?
० अब के हुन्छ त ?
– यो समयको धोका हो । उहाँहरूको ‘साइन अमाउन्ट’ फिर्ता गर्छु र पछि समय मिलेमा जान्छु भनेकी छु । यसलाई उहाँहरूले अन्यथा लिनुहुन्न भन्ने कुरामा म ढुक्क छु ।
महँगी नायिकाको सस्तो व्यापार
एउटी नायिकामाथि निर्माताले किन धेरै लगानी गर्छन् ? जवाफ सीधै छ उनको बजार हेरेर । पारिश्रमिक बढी लिने नायिकालाई सिनेमामा राख्दा उनको टाउको र नामका कारण पनि हलतिर दर्शकहरू ओइरिन्छन् भन्ने विश्वास बोकेर नै निर्माताहरू ती नायिकाले मागेजति पारिश्रमिक दिन तयार हुन्छन् । अन्तत: उनीमाथि गरिएको लगानीअनुरूप मुनाफा नआएपछि व्यापारिक शब्दमा भन्नुपर्दा त्यो त नायिकाको असफलता हो । आफूलाई महँगी नाायिका भन्ने अनि आफ्नो टाउकोका कारण सिनेमा चल्छ भनेर गफ दिने तर हलमा भने दर्शकहरू आउँदै नआउने एकजना नायिका निशा अधिकारीमाथि विश्वास गर्ने एउटा सिनेमा यतिबेला नराम्ररी पछारिन पुगेको छ ।
सिनेमाको नाम हो पद्मिनी । यो सिनेमाको शीर्षक भूमिकामा देखा परेकी छिन् यिनै असफल नायिका निशा अधिकारी । निर्माण समूहले त निशामाथि यति धेरै विश्वास गर्यो किन सिनेमाको सल्लाहकार पनि निशा नै भइन् ? उनकै सल्लाहमा हिँड्दा चलचित्र पद्मिनी लड्न पुगेको छ । जिन्दगीमा आफ्नो फोटोबाहेक सिङ्गल फोटो हेर्न नपाएकी निशाले पोस्टर पनि सिङ्गल नै पाइन् यो चलचित्रमा । तर कसैको जोर लागेन ।
चलचित्र पद्मिनीले नेपाली चलचित्रको दोस्रो ठूलो बजार मानिने पोखरामा गरेको व्यापार सुन्ने हो भने लाज लाग्नुपर्छ निशालाई । गत शुक्रबार दुई शोमा जम्माजम्मी मुस्किलले ६ हजार रुपैयाँ बजार गर्यो पोखराको विन्ध्यावासनी हलमा यो सिनेमाले । यसलाई सिनेमाकर्मीहरूले ऐतिहासिक बेइज्जत भनेका छन् । कुनै समय नेपाली मूलधारका सिनेमालाई गन्दै गन्दिनथिन् निशा । अनि त्यस्ता सिनेमाबाट अफर आएमा नाक खुम्च्याउँथिन् तर आज त्यही मूलधारको सिनेमाबाट बढी पारिश्रमिक लिन्छिन् उनी । घुमिफिरी रुम्जाटार भनेजस्तै मूलधारको सिनेमामा आफ्नो उपस्थिति जनाएकी निशा अब आफैँ यो धारबाट विस्थापित हुने स्थितिमा पुगेकी छिन् । सुनगाभा, पद्मिनी गरेर एकपछि अर्को असफल सिनेमामा देखापरेपछि सिनेकर्मीहरू ‘तीन लाख पारिश्रमिक दिएर निशालाई लिनुभन्दा पचास हजार दिएर नयाँ नै लिनु ठीक भन्न थालेका छन् । एउटा सिनेमाबाट तीन लाख लिने बानी परिसकेकी निशाले आगामी दिनमा कतिसम्ममा खेल्लिन् वा उनको यात्रा कस्तो होला ? त्यो भने हेर्न बाँकी नै छ ।
सारङ्गाले फेरि बिहेभोज खुवाउने
करिब तीन वर्षअगाडि नायिका सारङ्गा श्रेष्ठले अमेरिकी नागरिकसँग विवाह गरिन् । ती नागरिकलाई नेपालमा ल्याएर बिहेको भोज पनि खुवाइन् उनले चलचित्रकर्मीहरूलाई । अहिले ती अमेरिकी नागरिकसँग सम्बन्धविच्छेद भएपछि सारङ्गाले फेरि अमेरिकामा नै रहेका रमेश नामक नेपालीसँग दोस्रो विवाह गरेकी छिन् ।
सारङ्गाको पहिलो बिहेको भोज खाँदा मुख मिठ्याएका चलचित्रकर्मीले अब फेरि सारङ्गाको दोस्रो बिहेको भोज पनि खान पाउन भएका छन् । अनौपचारिक रूपमा अमेरिकामा विवाह गरे तापनि सारङ्गा औपचारिक रूपमा विवाह गर्न चाँडै आफ्ना नयाँ दुलाहाका साथ नेपाल आउने भएकी छिन् । केटा र केटी पक्ष दुवै मिलेर भव्य पार्टीका साथ विवाह हुने भएको छ चाँडै । मिति निश्चित नभए तापनि धार्मिक परम्पराअनुसार नै विवाह हुने कुरा भने निश्चित भएको छ ।
प्रतिक्रिया