जुडो टोली लेबनान प्रस्थान

जुडो टोली लेबनान प्रस्थान


बाह्रौं एसियाली क्याडेट तथा १९औं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा सहभागिता जनाउन दुईसदस्यीय नेपाली टोली लेबनान प्रस्थान गरेको छ । मे ९ देखि १३ तारिखसम्म लेबनानमा हुने उक्त च्याम्पियनसिपमा महिला महिला ४४ केजीमुनि सोनिया भट्टको सहभागिता रहेको छ । त्यस्तै सोनियाको प्रशिक्षकमा राजनकुमार श्रेष्ठ छन् ।

खेलाडी र प्रशिक्षक ओलम्पिक सोलिडारिटी कोर्सअन्तर्गत प्रतियोगितामा सहभागी हुन लागेको नेपाल जुडो संघले जनाएको छ । उनीहरुको सम्पूर्ण खर्च नेपाल ओलम्पिक कमिटीले व्यहोर्ने छ । टोलीलाई सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बिदाइ गरेका थिए ।

सोही प्रतियोगितामा सहभागी हुने ४ खेलाडीसहित ७ सदस्यीय अर्को जुडो टोली आज बैशाख २६ गते लेबनान् जाँदैछ । पुरुषको ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र ६० केजीमुनि रोशनबहादुर दोङले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ७८ केजीमुनि पुनम श्रेष्ठले प्रतिस्पर्धा गर्ने जुडो संघले जानकारी गराएको छ ।

प्रशिक्षकमा रोमानियाका डान टेलेकेका तथा व्यवस्थापकमा राजेश श्रेष्ठ रहेका छन् । नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य पनि मंगलबारै लेबनन् जाने कार्यक्रम छ । वज्राचार्य एसियाली जुडो महासंघ (जेयुए) का एजुकेसन तथा काता निर्देशक हुन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले विदाई गरे ।