बाह्रबिघामा विपत्ति !

बाह्रबिघामा विपत्ति !


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुरधाम भ्रमणका लागि बनाइएको स्वागतद्वार र अभिननन्दन स्थल गए रातिको हावाहुरी र वर्षाले प्रभावित बनाएको छ ।

हावाहुरीले विभिन्न स्थानमा बनाइएको स्वागतद्वारमा पनि क्षति पुऱ्याएको छ भने अभिनन्दन स्थल बाह्र बिघा मैदान जलमग्न भएको छ । जनकपुरधाम विमानस्थलदेखि जानकी मन्दिरसम्म बाटो पनि विभिन्न स्थानमा जलमग्न भएको राससले जनाएको छ । कालोपत्र गरिएका सडक र विद्यापति राममन्दिरसम्मको बाटोमासमेत ठाउँ–ठाउँमा पानी जमेको छ ।

जलेश्वर–जनकपुर बाटो अवरुद्ध
साथै, भीषण वर्षाका कारण महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । जिल्लाकै प्रमुख सडकखण्डका रुपमा रहेको जलेश्वर–जनकपुर सडकको फोर लेन सडक निर्माण सहितको स्तरोन्नतिको काम भइरहेका बेला गए राति २ देखि आज बिहान साढे ६ बजेसम्म भीषण पानी परेका कारण सो बाटो अवरुद्ध भएको हो । जनकपुरदेखि जलेश्वर र भिट्ठामोडसम्म पूरै बाटोभरि नै माटैमाटो रहेको बेला पानी परेपछि सवारी साधान फस्ने डरले आज बिहानैदेखि बाटो अवरुद्ध भएको हो । बाटोभरि पानीले गर्दा हिलैहिलो भएकाले कुनै पनि बस, जीपका साथै मोटरसाइकलसमेत चलेको छैन ।

गएराति भीषण पानी पर्दा लाखौँको क्षति भएको छ । तेज हावा, हुरीसँगै आएको असिना पानीले जिल्लाका दर्जनौँ घर, विद्यालयको छाना उडाएको, रूखबिरुवा र बिजुलीका पोलहरुसमेत ढलेको प्रहरीले जनाएको छ । तीव्र गतिमा आएको हुरी, बतास र असिना पानीले जिल्लाको सयौँ बिघा जग्गामा लगाएको तरकारी बाली र अन्य खेतीपातीमा पनि लाखौँको क्षति पुगेको प्रहरीले जनाएको छ । वर्षाकै कारण गए राति २ बजेदेखि नै जिल्लाका सम्पूर्ण गाउँठाउँको बिजुलीसमेत अवरुद्ध भए पनि कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ ।