- आरके श्रीवास्तव, रौतहट
मधेश प्रदेशमा वर्षौंदेखि जरा गाडेर बसेको दहेज (दाइजो) प्रथाविरुद्धको अभियानलाई प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरको सहभागिताले नयाँ चर्चा र ऊर्जा दिएको छ । शुक्रबार (५ असार) रौतहटको फतुवा विजयपुर नगरपालिका-४ टेंग्राहामा आयोजित एक दहेजमुक्त विवाह समारोहमा सहभागी हुन पुगेकी उपसभामुख ठाकुरले सामाजिक परिवर्तनको पक्षमा आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेकी छन् ।
युवा नेता रामाशंकर पासवानकी भतिजीको विवाह समारोहमा सहभागी हुन पुगेकी ठाकुरलाई फतुवा विजयपुरका नगरप्रमुख प्रत्यासी विजय यादव निर्विज लगायत स्थानीय जनप्रतिनिधि, राजनीतिक नेतृत्व तथा सर्वसाधारणले भव्य स्वागत गरेका थिए । मौलापुरदेखि टेंग्राहासम्म उनको उपस्थितिलाई स्थानीयवासीले केवल राजनीतिक भ्रमणका रूपमा मात्र नभइ सामाजिक सुधार अभियानप्रतिको ऐक्यबद्धताका रूपमा लिएका छन् ।
मधेश प्रदेशमा दहेज प्रथाले अझै पनि हजारौं परिवारलाई आर्थिक, सामाजिक र मानसिक रूपमा प्रभावित गरिरहेको छ । कानुनी प्रतिबन्ध हुँदाहुँदै पनि विवाहका नाममा हुने लेनदेन र सामाजिक दबाबका कारण यो कुप्रथा पूर्ण रूपमा अन्त्य हुन सकेको छैन । बरु कतिपय क्षेत्रमा यसको स्वरूप झन् जटिल बन्दै गएको सामाजिक अभियन्ताहरू बताउँछन् ।
यही पृष्ठभूमिमा दहेजमुक्त विवाहमा उपसभामुखजस्तो उच्च संवैधानिक पदमा रहेका व्यक्तिको सहभागितालाई अर्थपूर्ण सन्देशका रूपमा हेरिएको छ । सामाजिक कुरीतिविरुद्ध नेतृत्व तहबाट देखिएको यस्तो समर्थनले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन् ।
दहेजविरुद्ध लामो समयदेखि आवाज उठाउँदै आएकी ठाकुरले समाज परिवर्तनका लागि युवापुस्ताको भूमिका निर्णायक हुने बताउँदै आएकी छन् । उनका अनुसार दहेजमुक्त विवाहलाई सामाजिक प्रतिष्ठासँग जोड्न सकिए मात्र यो कुप्रथाको अन्त्य सम्भव हुनेछ ।
रौतहटमा सम्पन्न पछिल्लो विवाह समारोहले मधेशमा दहेजमुक्त अभियानलाई पुनः चर्चामा ल्याएको छ । सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म यसले स्थान पाउन थालेको छ। अब प्रश्न केवल एउटा विवाह समारोहको होइन, सम्पूर्ण समाजलाई दहेजमुक्त बनाउने अभियानलाई कसरी व्यापक जनआन्दोलनमा रूपान्तरण गर्ने भन्ने बनेको छ ।
उपसभामुख ठाकुरको रौतहट उपस्थितिले यही बहसलाई थप बल दिएको छ । सामाजिक सुधारका लागि राजनीतिक नेतृत्व, नागरिक समाज र युवापुस्ताले साझा प्रतिबद्धता देखाउन सके दहेजमुक्त समाज निर्माणको सपना साकार हुन सक्ने आशा बढेको छ ।
प्रतिक्रिया